मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ : सरोकारवाला

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ : सरोकारवाला


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै पक्षलाई समानरूपमा लागू हुने विषयमा यहाँ सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया गरिएको छ ।
राष्ट्रिय समाचार समितिको ६५औँ वार्षिकोत्सवका अवसरमा रासस भरतपुर कार्यालयले आज आयोजना गरेको ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तरक्रियामा सहभागीहरूले आचारसंहिता सबैलाई बराबर लागू हुने बताएका हुन् ।
कार्यक्रममा मुख्य जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले निर्वाचन आचारसंहिता पालना गर्न सबैको जिम्मेवारी आवश्यक रहेको बताए । आचारसंहिताबारे जानकारी गराउँदै उनले निर्वाचनमा सञ्चारमाध्यमको भूमिका, अपेक्षा र पालना गर्नुपर्ने आचरणबारे कार्यपत्र प्रस्तुत गरे ।
सञ्चारमाध्यमलाई पनि आचारसंहिता उत्तिकै लागू हुने उल्लेख गर्दै उनले समाचार लेख्दा कसैप्रति लक्षित नगरी सन्तुलित र तथ्यपरक रूपमा प्रस्तुत गर्नुपर्ने बताए । निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै उनले सूचना तथा विचार सङ्कलन, विश्लेषण र प्रसारणको प्रक्रिया सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा पत्रकारिताको भूमिका निष्पक्ष हुनुपर्ने बताउँदै उनले निर्वाचनकाबेला पनि सोहीअनुरूप भूमिका निर्वाह गर्न आग्रह गरे ।
सञ्चारमाध्यमले मतदाता शिक्षा, उम्मेदवार र राजनीतिक दलका एजेण्डा, घोषणापत्र तथा नीतिबारे जानकारी दिनुका साथै सार्वजनिक बहस, टेलिभिजन डिबेट, रेडियो कार्यक्रम र लेखमार्फत नीतिगत छलफललाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, “कुन कुरा ठीक हो र कुन ठीक होइन भन्ने विषयमा नीतिगत छलफल गर्ने मञ्च पनि सञ्चारमाध्यम नै हो । मुद्दामाथि केन्द्रित राजनीतिलाई प्रोत्साहन गर्न सूचना तथा सञ्चारको महत्त्वपूर्ण भूमिका रहन्छ । कुनै राजनीतिक दलका एजेण्डा कुन राम्रा हुन् र कुन नराम्रा भन्ने विषयलाई तथ्यका आधारमा सम्प्रेषण गर्दै निगरानीकर्ताको भूमिकामा ‘वाचडग’ का रूपमा पत्रकारहरूले काम गर्नुपर्छ ।”
निर्वाचनमा आचारसंहिता लागू भएका तथा उल्लङ्घन भएका घटनालाई सञ्चारमाध्यमले उजागर गर्नुपर्ने बताउँदै उनले त्यस्ता विषय सार्वजनिक गरिएमा सम्बन्धित पक्षलाई सचेत गराइने बताए ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न साना वा ठूला सबै दलहरूले आचारसंहितालाई महत्वका साथ पालना गर्नुपर्ने बताए । उम्मेदवारहरूले आचारसंहिता पालना गरे नगरेका विषयमा दुई चरणमा अनुगमन गरिएको जानकारी दिँदै उनले प्रचारप्रसार अवधिभर निगरानी गरिएको बताए ।
सञ्चारमाध्यम तथा पत्रकारहरूले पनि सबैले बुझ्ने गरी आचारसंहिताको पालनामा सहयोग गर्नुपर्ने उनको भनाइ थियो । आचारसंहिताले कसैलाई बाधा नपु¥याइ निष्पक्ष र मर्यादित वातावरण सिर्जना गरोस् भन्ने कामना व्यक्त गर्दै उनले पत्रकार तथा सञ्चारमाध्यम सरोकारवाला ‘स्टेकहोल्डर’ मात्र नभई प्रमुख ‘स्टिकहोल्डर’समेत भएको बताए । निर्वाचनका सन्दर्भमा सञ्चार क्षेत्रले जिम्मेवार र सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत  सहायक प्रमुख जिल्ला अधिकारी र चूडामणि शर्मा र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भीमार्जुन ज्ञवालीले दलहरूले गरेका आचारसंहिता उल्लङ्घनसम्बन्धी विषयमा जानकारी गराउँदै हालसम्म कुनै पनि दलविरुद्ध लिखित उजुरी नपरेको बताए । मौखिक रूपमा आएका गुनासाहरूलाई भने सम्बन्धित पक्षलाई सचेत गराइएको उनीहरुले जानकारी दिए ।
निर्वाचन खर्च व्यवस्थापनका लागि उम्मेदवारहरूले छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था रहेअनुसार हाल खाता खोल्नेक्रम बढ्दै गएको र उम्मेदवारहरूले गर्ने खर्च तथा प्रचारप्रसारका गतिविधिबारे निरन्तर निगरानी र सचेत गराउने काम भइरहेको उनीहरुले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । जिल्लामा १६२ मतदानस्थल र ४९४ मतदान केन्द्र छन् भने कारागारमा अस्थायी मतदान केन्द्र राखिएको छ । ती केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिए । निर्वाचनका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचन प्रहरी परिचालन गरिएको उनले बताए ।
रासस भरतपुर कार्यालयका प्रमुख नारायणप्रसाद अधिकारीले निर्वाचन नजिकिँदै गर्दा पत्रकारिता पनि निर्वाचन केन्द्रित बन्ने अवस्था रहेकाले सञ्चारमाध्यमले समाचार प्रकाशन तथा प्रसारण गर्दा पालना गर्नुपर्ने आचारसंहिताबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । उनले राससको भूमिकाबारे पनि सहभागीलाई अवगत गराए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्त पराजुली, प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्ष तिलकराम रिमाल, प्रदेश इन्चार्ज प्रतिमा सिलवाल, नेपाल प्रेस युनियन बागमती प्रदेश सचिव सरिता पौडेललगायतले आचारसंहितासम्बन्धी जिज्ञासा राखेका थिए ।
कार्यक्रममा जिल्लामा क्रियाशील ५० भन्दाबढी पत्रकार, निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्की तथा सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

शेयर गर्नुहोस:

54
Shares