काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ३४ उजुरी प्राप्त भएको र सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा २४ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
जिल्लास्तरमा उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरु क्रियाशील रहेको उनले बताए ।
जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
छोटो समयमै सबै जिल्लामा सरोकारवालाहरूलाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउने कार्य भइरहेको आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । उक्त बन्दसूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा तीन हजार १३५ उम्मेदवार कायम भएका छन् । जसमा एक हजार ७७२ महिला र एक हजार ३६३ पुरूष उम्मेदवार रहेको आयोगले जनाएको छ ।












प्रतिक्रिया