एटलान्टा (जर्जिया) । अमेरिकाको जर्जिया राज्यस्थित ग्विनेट काउन्टीमा आइतबार बिहान भएको गोलीकाण्डमा ड्युटीमा खटिएका नेपाली मूलका प्रहरी प्रदीप तामाङको मृत्यु भएको छ । सोही घटनामा अर्का एक प्रहरी गम्भीर घाइते भएका छन् ।
घटनाको विवरण ग्विनेट काउन्टी प्रहरी विभागका अनुसार आइतबार बिहान करिब साढे सात बजे ‘इस्ट पार्क प्लेस ब्लभर्ड’स्थित एउटा ठगी (फ्रड)सम्बन्धी उजुरीको छानबिनका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । सोही क्रममा ३५ वर्षीय संदिग्ध व्यक्ति केभिन एण्ड्र्यूजले प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
गोली लागेर २५ वर्षीय प्रहरी प्रदीप तामाङ र मास्टर पुलिस अफिसर डेभिड एम. रिड घाइते भएका थिए । जवाफी कारबाहीमा प्रहरीले चलाएको गोली लागेर संदिग्ध एण्ड्र्यूज पनि घाइते भएका छन् । सबैलाई तत्काल अस्पताल पुर्याइए पनि तामाङलाई बचाउन नसकिएको सन्चारमाध्यमहरुले प्रहरीलाई उधृत गर्दै जनाएका छन् ।
मृतक प्रदीप तामाङ सन् २०२४ जुलाईमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले मे २०२५ मा मात्रै १२१ औँ प्रहरी एकेडेमीबाट स्नातक पूरा गरी फिल्डमा काम सुरू गरेका थिए । सेवामा प्रवेश गरेको छोटो समयमै ज्यान गुमाउनुपरेको भन्दै विभागले गहिरो दुःख व्यक्त गरेको छ ।
अर्का घाइते अधिकारी डेभिड एम. रिड, जो सन् २०१५ देखि विभागमा कार्यरत छन्, उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।
आक्रमणकारी केभिन एण्ड्र्यूज हाल प्रहरी निगरानीमा अस्पतालमा उपचाररत छन् । अस्पतालबाट डिस्चार्ज हुनासाथ उनलाई ग्विनेट काउन्टी जेल चलान गरिने र हत्या प्रयास लगायतका विभिन्न मुद्दा चलाइने प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धानको जिम्मा ‘जर्जिया ब्युरो अफ इन्भेस्टिगेसन’लाई दिइएको छ ।
सहयोगको अपिल प्रहरी विभाग र ग्विनेट काउन्टी पुलिस फाउन्डेसनले मृतक तामाङको परिवार र घाइते अधिकारीको सहयोगका लागि आधिकारिक रूपमा आर्थिक संकलन सुरू गरेको छ।












प्रतिक्रिया