अमेरिकाको टेक्सस राज्यले तयार पारेको नयाँ संघीय निर्वाचन क्षेत्र नक्सा आगामी चुनावमा प्रयोग नहुने भएको छ। बुधबार संघीय अदालतका तीन न्यायाधीशहरूको संयुक्त प्यानलले उक्त नक्सा संवैधानिक अधिकार र मतदान अधिकार ऐनको उल्लङ्घन भएको ठहर गर्दै तत्काल रोक लगाउने निर्णय गरेको हो। अदालतका अनुसार, नयाँ नक्साले मतदातालाई जातीय आधारमा विभाजन गर्ने उद्देश्य राखेको देखिन्छ, जसले लोकतान्त्रिक प्रक्रिया कमजोर बनाउने खतरा उत्पन्न गर्दछ।
अदालतले जारी गरेको आदेशमा भनिएको छ कि नक्सा बनाउँदा केवल राजनीतिक दलको हित मात्र होइन, जनसंख्याभित्रका जातीय समूहहरूलाई विभाजन गरी उनीहरूको मत प्रभाव घटाउने प्रयास गरिएको छ। यस्तो कदमले अल्पसंख्यक समुदाय, विशेषगरी हिस्पानिक र अश्वेत मतदाताको प्रतिनिधित्व कमजोर पार्ने सम्भावना रहेको भन्दै अदालतले यसलाई अस्वीकार्य ठहर गरेको छ।
नयाँ नक्साले रिपब्लिकन पार्टीलाई काँग्रेसमा पाँचभन्दा बढी अतिरिक्त सिट दिलाउने अनुमान गरिएको थियो। यही कारण, नक्सा दलगत लाभका लागि तयार गरिएको आरोप पहिले नै उठिरहेको थियो। अदालतको निर्णयपछि टेक्ससको राजनीतिक समीकरण फेरिएको छ, र आगामी २०२६ को मध्यावधि चुनावमा यसको स्पष्ट प्रभाव पर्ने विश्लेषकहरूको भनाइ छ। वर्तमान अवस्थामा टेक्ससले पुरानो २०२१ को नक्सा प्रयोग गर्नुपर्ने सम्भावना बढेको छ।
अदालतको निर्णयलाई डेमोक्र्याट तथा नागरिक अधिकार अभियन्ताहरूले स्वागत गरेका छन्, भने राज्यका उच्च अधिकारीहरूले यसलाई “राजनीतिक हस्तक्षेप” भन्दै सर्वोच्च अदालतमा पुनर्विचार माग्ने तयारी गरेका छन्। टेक्ससका कानुनविद् र राजनीतिज्ञहरूले यस मुद्दालाई दीर्घकालीन कानुनी संघर्षको रूपमा हेरेका छन्। निर्वाचन नक्सा केवल भूभागको सीमांकन मात्र नभई समुदाय, जातीय समूह र अल्पसंख्यकहरूको आवाज कति प्रभावकारी रूपमा संसदमा पुग्छ भन्ने निर्णायक आधार हुने तर्क गरिएको छ।
यो फैसालाले अमेरिकामा आगामी चुनाव प्रक्रियामा प्राविधिक सुधार, कानुनी चुनौती र राजनीतिक रणनीतिहरू अझ प्रभावशाली रूपमा उभरिने संकेत दिएको छ।












प्रतिक्रिया