अमेरिकाको आन्तरिक राजस्व सेवाले २०२६ सालका लागि अवकाश–बचत योजनामा महत्वपूर्ण परिवर्तन घोषणा गरेको छ। नयाँ नियमअनुसार, अब कामदारहरूले आफ्नो ४०१(के) अवकाश–बचत योजनामा वर्षभरि जम्मा गर्न सक्ने रकम २४ हजार ५०० डलर पुगेको छ। बढ्दो महँगी, जीवनयापन खर्च र अवकाशपछि आर्थिक स्थिरता सुनिश्चित गर्न यो सीमा बढाइएको हो।
यससँगै, व्यक्तिगत अवकाश बचत खाता (आई.आर.ए.) को वार्षिक योगदान सीमा पनि बढेर ७ हजार ५०० डलर पुगेको छ। योगदान सीमा वृद्धि अमेरिकाभरका श्रमिक, व्यवसायी तथा स्वयंरोजगार व्यक्तिका लागि सकारात्मक संकेत मानिएको छ।
अर्थविशेषज्ञहरूको भनाइमा, अवकाश–बचत सीमा वृद्धि आजको महँगो अर्थतन्त्रमा अत्यन्तै आवश्यक थियो। नयाँ नियमले कामदारलाई आफ्नो तलबबाट थप बचत सुरक्षित रूपमा राख्न मद्दत गर्छ। ४०१(के) जस्ता योजनामा कमाईको केही भाग कर कटौती अघि नै बचत गरिने भएकाले कामदारहरूको वार्षिक करभार पनि घट्नेछ। यसका साथै, धेरै कम्पनीहरूले आफ्ना कर्मचारीको ४०१(के) मा थप रकम मिलाएर दिने व्यवस्था राखेका हुन्छन्, जसले कामदारको कुल बचत अझ बढाउँछ।
यो निर्णय अमेरिकामा बस्ने नेपाली समुदायका लागि पनि विशेष लाभदायी छ। धेरै नेपालीहरू यहाँ स्थायी रोजगारी, पढाइ, व्यवसाय तथा दीर्घकालीन बसोबासको योजनासहित बसेका छन्। अवकाश–बचत सीमा वृद्धि भएपछि उनीहरूले अझ बढी रकम भविष्य सुरक्षित गर्न सक्नेछन्। कर–पूर्व बचत बढेपछि वार्षिक करभार पनि कम हुने भएकाले मध्यम आम्दानी भएका नेपाली परिवारका लागि यो राहतको खबर हो।
स्वयंरोजगार नेपाली जस्तै ट्रक चालक, रेस्टुरेन्ट तथा व्यवसाय चलाउने, निर्माण व्यवसायमा संलग्न, घरेलु सेवा तथा अन्य उद्यमका मालिकका लागि पनि यो परिवर्तन अत्यन्तै उपयोगी छ। उनीहरूले अवकाश–बचत योजनामा ठूलो रकम राख्न सक्ने भएका कारण दीर्घकालीन आर्थिक स्थिरता सुनिश्चित गर्न सजिलो हुनेछ। जो नेपालीहरू अमेरिकामा केही वर्ष बसिसकेर अन्त्यमा नेपाल फर्किन चाहन्छन्, उनीहरूका लागि यहाँको अवकाश–बचत जीवनभरका लागि ठूलो आधार बन्न सक्छ।












प्रतिक्रिया