काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद र विवादस्पद भएको भन्दै तत्काल राजीनामा मागेका छन् ।
जेनजी आन्दोलनमा युवाहरुको बलिदानीको जगमा बनेको सरकारले अहिलेसम्म युवाहरुलाई छाती र टाउकोमा ताकी–ताकी गोली हान्ने हत्याराहरु, भ्रष्टाचारी र षड्यन्त्रकारीलाई पक्राउ गर्न नसकेको भन्दै साहले गृहमन्त्री अर्यालको राजीनामा मागेका हुन् । गृहमन्त्री अर्यालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका हत्याराहरुलाई पक्राउ गरी कानुनी कारबाहीमा ल्याउनको लागि कुनै पहलकदमी नलिएको साहको आक्रोश छ ।
पर्साको पर्सागढीमा दिपावली, छठ पर्वको अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘भदौ २३ गते युवाहरुमाथि नरसंहार गरियो, ती युवाको छाती र टाउकोमा ताकी ताकी गोली हानिएको छ, अहिलेसम्म हत्याराहरुलाई पक्राउ गर्न नसक्ने यो सरकारको अब काम छैन, गृहमन्त्री नै लुरे परे ।’
कुनैबेला एमालेको झोले कार्यकर्ता भएकै कारण अहिलेका गृहमन्त्रीले केपी ओलीजस्ता राक्षसी प्रवृत्ति भएको र युवाहरुको हत्या गर्नेलाई अहिलेसम्म कानुनी कारबाही गर्न नसकेको उनको आरोप छ । अध्यक्ष साहले भने,‘यो सरकार बनेको आज यतिका दिन बितिसक्यो, तर युवाहरुको हत्यारालाई कारबाही गर्न सकेको छैन्, उल्टै हत्याराहरुको बलमा प्रहरी प्रशासनले आन्दोलनकारी युवाहरुमाथि छानी छानी जाहेरी दर्ता गरिएको छ, बालेन साह र सुदन गुरूङविरुद्धको एमालेका युवाहरुले दिएको जाहेरी किन दर्ता गरियो ? यो सरकारको गतिविधि आफैँमा शंकास्पद छ ।’
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालहरुले जेनजी पुस्ताको भावनामाथि गम्भीर खेलवाड गरेको साहको आरोप छ । जेनजी युवाका हत्यारा, भ्रष्टाचारी र षड्यन्त्रकारीहरुलाई सरकारले एउटै तराजुमा राखेर कारबाही नगरी मुद्दा मुतलबीमा राख्नु दुर्भाग्यपूर्ण भएको साहले बताए ।
जेनजीहरुको आन्दोलन नै अहिलेको सरकारमा भएकाहरुले सुनियोजित तवरले अपहरण गरेको भन्दै अब यिनीहरुलाई कुर्सीमा बस्ने नैतिकतासमेत नभएको उनको दाबी छ । अहिलेको सरकार युवाहरुको हत्यामा प्रत्यक्ष संलग्न भएकाहरुको सेवामा खटिएको भन्दै युवाहरुको हत्यारालाई कारबाही नगरे जनता आफैँले अब कारबाही थाल्ने पनि उनले चेतावनी दिए ।
उनले यो सरकारको हुति र नैतिक बल नदेखेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनदिनै दुत्कार्ने काम गरेको र बेला बेलामा टाउको उठाउन खोजेको आरोप लगाए । कारबाहीको दायरामा आउनुपर्नेहरुले नै यो सरकारलाई टेर्दिनँ र चुनावमा पनि भाग लिन्नँ भनेर दिनदिनै चुनौती दिनुले पनि यो सरकार कति शक्तिशाली छ भनेर प्रष्ट हुने उनको टिप्पणी छ ।
आम नेपाली जनता चुनावको व्यग्र प्रतीक्षामा रहेको भन्दै चुनावसँगसँगै युवाहरुको हत्यारालाई पनि तत्काल कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने पक्षमा रहेको भन्दै सरकारलाई खुट्टा नकमाउन साहको सुझाव छ ।
अध्यक्ष साहले भने, ‘यो सरकार चुनावी सरकार हो, तर यसो भन्दैमा चुनाव गर्नुमात्रै यसको उद्देश्य कदापि होइन, मुलुकमा सरकार भएको आभाष दिनको लागि पनि दिनको उज्यालोमा खुलेआम ओली सरकारले युवाहरुको हत्या गरेको छ, उनीहरुलाई कारबाही गर्नु यो सरकारको प्रथम दायित्व हो ।’
अहिलेको सरकारले युवाहरुको हत्यारालाई कारबाही नगरे जनताले आफ्नै बलमा हत्याराहरुलाई घरबाट थुतेर जनकारबाही गर्ने पनि उनको चेतावनी छ ।
पर्साबाट नेताहरू विगतमा मन्त्री भए पनि जिल्लाको विकासमा काम नगर्दा आमनागरिकले दुःख व्यहोर्नु परेको यथार्थ विषय उल्लेख गरे । वीरगन्जलाई आर्थिक राजधानी बनाउनुपर्ने, नारायणी हस्पिटललाई मेडिकल कलेज बनाउनुपर्ने, ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्व विद्यालय बनाउनुपर्ने, नारायणी रंगशालालाई विश्वस्तरीय बनाउनुपर्ने भए पनि ती मन्त्रीले ध्यान नदिँदा आजपाले गरेको आन्दोलनसमेत उनले स्मरण गरेका छन् ।












प्रतिक्रिया