मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

सरकार निजी क्षेत्रको मनोबल बढाउन प्रयत्नशील छ : अर्थमन्त्री

सरकार निजी क्षेत्रको मनोबल बढाउन प्रयत्नशील छ : अर्थमन्त्री


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालसँग सोमबार भएको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखेका हुन् ।

सरकारले पुनर्निर्माणका लागि राजस्व छूट, बैंकिङ सहुलियत र बिमामा सहजीकरणका कार्यक्रम सार्वजनिक गरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले सन्दर्भ मूल्य खारेज गरी भन्सारमा ‘अनलाइन डेटाबेस’ प्रणाली लागू गरिएपछि बजारमा पारदर्शी कारोबारले प्रश्रय पाउने बताए ।

यही असोज ९ गते अर्थमन्त्री खनालले उद्घाटन गरेको उक्त प्रणालीले हरेक छ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यस विधिमा जाँचपास भएका सबै वस्तुको मूल्य विवरण सङ्ग्रह गरिने जनाइएको छ । उक्त प्रणाली भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल स्रोत हो, जसले कारोबार मूल्य पहिचान गर्न सहयोग गर्छ ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूले सरकारको उक्त कदमको प्रशंसा गरेका छन् । निजी क्षेत्रको मागबमोजिम जडित नयाँ ‘डेटाबेस’ प्रक्रियाको उपयोग गर्न तीनै संस्थाले सदस्य एवं उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् ।

त्यस अवसरमा उनीहरूले ‘जेनजी’ प्रदर्शनका क्रममा निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानमाथि भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नमाथि कारबाहीको माग गरे । दोषीमाथि छानबिन भई कारबाही नहुने हो भने निजी क्षेत्र थप निरुत्साहित हुने हुँदा तत्काल कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग थियो ।

निजी क्षेत्र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने कार्यमा निरन्तर क्रियाशील रहने बताउँदै उनीहरूले सरकारले पनि उद्यमी व्यवसायीले निर्वाधरूपमा काम गर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

सरकारले निजी क्षेत्रका माग सम्भव भएसम्म तत्काल सम्बोधन गरिरहेको हुँदा निजी क्षेत्रले पनि इमान्दारितापूर्वक व्यावसायिक आचारसंहिताअनुरुप व्यवसाय गर्न अध्यक्षहरूले उद्यमी व्यवसायीलाई आग्रह गर्ने बताएका थिए । “वर्तमान सरकारको मुख्य लक्ष्य निर्वाचन भए पनि सुधारको जग बसाल्ने अवसर पनि हो । लगानी र अन्य स्रोत आकर्षित गर्न निजी क्षेत्रको अगुवाइ वा संलग्नतामा बहुपक्षीय वित्त सम्मेलन आयोजना गरी सबै सरोकारवालालाई आश्वस्त पार्नुपर्ने आवश्यकता छ”, उनीहरूले भनेका थिए ।

निर्वाचनले नै खुला बजार र लोकतान्त्रिक व्यवस्था बलियो हुने हुँदा समयमै निर्वाचन गर्न सहयोग र सहकार्य गर्न निजी क्षेत्र तयार रहेको पनि उनीहरूले प्रतिबद्धता व्यक्त गरे ।

शेयर गर्नुहोस:

81
Shares