मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पार्टी सभापति देउवालगायत नेतामाथि भएको भौतिक आक्रमणको निन्दा

पार्टी सभापति देउवालगायत नेतामाथि भएको भौतिक आक्रमणको निन्दा


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा तथा भर्त्सना गरेको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रेस विज्ञप्ति जारी गरी नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद् घटना भएको उल्लेख गर्दै दुःख व्यक्त गरेका छन् ।

“धेरै युवा र केही सुरक्षाकर्मिहरूले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैका लागि अत्यन्त दुखदायी छ, मृतकहरूमा श्रद्धाञ्जली अर्पण गर्दछु,” विज्ञप्तिमा उल्लेख छ । घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै उनले विरोध प्रदर्शन क्रममा भएको धनजनको ठूलो क्षतिप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।

कांग्रेसले लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध अन्य दलहरूसँग तत्काल संवाद गर्न आवश्यक रहेको जनाएको छ । शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाईमा हुने संवाद र पहलमा कांग्रेसले सक्रिय पहल गर्न आवश्यक रहेको जनाएको छ ।

मङ्गलबार देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गर्दै पार्टीले देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो नचाहेका जनाएको छ ।

“कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । म लगायत धेरैको घर, निजी सम्पति, उद्योग व्यवसाय, सञ्चारगृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद् र निन्दनीय छ,” उनले उल्लेख गरेका छन् ।

यसले लगानीको वातावरणलाई पनि बिगारेको र क्षतिपूर्ति गर्न वर्षौं र ठूलो लगानी लाग्ने कांग्रेसको भनाइ छ । देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको उल्लेख गर्दै प्रवक्ता डा. महतले राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी रहेको उल्लेख गरेका छन् ।

कानुनी शासनको विकल्प र लोकतन्त्रको विकल्प नभएको उल्लेख गर्दै उनले यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य रहेको जनाएका छन् । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि सबै फेरि सक्रिय हुन आवश्यक रहेको उल्लेख गर्दै उनले कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै द्विविधा नरहेको स्पष्ट पारेका छन् ।

शेयर गर्नुहोस:

324
Shares