अर्लिङ्टन, टेक्सास – अमेरिकाको टेक्सस राज्यको ड्यालस-फोर्टवर्थ मेट्रोप्लेक्सको अर्लिङ्टन सिटीमा बस्दै आएको सरोज लामिछानेले आत्महत्या गरेका छन् ।
अन्दाजी ३० वर्षका लमिछानेले आत्महत्या गरेको जानकारी शनिबार दिउँसोमात्र प्राप्त भएको हो । २०१९ मा युनिभर्सिटी अफ टेक्सास एट अर्लिङ्टन (UTA) बाट स्नातक गरेका सरोज दुई महिनादेखि बेरोजगार थिए । माइक्रोसफ्टमा सफ्टवेयर इन्जिनियरको रूपमा कार्यरत उनी लेअफमा परेका थिए ।
हालै अर्लिङ्टनको भेरिडियन कम्युनिटीमा घर किनेर बस्दै आएका उनले केही समयअघि आफ्नो घर बिक्रीमा राखेका थिए।
काठमाडौं टोखा घर भएका सरोज अन्तर्मुखी स्वभावका थिए र साथीभाइहरूसँग खासै बोल्दैनथे। तर, उनी सहयोगी मनका थिए भन्ने उनका नजिकका साथी निश्चल अधिकारीले बताएका छन्। उनले भने, “उनी साँच्चिकै राम्रो मान्छे थिए, अरुलाई आवश्यकता पर्दा सधैं मद्दत गर्थे।”
केही दिनदेखि सम्पर्क नहुँदा साथीहरू उनको घर पुगेर ढोका खोलेर भित्र छिर्दा सरोज झुण्डिएको अवस्थामा फेला परे। त्यसपछि प्रहरीलाई खबर गरिएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।
यस घटनाले अमेरिकास्थित नेपाली समुदाय स्तब्ध भएको छ। नेपाली समुदायमा यस्ता घटना बढ्दै गएपछि मानसिक स्वास्थको क्षेत्रमा गंभीरतापूर्वक लिएर अघि बढ्नुपर्ने देखिएको नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले जोड़ दिएका छन् ।












प्रतिक्रिया