मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
विचार / ब्लग    

धीतमा पोखिएका धीतहरु

धीतमा पोखिएका धीतहरु

- शिव रेग्मी प्रणत


शेयर गर्नुहोस:

729
Shares

  • change font
  • change font
  • change font

कविता, गीत, कथा, गजल, मुक्तक जस्ता विविध विधामा कलम चलाउँदै आउने गजलकार बिटु केसीको “धीत” पहिलो गजलसंग्रह हो। फुटकर रूपमा गजल लेख्दै आउने केसीको यस अघि “मायाको मात” नामक एक मुक्तकसंग्रह प्रकाशित छ।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी बिटु केसी प्रवासमा रहँदा पनि आफूलाई लेखन र सिर्जन कार्यमा सक्रिय राखेको प्रमाण प्रशस्त छ्न्। नेपाल मुक्तक प्रतिष्ठानको आजीवन सदस्य, नेपाल अन्तर्राष्ट्रिय साहित्य समाज ह्युस्टनको पूर्व सल्लाहकार, नेपाल अमेरिका पत्रकार संघको पूर्व कोषाध्यक्ष , स्रष्टा साँझ अमेरिकाको सदस्य, हिमालयखबर डटकममा लेखन तथा सम्पादन सहयोगीको रुपमा खेलेको भूमिकाले गजलकार बिटु केसीको लेखन क्षेत्र पत्रकारितामा समेत विस्तार भएको देखिन्छ। युटुब मार्फत “आधा मन” नामक गीति एल्बम समेत प्रकाशन रहेको केसी स्नातकोत्तर गरेकी एक उम्दा लेखकको रुपमा रहेको देखिन्छ। विशालनगर काठमाडौंमा जन्मिएकी केसी पारिवारिक रूपमा पत्रकार तारा बरालसँग जीवनसाथीको रुपमा सामाजिक जीवनको सहकार्यमा देखिन्छिन्।

“धीत” गजलकार बिटु केसीको २०८२ सालमा प्रकाशित एक अब्बल गजलकृति हो। यसलाई साहित्यपोस्टको शब्द मिडिया प्रालिले प्रकाशन गरेको छ । यस कृतिभित्रका गजलहरुलाई एक पाठकका नजरबाट मैले पर्गेल्ने प्रयास गरेको छु। यहाँ व्यक्त विचार र दृष्टिकोणहरु लेखकसँग नमिल्न सक्छन् । मेरो लेखाइमा पूर्णतया मेरो स्वामित्व छ। एउटा पाठकको नजरले जे देखेको छ त्यो नै यस आलेखको सीमा र क्षेत्र हो।

विश्लेषण :
गजलकार केसीले “धीत” मार्फत आफ्नो जीवन वरपर रहेका अनेकौं विषयसँग अनुभूतिलाई पगालेर पस्केकी छिन् । गजलप्रति उच्च लगाव भएकोले गजलमा आफ्नो अनुभूती विलय भएको स्विकारोक्ती गरेकी छिन्। गजल आफ्नो उनको लागि प्यास, नशा, आस्था, प्रेम र पूजा रहेको बताएकी छिन्। भावनाको बहावले ओतप्रोत भएका यस संग्रहका गजललाई निम्न दृष्टिकोणबाट पनि पर्गेल्न सकिन्छ।

प्रेम :
धित गजलसंग्रह भित्र माया प्रेम प्रेरित गजलहरुको बाहुल्यता छ। देश, जीवन, समाज, प्रकृति र सृष्टिप्रेम बोकेको गजलहरु प्रशस्त छ्न्। तर यस शीर्षक अन्तर्गत सृष्टिप्रेम अर्थात प्रेमी र प्रेमिकाबीच हुने प्रेम सन्दर्भका गजलहरुको मात्र चर्चा गरिन्छ । यस प्रेम सैन्दर्य अन्तर्गत संयोग श्रृङ्गार र विप्रलम्भ श्रृङ्गारले ओतप्रोत भएका पच्चीसवटा गजलहरु छ्न्। जसमा प्रेमी प्रेमिका बीचको मिलन प्रेम प्रसङ्ग, स्पर्श, सन्तुष्टि, त्याग, विरह, व्यथा, असन्तुष्टि जस्ता प्रसङ्गहरु छ्न् । अनेकौं आयामहरु छन् । एक अर्कामा विश्वास, समर्पण र एक अर्काको अस्तित्व स्वीकार गरिएका प्रेमील सौन्दर्यहरु छ्न् । त्यसैगरी विरहको, पीडाका आलापहरु र घुर्कीहरु छन्। प्रेमलाई महान अस्तित्वको स्वीकार यसरी गरिएको छ।

प्रेम तपस्या हो महाअडान चाहिन्छ
त्यसै कहाँ मन पर्छ बरदान चाहिन्छ ( १९)

तिमी छौ त्यसैले यो संसार खास लाग्छ
बाँचिरहुँ जिन्दगीको अझै आश लाग्छ ( ५२)

त्यसैगरी वियोगान्त प्रेमका विरह यसरी पोखिएको छ।

सँगै चिया पिउने चौतारी यही हो
छुटेपछिको प्रेमकहानी मन पर्यो (३१)

दोषी यी दुई नजर हुन् बचाएर राखे
फुत्किएर आँसु फेरि कतै हात लाग्ला (७३)

माटो / देश
कतै कुनै सन्दर्भमा देशप्रति कसैले नराम्रो बोल्दा वा बिचार गर्दा अगाध प्रेमभाव जागरित हुन्छ। माटोमा बहने जीवनको सौन्दर्य हृदयमा आएर गाडिन्छ । जड, भौतिक बस्तु पनि आफ्नो जन्मसँग जोडिएर आउँदा त्यो नशा नशामा रगत भएर बग्छ । त्यही भावनात्मक सम्बन्ध र एकता नै माटोप्रतिको माया हो । यस कृतिभित्र उक्त चरित्रका एघार वटा गजलहरु रहेका छ्न् । श्रम गरेर देशको मुहार फेर्ने जमर्को, बाँझो जमिनहरुमा पसिना बगाएर हराभरा बनाउने चाहना, हिमाल, पहाड र तराइलाई एकअर्कासँग गाँसेर विकास रोप्ने भावना यस संग्रहमा छन्।

हेर्दैछु हरेक जोगीको भेष हेर्दैछु
धमीरा लाग्यो भन्थे देश हेर्दैछु (१६)

आमाको साख त्यो चुरिफुरी किन्नु छ
अति भो दाइ, एउटा खुकुरी किन्नु छ

छोड्ने लर्को छ, फर्कने पागल म
फुर्सदले देशको वनपाखा हेर्नुछ ( ३७ )

समाज :
एउटा लेखकले आफ्नो समाजलाई राम्रोसँग चिनेर विचार व्यक्त गर्यो भने उसको विचार अब्बल बन्न सक्छ । धीत गजलसंग्रहमा पनि समाजलाई राम्ररी पर्गेल्ने बीसवटा गजल छन् । कतै समाजका राम्रा पक्षहरु, अभावहरु, विवशताहरु, विद्रुप चित्रहरु र कतै समाज परिवर्तनका स्वप्निल विचारहरु आएका छन् । समाजमा देखिने अनेकन विकृतिहरुले लेखकको मनमा ठूलो आघात पुर्याएको छ । त्यस्ता विकृतिहरुलाई अन्त्य गर्न धीतका गजलहरुले आव्हान गरेका छन्, अनुरोध गरेका छन् । केही विचारहरुलाई हेरौं।

कतै पिपल त कतै वर हरायो
हेर्दाहेर्दै गाउँबाट घर हरायो ( १८ )

आफू सक्किएरै उसले छोरा सफल बनायो
छोराको पालो आयो बालाई पागल बनायो ( ४८ )

भ्रष्टीक्रण / राजनीतिक विकृती :

सत्ता बिक्दैछ हेर भाउ लागेको छ
कतै उत्सव त कतै घाउ लागेको छ (२१)

मै ठूलो देशको अहँ धरम लागेन
तीन करोड नेपालीको शरम लागेन (३५)

जब पाखा देशभक्त भए अरु काखा
देश अब अत्यास लाग्दो जेल भएको छ ( ४३)

भ्रष्ट र राजनीतिक विकृती माथी चोटीलो विचार व्यङ्ग्य गरेको माथीको केही प्रतिनिधि सेरहरु हुन् । यस चरित्र अन्तर्गतका गजलहरु बाह्रवटा छन्।

जीवन दर्शन :
सबैको आआफ्ना जीवन दर्शन, चिन्तन, विचार र दृष्टिकोणहरु हुन्छन् । प्राय जीवन दर्शन सकारात्मक कोणको हुन्छ र हुनुपर्छ पनि । अनुभूति, भोगाइ परिस्थिति आदि कुराको बोधपछि मान्छेले आफ्नो जीवन दर्शन तय गर्छ । समय, परिस्थिति, समाज, युगीन चेतना आदि कुराले आत्मबोध गराउँछ । आफैले आफैलाई पर्गेल्न थाल्छ र आफ्नो मानसपटलमा एउटा बिज रोपण गर्छ , त्यो बिज नै उसले व्यक्त गर्ने जीवन दर्शनको प्राथमिक रुप हो । कृति भित्र पनि लेखकले थाहा पाएर, नपाएर चिन्तन प्रवाह गरेको पन्ध्रवटा गजलमा स्थूलरूपमा जीवन दर्शन देखा परेको छ।

टिपेर दिन्थें रौँ हजुरआमालाई
ऎनामा आफ्नै फूलेको केश हेर्दैछु ( १६)

ढुङ्गा कसरी देउता बन्दो रहेछ
आस्थाका पूजा थालीमा हेरें (१७ )

डायस्पोरा :
देश परिवेशको परिवर्तन,पारिवारिक वियोग, साथीभाइ आफन्तबाट अलग गराउने परिस्थिति र मनोदशामा यस धीत संग्रह भित्र चौधवटा गजलहरु छन्।

सबै भन्दा पवित्र पानीको कसम
मैले साँचेको जवानीको कसम (२२ )

धाउनेहरु धाउन मठ, मन्दिर र गुम्बा
यो छातीभित्र एउटै नेपाल धाम छ । ( ७१)

यसका अतिरिक्त गजलहरुमा मानसिक अन्तर्द्वन्द्व, पीडा, खुशी, खोज र जिज्ञासा जस्ता मनोभावलाई प्रस्तुत गरिएको छ। सूक्ष्म ढंगले आफूभित्रका ससाना दुखहरुलाई प्रस्तुत गरेर सन्तुष्टि खोजेको आभास पाइन्छ। ससाना खुशीका झिल्काहरुलाई विशाल प्रकाशमय आयाममा रुपान्तरण गरेको आशय पाइन्छ। आफूभित्रको शक्तिलाई परिचालन गर्ने तत्व, एक सञ्जीवनी बुटीका रूपमा लेखकले गजललाई मानेको आभास हुन्छ।

निष्कर्ष :
धीत गजलसंग्रह आयामको हिसाबले मझौला आयामको कृति हो । यसभित्रका ८२ वटा गजलहरु मुक्त, स्वतन्त्र र लयबद्द छ्न्। नेपाली भाका वा जनजीवनमा चलिआएका कतिपय लयहरुलाई आफ्नो मौलिक पहिचान बनाएका छ्न् गजलले। केही १०/११ धेरै १४/१५ संरचनाका गजलहरु छ्न् । एक दुइ गजल केही लामा पनि छन् । प्राय पाँच शेरका छ्न् भने केही गजल छ शेरका पनि छ्न्। प्रत्येक गजललाई सुन्दर, आकर्षक र प्रभावकारी चित्रले संपुट गरेका छन्।

केही चित्र गजलको केन्द्रभन्दा बाहिर पनि देखिएका छ्न् । कलापूर्ण चित्रकारिताले गजलको ओजलाई थप बढाएका छ्न् । जम्मा ९६ पेजमा समेटिएको यस कृतिका लागि सरुभक्त श्रेष्ठ, प्रकाश सायमी र ज्ञानुवाकर पौडेलले शुभकामना लेख्नु भएको छ । गजलकार आफैले आफ्नो धन्यवाद सहितको भनाइ पनि राखेकी छिन् । मातापितामा समर्पित यश कृतिको आवरण राज सिटौला र चित्रहरु र पुस्तक प्रकाशन साहित्यपोस्टको शब्द मिडिया प्रालिले गरेको हो।

गजलकार बिटु केसी द्वारा लिखित धीत गजलसँग्रह समसामयिक विषयवस्तुले संपुट भएको एक अब्बल कृति हो । यसमा लेखकले आफ्ना अनुभूतिलाइ घोलेर समावेश गरेकी छिन् । शालीन प्रस्तुतिका साथ विषयवस्तुलाई पस्केका गजलहरुले राष्ट्र , राष्ट्रियता, देश प्रेम, जीवन प्रेम, समाज, युगीन चेतना, राजनीतिक भ्रष्टिकरण, जीवन दर्शन, द्वन्द आदि जस्ता अनेकौं विषयवस्तुलाई पस्केका छन् । विभिन्न विधामा कलम चलाउने केसीको कलम गजलमा परिष्कृत भएर उभिएको छ । संयमीत र प्रभावकारी विचारको प्रस्तुतिले गजलकारलाई एक उम्दा लेखकका रूपमा उभ्याएको छ ।

लेखनमा गजकारको मौलिकपनले मुग्ध पार्छ । मुक्त स्वतन्त्र लयमा विचारलाई लयवद्द गर्न सफल गजलकारले प्रेमका बहुआयामलाई संयोग र विप्रलम्भ श्रृङगारको माध्यमबाट उचाइमा पुर्याउने प्रयत्न गरेकी छिन् । आप्रवासनको पीडालाई नेपाली भएर अनुभूत गरेकी छिन् । देश र माटोको लागि आफ्नो त्याग र समर्पण दिएकी छिन् । आफूले भोगेको समाज र परिवेशलाई अन्तर्तहसम्म नियालेर प्रस्तुति दिने गजलकारले नेपाली राजनीतिको भ्रष्टिकृत चरित्रको पर्दाफास पनि गरेकी छिन् । अनेकन मनोद्वन्दहरु भए पनि उज्यालो पाटोलाई आफ्नो जीवन दर्शन बनाएकी बिटु केसी नेपाली गजल क्षेत्रमा एक उज्यालो नक्षत्रका रूपमा उभिन सक्षम बनेकी छिन् भन्दा अत्युक्ति नहोला । केही वर्णविन्यासगत त्रुटिहरु बाँकी रहेपनी आगामी लेखनमा त्यो समाधान हुने नै छ । नेपाली साहित्यमा गजलको धीत मार्ने एक सफल कृति थप्न सफल भएकोमा गजलकार बिटु केसीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी लेखनको लागि पनि हार्दिक शुभकामना।

दमक झापा ।

शेयर गर्नुहोस:

729
Shares