कोलोराडो, अमेरिका । हिन्दु महिलाहरुको महान् चाड तीज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरुले वरिष्ठ अभिनेत्री बसुन्धरा भुसालको सहभागितामा सामूहिकरूपमा तिजको दरखाएका छन् ।
प्रवासमा रहेका महिला दिदीबहिनीहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदीबहिनी एकै ठाउँमा जम्मा भई सुखदुःख साटासाट गर्दै माइतीको झल्को मेटाउन सिष्टर्स ग्रुप दिदीबहिनी समूह कोलोराडोले आयोजना गरेको सामूहिक दरखाने कार्यक्रममा बसुन्धरा भुसालको सहभागिता रहेको हो ।
कोलोराडोस्थित वेष्टमिनिष्टर सिटीमा आइतबार साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन भएको तिजको दरखाने कार्यक्रममा संघसंस्थाका प्रतिनिधि बुद्धीजीवी, गन्यमान्य, समाजसेवी, व्यवसायी तथा नेपाली भाषी बुबाआमा, दिदीबहिनी, दाजुभाइहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरूमा सिष्टर्स ग्रुप दिदीबहिनी समूहका अध्यक्ष धन पौडेलले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । उनले सयौ दिदीबिहनीहरूको माझ आजैको मितिदेखि संस्थाको उपाध्यक्ष शान्ति भुसाललाई अध्यक्षको कार्यभार हस्तान्तरण गरिएको घोषणा गरेकी थिइन् ।
कार्यक्रममा नेपाली कलाकारिताको क्षेत्रमा ६ दशकभन्दा बढी निरन्तर सक्रिय रहेकी वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाललाई कोलोराडोका सम्पूर्ण दिदीबहिनीहरूको तर्फबाट सिष्टरग्रुपका पदाधिकारीहरूले ढाकाको पछ्यौरा ओढाइ फूलका गुच्छा सौभाग्यको सामग्री प्रदान गरी सम्मान गरेका थिए ।
यसैगरी माइतीका तर्फबाट कोलोराडो नेपालीभाषी समुदायका अभिभावक नारायण श्रेष्ठ र उनका धर्मपत्नी सृजना श्रेष्ठले हिन्दु महिलाहरुको महान् चाड तिजको उपलक्ष्यमा सबैलाई शुभकामना दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेत्री भुसालले प्रवासमा रहेर पनि हाम्रो भाषा संस्कृति जोगाइ राख्न जम्मा भएका यति धेरै दिदीबहिनीबीच उपस्थित हुन पाउँदा ज्यादै खुसी लागेको भन्दै सबैलाई तिजको शुभकामना दिएकी थिइन् । उनले हाम्रो देश नेपालको पहिचान भनेको नै हाम्रो विविध भाषा र संस्कृति रहेकाले यसलाई जोगाएमात्र हाम्रो पहिचान रहने भएकोले यसलाइ जोगाइ राख्न सबैलाइ अग्रह गरिन् ।
दरखाने कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न राफल चिट्टासमेत व्यवस्था गरिएको थियो । जसमा राफल चिट्टा प्राप्त गर्ने दिदीबहिनीहरूलाई साडी, श्रृंगारका सामग्री तथा नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोगी संघसंस्था तथा दाताहरुको नाम पढेर सुनाइएको थियो ।
सिष्टर्स ग्रुप सन् २०१७ देखि कोलाराडोका दिदीबहिनीहरु संगठित भएर विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमका लागि आवश्यकताअनुसार आर्थिक सहयोग संकलन र हस्तान्तरण तथा महिला हकहितजस्ता सामाजिक कार्यका लागि निरन्तर अग्रसर हुँदै आएको संस्था हो ।
यसरी कार्यक्रममा उपस्थित दिदीबहिनीहरुले तिजका गीत गाउँदै, नाचगान गर्दै आफैँले बनाएको सेलरोटी, दही लगायतका स्वादिष्ट भोजनहरु खाँदै एकआपसमा शुभकामना साटासाट गरी तिज मनाएका थिए ।













प्रतिक्रिया