मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको न्वारन

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको न्वारन


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

सौराहा (चितवन) । चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा ‘तमोरकली’ नामक हात्तीले जन्माएको छावाको नाम ‘रामप्रितगज’ राखिएको छ ।

खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा आइतबार भएको न्वारनमा छावाको नाम ‘रामप्रितगज’ राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले चितवन निकुञ्जको संरक्षणमा स्थापनाकालदेखि नै योगदान दिएका रामप्रितको सम्मानमा रामप्रितगज नामाकरण गरिएको बताए ।

“विभिन्न संरक्षणकर्मीको सम्मानमा हात्तीको छावा नामकरण गर्दै आइहेका छौँ, यसपटक चितवन निकुञ्जको संरक्षणमा सुरूदेखि नै योगदान दिएका संरक्षणकर्मीको सम्मानमा नामाकरण गरेका हौँ”, उनले भने ।

चितवन निकुञ्ज स्थापनाकालमा यादव रेञ्जर पदमा रहेर संरक्षणमा खटिएका थिए । उनले निकुञ्जको प्रमुख संरक्षण अधिकृतसमेत भएर काम गरिसकेका छन् । यादव हाल अवकाश भइसके पनि संरक्षणको क्षेत्रमा सक्रिय छन् ।

उनकै उपस्थितिमा हात्तीको नामकरण गरिएको हो । सो क्रममा यादवले भने, “मैले सुरूदेखि यो निकुञ्जको संरक्षणमा सक्रिय हुन पाएँ, मैले के–कति गर्नसकेँ भन्ने अरुले मूल्याङ्कन गर्नुहुनेछ, मेरो सम्मानमा हात्तीको नामकरण हुँदा गर्व महसुस भएको छ ।”

‘रामप्रितगज’ तमोरकली हात्तीको तेस्रो सन्तान हो । रामप्रितगजको जन्म यही साउन ७ गते भएको हो । यसलाई ‘रोनाल्डो’ नामक हात्तीको सन्तान मानिएको छ ।

यहाँ जन्मिने भाले छावाको नामको पछाडि ‘गज’ र पोथी हात्तीको नामको पछाडि ‘कली’ राख्ने प्रचलन छ । चालु आर्थिक वर्ष २०८२/८३ मा जन्मिएको यो पहिलो छावा हो । गत आव २०८१/८२ मा पाँच वटा छावाको जन्म भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिए ।

हाल यस प्रजनन केन्द्रमा नौ वटा ठूला हात्ती, छ वटा तालिम प्राप्त हात्ती र सात वटा तालिम नगरेका गरी २२ वटा हात्ती छन् । प्रजनन केन्द्र र निकुञ्जभित्रका विभिन्न पोस्टमा गरी हाल ५८ वटा हात्ती छन् ।

विसं २०४४ मा स्थापना भएको प्रजनन केन्द्र तथा तालिम केन्द्रमा २०५० सालदेखि बच्चा जन्मिन सुरु भएको हो । हालसम्म यस केन्द्रमा ६९ वटा बच्चा जन्मिएका छन् । जसमध्ये छ वटा हात्ती विभिन्न कारणले मरिसकेका छन् ।

शेयर गर्नुहोस:

216
Shares