ड्यालस (अमेरिका) । विद्युत प्राधिकरणका पूर्ब कार्यकारी निर्देशक कुलमान घिसिङ्गले अबको यात्रा राजनीति हुने संकेत गरेका छन् ।
उनले शुक्रबार अमेरिकाको टेक्सस राज्यको ड्यालसमा आयोजित एक कार्यक्रममा देश पुरै उज्यालो बनाउनका लागि राजनीतिमा प्रवेश गर्न लागेको बताए । ‘बिजुलीबाट देश उज्यालो बनाएँ, अब सबै सेक्टरमा उज्यालो ल्याउन आफू प्रतिवद्ध भएर लागेको छु’ उनले भने ।
उनले बत्तिको उज्यालोले मात्र देश उज्यालो नहुने भएकोले देशको सबै क्षेत्र उज्यालो बनाउन आफू सकृय भएर विदेशका नेपालीहरुबीच पुगिरहेको समेत बताए ।
नेपाल विद्युत प्राधिकरणमा ३० वर्ष सेवा गरेको प्रसङ्ग जोड्दै उनले आफूलाई वदनीयतपूर्ण रुपमा सरकारले हटाएको दावी गरे । ‘मलाई सरकारले कार्यसम्पादनमा शून्य अंक दिएर बर्खास्त गरेकोमा कुनै गुनासो छैन । संसारभरिका नेपालीहरुले दिनुभएको सम्माननै मेरो परफरमेन्सको सूचकाङ्क हो’ उनले भने ।
रामेछापमा जन्मिएका घिसिङ्गले कुन पार्टी, कुन जिल्लाबाट राजनीतिमा प्रवेश गर्ने केही खुलाएनन् । यद्यपी उनले बारम्बार चिलिमे जलविद्युत आयोजना, रसुवाली जनतालाई शेयर दिएको र धनी बनाएको कुरा दोहोर्याएका कारण रसुवाबाट राजनीति गर्न खोजेकोका रुपमा धेरैले अर्थ्याएका थिए ।
त्यस क्रममा उनले मन्तव्यका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति सहानुभूतिको संकेत गर्दै केही गर्छु भनेर राजनीतिमा आएकाहरुलाई जेल हालिएको र युवाहरुलाई निरुत्साहित पारेको बताएका थिए ।
राजनीतिक पार्टी र नेताहरुप्रति स्पष्ट रुपमा असन्तुष्ट देखिएका घिसिङ्गले राजनीतिक परिवर्तन धेरै पटक भएपनि विकासको नेतृत्व कोही कसैले दिन नसकेको उल्लेख गर्दै त्यसको लागि आफू तयार रहेको संकेत गरे । उज्यालो नेपाल जनतालाई विकासको डेलिभरी दिने तर्फ केन्द्रित रहेको उनले दावी गरे ।
राजनीतिक दलका नेताहरुले जस्तै घिसिङ्गले पनि आफू ठाउँमा पुगेमा दोहोरो नागरिकता दिने आश्वासन भने दिइछाडे । हरेक राजनीतिक दलका नेताहरु अमेरिका आएर भाषण गर्ने क्रममा दोहोरो नागरिकता आवश्यकता रहेको आश्वासन दिने गरेका छन् ।
हालै मध्यपूर्बका केही देशहरुको भ्रमण गरेर त्यहाँ कार्यरत नेपालीहरुको सुझाव लिएको उल्लेख गर्दै उनले यसपटक अमेरिका र अब युरोप भ्रमण गरेर प्रवासी नेपालीहरुको राय लिने योजना सार्वजनिक गरेका थिए ।
त्यस अवसरमा युएनएका संस्थापक अध्यक्ष पासाङ्ग लामा, वर्तमान अध्यक्ष भक्त भण्डारी र निवर्तमान अध्यक्ष बिएन पन्त लगायतले प्रवासी नेपालीरुको चाहना शान्त र समुन्नत नेपाल रहेको उल्लेख गर्दै ‘मिसन ८४’ लाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा पूर्ब कार्यकारी निर्देशक घिसिङ्गसँग अन्तरकृया, जिज्ञासा राख्नका लागि भनेर ठूलो संख्यामा सहभागीहरु प्रतिक्षारत थिए । तर कार्यक्रमका सञ्चालकले पडकाष्ट शैलीमा चलाउन एक प्रस्तोतालाई जिम्मा दिएपछि सहभागीहरु आफ्ना चासो, जिज्ञासा राख्न नपाएकोमा खिन्न भएर फर्किएका थिए । घिसिङ्गले सर्वसाधारणको कुनै प्रश्न लिने र सुन्ने अवसरनै पाएनन् ।












प्रतिक्रिया