काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।
मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदसहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री निवास बालुुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् । यही असार २४ गते गोसाइँकुण्ड गाउँपालिका-२ मा आकस्मिक बाढीका कारण नेपाल-चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकै दिन प्रधानमन्त्री ओलीले सो क्षेत्रको स्थलगत भ्रमण गरी वैकल्पिक मार्ग र नाका पूर्ण सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीले आफूूले बेनीघाट-कोराला बाटो निर्माण सुरु गरेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाथको भ्रमण गराएको, मुक्तिनाथ केबलकार सञ्चालनका लागि प्रक्रिया अघि बढाएकोे, स्याउको सुपर जोन निर्माण र च्याङ्ग्रापालन आदि काममा प्राथमिकता दिएको पनि स्मरण गराए ।
प्रधानमन्त्री ओलीसँग प्रतिनिधिमण्डलले मुस्ताङको माथिल्लो भेगका लोमान्थाङ र लो–घेकार दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरी प्रतिविदेशी पर्यटक ५०० अमेरिकी डलर शुल्क उठाउँदा पर्यटकहरूमा कमी आएकाले पर्यटन रोयल्टीबारे पुनःविचार गर्न माग गरेको थियो ।
साथै कालीगण्डकी करिडोरको कागबेनी-कोरला सडकखण्डमा कालोपत्र गर्न र आवश्यक संरचना निर्माण गरी कोराला नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गरिएको थियो । कोराला नाकामा भन्सार, अध्यागमन, एकीकृत सुरक्षा पोष्ट, सुक्खा बन्दरगाहलगायत व्यापारिक प्रतिष्ठानका भौतिक निर्माण आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराइएको छ । सडक र नाका पूर्ण सञ्चालन नहुँदा तथा निषेधित क्षेत्रको कार्यान्वयनका कारण माथिल्लो मुस्ताङका होटल तथा स्थानीय व्यवसायी घाटामा रहन बाध्य भएको जनप्रतिनिधिको गुनासो थियो ।
प्रधानमन्त्री ओलीले ती मागहरूको सुनुुवाइका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निजी सचिवालयलाई निर्देशन दिए । केही दिनअघि प्रधानन्त्रीका निजीसचिव विनोदबहादुर कुँवरसहितको टोलीले कालीण्डकी करिडोरको स्थलगत अध्ययन भ्रमण गरी सडक र नाका सञ्चालनका लागि गर्नुपर्ने पहलका विषयमा प्रतिवेदन तयार गरेको थियो ।
प्रतिनिधिमण्डलमा सङ्घीय सांसद योगेन्द्र गौचन थकाली, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासीन्हर्वुु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायत सहभागी थिए । कागबेनी–कोरला सडकखण्ड ९७ किलोमिटर कालोपत्रका लागि ठेक्का हुन बाँकी रहेको छभने तातोपानी खोला, दानाखोला, पाण्डाखोला, तान्ग्बे खोलामा पुल निर्माणमा ठेक्का तोडिएकाले पुनः सुरु गर्नुपर्ने देखिएको छ ।












प्रतिक्रिया