काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रेस स्वतन्त्रता मानवअधिकारको रक्षक भएको बताएका छन् ।
शनिबार नेपाल पत्रकार महासंघले काठमाडौँमा आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा’ वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकारको नीतिगत र पेसागत सुरक्षालाई सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले भने, “प्रेस स्वतन्त्रता मानव अधिकारको रक्षक हो । पत्रकारको सुरक्षाका लागि कार्यविधि निर्माण गर्न सरोकार भएकासँग छलफल भइरहेको छ । पत्रकारको सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले बेलाबेलामा सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।”
अध्यक्ष मगरले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा घटेको घटनामा मारिएका पत्रकार सुरेश रजक र शिक्षक आन्दोलनमा परी घाइते भएका महिला पत्रकार सविना कार्कीका विषयमा आयोगले मानव अधिकारका दृष्टिकोणबाट अनुसन्धान गरिरहेको जानकारी दिए ।
उनले भने, “सशस्त्र द्वन्द्वको बेला समेत नभएका घटना अहिले घटेका छन्, ती दुःखद हुन् । ती घटनाका बारेमा आयोगले थालेको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको छ । निष्पक्ष अनुसन्धानसहितको प्रतिवेदन हामी यथाशीघ्र सार्वजनिक गर्दैछौँ ।”
विगतका वर्षभन्दा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष मगरले प्रेस स्वतन्त्रता हननका घटना बढ्नु भएकाले पत्रकारको सुरक्षाका लागि कार्यविधि अनिवार्य बनेको आवश्यकता औँल्याए । प्रेस स्वतन्त्रता हननका घटना घटाउन र पत्रकारको सुरक्षा गर्नतर्फ लाग्न सबैमा आग्रह गरे ।
अध्यक्ष मगरले भने, “प्रेस स्वतन्त्रता हननका घटना कम गर्दै लैजानु सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक छ । पत्रकारलाई स्वतन्त्र रूपमा सामग्री सङ्कलन र सम्प्रेषण गर्न दिनुपर्छ ।”











प्रतिक्रिया