काठमाडौँ । सगरमाथा संवाद सफल बनाउन सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
प्रेस काउन्सिल नेपालले आयोजना गरेको जलवायु परिवर्तन, सगरमाथा संवाद र मिडियाको भूमिका विषयक संवादका वक्ताहरूले सगरमाथा संवादलाई सफल बनाउन नेपाली मिडियाहरूले प्रथामिकताका साथ समाचार सम्प्रेषण गर्ने र सर्वसाधरणलाई सुसूचित गराउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तनको बहसलाई आम जनतासम्म पुर्याउने, नीति निर्मातामाथि दबाब सिर्जना गर्ने र नेपालजस्ता हिमाली मुलुकमा जलवायु परिवर्तनले पुर्याएको असरमा विश्व समुदायको ध्यानाकर्षण गर्न मिडियाको भूमिका महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ ।
मिडियाले जलवायु सङ्कटको असरबारे स्पष्ट र वैज्ञानिक रूपमा जानकारी दिन संवादको तयारीदेखि कार्यान्वयनसम्मका चरणमा रिपोर्टिङ गरेर आम नागरिकमा जलवायु न्याय र दिगो भविष्यप्रति चेतना जगाउन मिडियाको महत्त्वपूर्ण भूमिका रहेको सरोकारवालाले बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले सगरमाथा संवादलाई सफल बनाउन, सूचनालााई सरल भाषमा सर्वसाधारणसम्म पुर्याउनका लागि र मिडियाले सवाल उठाउने, बहस गराउने र निष्कर्ष सार्वजनिक गर्न महत्त्वपूर्ण भूमिका रहेको बताए ।
“जलवायु परिवर्र्तनका कारण खानेपानीका मुहान सुक्दै गइरहेको छ । हिमालका हिउँ पग्लँदै गइरहेका छन् । कृषि क्षेत्रमा असर पुगको छ । जलवायुजन्य विपद्का घटना बढिरहेको छ,” उनले भने, “सगरमाथा संंवादमा स्थानीय तहमा पुगेको जलवायुजन्य यस्ता समस्या मिडायमार्फत बाहिर ल्याउनुपर्छ । सबै मिडिया एकजुट भएर सगरमाथा संवादका सूचना प्रवाह गरोस् ।”
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाको माध्यमबाट स्थानीय बासिन्दा—विशेषतः जलवायु सङ्कटबाट प्रत्यक्ष प्रभावित आदिवासी, महिला र युवाको आवाज सङ्कलन गरी अन्तरराष्ट्रिय ‘प्लेटफर्म’मा पुर्याउने काम मिडियाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिए ।
“सगरमाथाका विषयमा मिडियाको विषयवस्तु कस्तो हुनुपर्छ ? अहिलेको मुख्य चुनौती केके छन् ? सगरमाथा संवादलाई कसरी सफल बनाउने भनेर विश्वको ध्यान आकर्षण गराउने गरी मिडियाले सहयोग गर्नुपर्छ,” उनले भने, “सगरमाथा संवादमा सहभागी राष्ट्र, सङ्घसंस्था र सरकारबीच भएका छलफल तथा प्रतिबद्धता पारदर्शी बनाउन मिडियाले तथ्यमा आधारित रिपोर्टिङ र अनुसन्धानात्मक पत्रकारिता गर्नुपर्छ ।”
सगरमाथा संवादमा मिडियाको भूमिका प्रभावकारी बनाउन स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मिडियालाई सही उपयोग गर्नुपर्नेमा सञ्चारकर्मीको जोड रहेको छ । सञ्चारकर्मी कमलदेव भट्टराई, रमेश भुसाल र श्रीराम सुुवेदीले मिडियाको भूमिकाबारे प्रस्तुतिकरण गरे ।











प्रतिक्रिया