कास्की । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई कृषि उत्पादनमा जोड्दै अर्थतन्त्रलाई सबल बनाउनुपर्ने बताएका छन् ।
कृषि विकास बैंक कर्मचारी सङ्घ नेपालको १०औँ केन्द्रीय परिषद्को पोखरामा उद्घाटन गर्दै उनले युवा विदेश पलायनबाट रोक्न कृषिलाई केन्द्रबिन्दुमा राखेरसँग कृषिको व्यवसायीकरण गर्न बैंकले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । महासचिव पोखरेलले पराम्परागत कृषि पद्धतिलाई परिवर्तन गरी वैज्ञानिक कृषि प्रणाली अवलम्बन गर्न जरूरी रहेको भन्दै बैंकले पनि आफ्नो प्राथमिकता बुझ्न आवश्यक रहेको बताए ।
कृषि विकास बैंकले पछिल्लो समय आफूलाई सुधार गर्दै लगेकामा प्रशंसा गर्दै उनले बचतकर्ताको संरक्षण गर्ने दायित्व नबिर्सन आग्रह गरे । “ऋणीहरू इमानदार नहुँदा बैंक तथा वित्तीय संस्था सङ्कटमा पर्नु हो । ऋणीलाई स्रोत र प्रविधि हस्तान्तरण गर्दै उनीहरूसँग नजिक रहनुपर्छ । ऋण प्रवाह गर्दा काज र मनोविज्ञान पनि बुझ्न आवश्यक छ”, उनले भने ।
महासचिव पोखरेलले पछिल्लो समय लोकतन्त्रमाथि प्रहार गर्न केही मानिसहरू मक्किएका राजालाई बोकेर हिडेको आरोप लगाए । “लोकतन्त्रको विकल्प छैन । कतिपयले विसं २०४६ को परिवर्तनपछि के भयो भनेर टिप्पणी गर्छन् तर त्यसअघि देशको अवस्था कस्तो थियो भनेर हेरौँ । शिक्षा, स्वास्थ्य, सडक, सञ्चार तथा प्रविधि, पुल निर्माणले लोकतन्त्र स्थापनापछि नै तीव्रता पाएको हो”, उनले भने ।
एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जनताको जीवनस्तर माथि उकास्न बैंकले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा बैंकले उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । एमाले नेता एवं पूर्वमन्त्री किरण गुरूङले राजतन्त्र गणतन्त्रको विकल्प हुन नसक्ने बताए ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङले पछिल्लो समय बैंक मुनाफा गर्नेतर्फ अगाडि बढेको र खराब कर्जा घटाउने अभियानमा आफूहरू लागेको बताए । उनले ८२ हजार किसानलाई रु ६७ अर्ब लगानी गरेको जानकारी दिए ।












प्रतिक्रिया