मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सैनिक मञ्च टुँडिखेलमा बुधबार सेना दिवस मनाइँदै

सैनिक मञ्च टुँडिखेलमा बुधबार सेना दिवस मनाइँदै


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।

Advertisement

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । राष्ट्रपति पौडेल नागरिकको आस्था र भरोसाको केन्द्रका रूपमा रहेको नेपाली सेनाको परमाधिपति हुन् ।

राष्ट्रको संस्कृति र परम्पराका रुपमा रहेको महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए। ऐतिहासिककालदेखि नै सेना राष्ट्रिय मूल्य, मान्यता, परम्परा र संस्कृतिबाट अभिप्रेरित रहँदै आएको संस्था रहेको उनले बताए ।

त्यस अवसरमा नेपाली सेनासहित भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाद्वारा साङ्गीतिक प्रस्तुति हुनेछ । स्थापना दिवस मनाउने सिलसिलामा पृतना समन्वयात्मक बैठक, प्रधानसेनापति खुल्ला म्याराथन, युनिटी जर्नल प्रकाशन र तस्बिर प्रदर्शनीसमेत भइसकेको छ ।

सेना दिवसका अवसरमा आयोजित पृतना समन्वय बैठकलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिकापनमा जोड दिए । उनले भने, ‘सेनाको व्यावसायिकता अभिवृद्धि गरी देश र जनताको सेनाप्रतिको अपेक्षा पूरा गर्न सकलदर्जाले जिम्मेवार भई काम गर्नुपर्छ।’

सेना दिवसकै अवसरमा विभिन्न देशका राष्ट्रिय सेवा दलसँग सम्बन्धित विदेशी छात्रछात्राबाट विभिन्न भेटघाट र नेपालबारे अध्ययन भ्रमण भइरहेको छ । सेना दिवस मूल समारोहमा भाग लिन भारतका केही पूर्वसेना यहाँ आउँदै छन् । उनीहरु नेपाली सेनाका मानार्थ महारथी समेत हुन् ।

सेनाको इतिहास र अन्तरराष्ट्रिय छवि

संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षाका लागि महत्वपूर्ण कार्य जिम्मेवारी सुम्पेको छ । सेना देश र जनताप्रतिको त्यो जिम्मेवारी तथा कर्तव्यलाई पूरा गर्न इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गरी आएको छ ।

सेनाको वर्तमान साङ्गठनिकस्वरूप १८१९ सालदेखि सुरू भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको सेनाले आफूलाई नागरिकका बीचमा विश्वासिलो सङ्गठनका रूपमा उभ्याएको छ ।

सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको थियो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, ‘चेन अफ कमान्ड’ र राजनीति निरपेक्ष चरित्र तथा एकताको भावना उच्च संस्कार मानिन्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशी चरित्रको सैनिक सङ्गठनमा चार जात, छत्तिस वर्णको फूलबारी जस्तै छ । पछिल्लो समय सेनामा महिला सहभागिता पनि उल्लेखनीय रूपमा छ ।

विश्वशान्तिमा नेपाली सेना

विश्व संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति कार्यमा नेपाली सेनाले अतुलनीय योगदान अन्तर्राष्ट्रिय क्षेत्रबाटसमेत मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । सन् १९५८ देखि शान्ति सेनाको जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनाले हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५४ हजार ३४० जनाले विश्वशान्तिमा योगदान पुर्‍याइसकेका छन् ।

त्यस क्रममा ७३ सैनिकले जीवन बलिदान र ६८ सैनिक घाइते भएका छन् । हाल ११ शान्ति मिसनमा ६४२ महिलासहित पाँच हजार ९१३ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल पहिलो स्थानमा छ ।

सेनाले सङ्घीय, प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वयन गरी पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक महत्त्वका गढी, किल्ला, दरबार, पदमार्ग, सङ्ग्रहालयको संरक्षण तथा मर्मतसम्भार गर्दै आएको छ ।

सेनाले संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई थप सुदृढ तुल्याउन कोसिश गरिरहेको छ ।

सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । सेनाको व्यवस्थापनमा हालसम्म ३२ सडक आयोजना सम्पन्न भइसकेको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको सर्वाधिक प्राथमिकतामा रहेको काठमाडौँ–तराई मधेस द्रूतमार्गको काम भइरहेको छ ।

शेयर गर्नुहोस:

81
Shares