अस्टिन, टेक्सास – महाशिवरात्रि तथा हट्टो सिटि ‘टेम्पल डे’ को अवसरमा ग्रेटर अस्टिन नेपाली सोसाइटीले भव्य पूजाआजा, महाआरती, तथा धार्मिक अनुष्ठानहरूको आयोजना गर्ने तयारी पूरा गरेको छ। हट्टो सिटी काउन्सिलले गत वर्षदेखि महाशिवरात्रिका दिनलाई “टेम्पल डे” को रूपमा आधिकारिक रूपमा घोषणा गरेको छ, जसलाई नेपाली समुदायले गर्वका साथ मनाउने तयारी गरेका छन्।

ग्यान्सका मन्दिर सञ्चालक समिति संयोजक डा. कमल अधिकारीका अनुसार सोमबारबाट सुरु भएको यस धार्मिक उत्सव अन्तर्गत फेब्रुअरी २६, बुधबारका दिन महाशिवरात्रि विशेष पूजा हुनेछ। बिहानैदेखि शिवलिंग अभिषेक, दुग्धाभिषेक, फल तथा गंगाजल अर्पण, र वैदिक मन्त्रोच्चारण सहितको विशेष पूजा विधिवत रूपमा सम्पन्न गरिनेछ। भक्तजनहरूले बिहानदेखि रातिसम्म दर्शन, पूजा, तथा विभिन्न धार्मिक अनुष्ठानहरूमा सहभागी हुन सक्नेछन्।

सोमबार र मंगलबार साँझ ५:०० बजे महारुद्राभिषेक गरिनेछ। यस पूजामा शिव पुराणमा वर्णित विधिअनुसार महादेवको विशेष आराधना गरिन्छ। महाशिवरात्रिका दिन, बुधबार विशेष पूजाका साथै दिनभर भजन, स्तुति गान, र राति भव्य महाआरती गरिनेछ। सो अवसरमा विशेष शिव ताण्डव स्तोत्र पाठ, भक्तजनहरूको सामूहिक शिवभजन, र महाप्रसाद वितरणको व्यवस्था गरिएको छ।
महाशिवरात्रि तथा टेम्पल डे लाई अझ भव्य बनाउन ग्यान्सले भक्तजनहरूको सुविधाका लागि Adam Orgain Park (1001 Co Rd 137, Hutto, TX 78634) बाट प्रत्येक १० मिनेटमा निःशुल्क शटल सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ।
ग्रेटर अस्टिन नेपाली सोसाइटीले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महाशिवरात्रि तथा टेम्पल डे को यस ऐतिहासिक अवसरमा उपस्थित भई पूजामा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।













प्रतिक्रिया