अमेरिका – अमेरिकामा २०२४ मा पुराना घरहरूको बिक्री लगभग तीन दशक यताकै न्यून स्तरमा पुगेको छ। अत्यधिक घरको मूल्य र उच्च ब्याजदरले खरिदकर्ताहरूलाई समस्या परेको छ।
नेसनल एसोसिएसन अफ रियल्टर्सका अनुसार, २०२४ मा ४० लाख घर बिक्री भए, जुन १९९५ यताकै कम हो। यो २०२३ को कमजोर बिक्री स्तरभन्दा पनि केही तल हो। ब्याजदरको कुरा गर्दा, ३० वर्षे स्थिर व्याज दर २०२४ मा ७ दशमलव २२ प्रतिशत थियो । जसले गर्दा घरका खरिदकर्ताहरुले धेरै सोच्नुपर्ने अवस्था आयो।
व्याजदर यो केही समयका लागि घटेर ६ प्रतिशतमा आएको थियो । तर पछिल्ला हप्ताहरूमा पुनः बढेर ७ प्रतिशत नाघेको छ। फ्रेडी म्याकका अनुसार,अहिले यो ६ दशमलव ९६ प्रतिशतमा झरेको छ।
पहिले बनेका घरहरूको मध्यवर्ती मूल्य पनि १८ महिनासम्म लगातार बढ्दै गयो। २०२४ मा यसको कीर्तिमानी स्तर $४०७,५०० पुगेको छ। डिसेम्बरमा यो $४०४,४०० थियो।
तर, २०२४ को अन्त्यतिर केही सुधार देखिएको छ। डिसेम्बरमा घर बिक्री २ प्रतिशतले बढेर वार्षिक रूपमा ४० लाख २४ हजार पुगेको छ, जुन फेब्रुअरी २०२४ यताकै बढी दर हो।
एनएआरका प्रमुख अर्थशास्त्री लरेन्स युनले भने, “वर्षको अन्त्यतिर घर बिक्रीले सुधार देखाएको छ। उपभोक्ताहरूले घरस्वामित्वको दीर्घकालीन फाइदा बुझेका छन्। रोजगारी र तलब वृद्धिका साथै घरहरूको उपलब्धतामा सुधारले बजारमा सकारात्मक प्रभाव पारेको छ।”












प्रतिक्रिया