मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली इन्जिनियरहरुको संस्थामा नयाँ नेतृत्व

नेपाली इन्जिनियरहरुको संस्थामा नयाँ नेतृत्व

हिमालय खबर

शेयर गर्नुहोस:

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको ह्युस्टन च्याप्टरले हालै नयाँ नेतृत्व चुनेको छ। ह्युस्टनस्थित काठमाण्डौं व्याङ्किटमा हालै सम्पन्न ‘इन्जिनियर्स गाला नाइट’मा सर्वसम्मत रुपमा चुनिएको कार्यसमतिको घोषणा गरिएको हो। सोसाइटी पूर्व केन्द्रीय अध्यक्ष डा. राजेन्द्र श्रेष्ठले नव निर्वाचित कार्यसमितिको नामवाली घोषणा गरेका थिए।

घोषित नयाँ कार्यसमितिको अध्यक्षमा साहस श्रेष्ठ निर्वाचित भएकाछन् भने उपाध्यक्षमा अर्जुन सुवेदी, सचिवमा पलिशा स्थापित र कोषाध्यक्षमा अब्दुल अन्सारी चयन भएकाछन्। यसैगरी सदस्यहरुमा अमर गुप्ता, अमित पोखरेल, अनिमेश प्रधान, अविनाश गौतम, मनिश प्रधान, राजु रेग्मी, तोया आचार्य, पिताम्बर पाण्डे, सचिन पौडेल र सुमन अर्याल सर्वसम्मत भएका हुन्। आगामी फ्रेबुअरी ९ बाट कार्यकाल शुरु हुने नव निर्वाचित कार्यसमितिलाई वर्तमान अध्यक्ष समिर रावल लगायतले कार्यकाल सफलताको शुभकामना दिएका थिए।

ह्युस्टनमा रहेको नेपालीहरुको संघसंस्था मध्ये एकमात्र प्रोफेसनल संस्थाले समुदायका लागि काम लाग्ने विविध गतिविधिहरु संचालन गर्दै आइरहेको छ। खासगरी समसामयिक विषयहरुमा डिजिटल माध्यमबाट अन्तरक्रिया, वेवनारहरु संचालन गरेर  नेपाली इन्जिनियर्सहरुको संस्थाले नेपाली समुदायलाई उपयोगी कार्यक्रम गर्दै आइरहेको छ। यसमध्ये पानीको श्रोतमा वातावरणीय परिवर्तनको प्रभाव, उद्योग प्रतिष्ठानहरु र सवारी साधनबाट निस्कने नाइट्रोजन अक्साइड मिसिएको धुवाँले संसारभर हावाको गुणस्तरमा पुऱ्याइरहेको नकारात्मक प्रभाव र सोही सन्दर्भमा नेपाल केन्द्रित वैज्ञानिक अनुसन्धानको नतिजामा आधारित वेवनार गरेर निकै महत्वपूर्ण विषयमा समुदायको ध्यानाकर्षण समेत गराएको छ।

सोसाइटीले ह्युस्टनस्थित स्यान ज्यासिन्टो कलेजका फिजिक्स प्रोफेसर डा. मधु ज्ञवाली सम्मिलित वैज्ञानिकहरुको टोलीले नेपालस्थित होङ्सी सिमेण्ट उद्योगका कारण स्थानीय स्तरमा सृजित वायु प्रदुषण सम्बन्धी अनुसन्धानबाट आएको निष्कर्ष सहितको गहन प्रस्तुति समेटिएको डा. ज्ञवाली प्रमुख वक्ता रहेको वेवनार संचालन गरेर होङ्सी सिमेण्ट उद्योगले बढाएको वायु एवं ध्वनि प्रदुषणबाट उद्योग वरिपरिका बासिन्दाहरुको स्वास्थ्यमा पुऱ्याइरहेको नकारात्मक प्रभावका अतिरिक्त स्थानीय स्तरमा कृषि उत्पादनमा समेत असर गरिरहेको जनसरोकारको विषय समेटिएको वैज्ञानिक अनुसन्धानमा आधारित वेवनार संचालन गरेर निकै महत्वपूर्ण काम गरेको छ।

यस बाहेक हालको कार्यसमितिले नेपालसंग सम्बन्धित अर्को वेवनार ‘ Urban Transport – Contemporary issues and the way forward in the context of Nepal’  विषयमा समेत महत्वपूर्ण अनलाइन कार्यशालाको आयोजना गरेको थियो। यस अतिरिक्त अन्य विविध कार्यक्रम गर्दै आइरहेको सोसाइटीले हालै सम्पन्न इन्जिनियर्स गाला नाइटका दौरान हाल ह्यूस्टनमा जारी रहेको पशुपतिनाथ मन्दिर निर्माण अभियानको सहयोगार्थ एक हजार डलर सहयोग गरेको छ भने सोही अवसरमा सोसाइटीका अध्यक्ष समिर रावलले आफ्नो व्यक्तिगत तर्फबाट समेत २५ सय डलर चन्दा दिएका थिए।

ह्युस्टनको नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको सो गाला नाइटमा नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएचए) का पूर्व अध्यक्ष डा. विष्णु नेपालले मन्दिर निर्माण टोलीले तयार पारेको ‘थ्रिडी’ भिडियो प्रस्तुत गर्दै मन्दिर अभियानमा नेपाली इन्जिनियर्सहरुको आर्थिक एवं प्राविधिक सहयोगको लागि आव्हान गरेका थिए। ज्ञानेश्वर श्रेष्ठको नेतृत्वमा हालसालै चुनिएको एनएएचको नयाँ कार्यसमितिले आगामी दुईवर्ष भित्र नेपालकै पशुपतिनाथ मन्दिरको ढाँचामा मन्दिर सहित सामुदायिक भवन र खेलकूद मैदान बनाउने अभियान शुरुआत गरेको छ। सोही अभियानलाई सहयोग पुऱ्याउन नेपाली इन्जिनियर्सहरुको संस्था समेत सहयोगी हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाली समुदायलाई लामो समयदेखि सहयोग पुऱ्याएकोमा पूर्व अध्यक्ष डा. राजेन्द्र श्रेष्ठलाई लाइफ-टाइम अचिभमण्ट एवार्डले सम्मानित गरिएको ह्युस्टन च्याप्टरका अध्यक्ष रावलले हिमालय खबरलाई बताएका छन्।अध्यक्ष रावलका अनुसार गाला नाइटमा साइ लामा, विमल भट्टचन, जनक थापाको गायन तथा पलिशा स्थापितको नृत्य प्रस्तुति समेटिएको थियो।