काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री सिंहको बिहीबार उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै उहाँ भारतका दूरदर्शी नेता रहेको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन् ।
यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेकी छन् ।
“मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु”, पूर्वराष्ट्रपति भण्डारीले भनिन् । उनले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको समेत उल्लेख गरेकी छन् ।
“भारतको अर्थतन्त्र सुधारका शिल्पकारसमेत मानिनु हुने प्रख्यात अर्थशास्त्री, शालीन व्यक्तित्वका धनी डा सिंहको निधनबाट नेपालले एक सच्चा मित्र गुमाएको छ । स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गर्दछु”, उनले भनेकी छन् । सिंहको ९२ वर्षको उमेरमा निधन गए राति निधन भएको हो ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् ।
नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा नेतासिंहसँगको आफ्नो तस्बिर पनि प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका छन् ।
“मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु । दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु”, फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन् ।
यसैगरी, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानमनत्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतले शोक सन्देश जारी गर्दै भारतको आर्थिक विकासका परिकल्पनाकार एवं अर्थशास्त्री डा सिंहको निधनबाट नेपालले असल मित्र गुमाएको बताएका छन् ।












प्रतिक्रिया