पाटन । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई जनताकेन्द्रित एवं सेवामैत्री हुनुपर्नेमा जोड दिएका छन् ।
ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार उत्तरदायी भएर जनताका समस्या समाधान तथा विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लागेको बताए ।
‘स्थानीय सरकार विगतको जस्तो कर उठाउनका लागि मात्र होइन, हाल यो नागरिक मैत्री पनि भएको छ, सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट विकृति हटाउने काम भएका छन्, व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने भाष्य गलत हो । सोचेअनुरुप विकास नभए पनि विकासको गति बढेको छ,’ ओलीले भने ।
गरिबी घटाउन अधिक प्रयास भएको, सडक, पुलजस्ता भौतिक पूर्वाधार निर्माण गरिएका, जनताको जीवनस्तर उकास्न राज्यले हदैसम्म प्रयास गरेको, मुलुकको अर्थतन्त्रको आकार बढेको, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि हुनाका साथै आम नेपालीको सरदर आयु ४२ वर्षबाट ७२ वर्ष पुगेकोलगायत विगतको तुलनामा मुलुकमा क्रमश: विकास-निर्माणका गतिविधिले गति लिएको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्रीले अनेकतामा एकता कायम गर्दै सामाजिक सद्भावका साथ समृद्धितर्फको यात्रामा लाग्नु समयको माग भएको बताए ।
प्रधानमन्त्री ओलीले नेवार संस्कृतिले भरिपूर्ण देशकै समृद्ध सांस्कृतिक सहर ललितपुर भएकाले यहाँका सम्पदाको संरक्षणका साथै सांस्कृतिक महत्त्वका स्थलको प्रवद्रधन गरेर पर्यटन विकासमा योगदान गर्न सकिने बताए ।
प्रधानमन्त्रीले भाषासाहित्यको क्षेत्रमा योगदान गरेबापत प्राध्यापक शिवगोपाल रिसाल, २०७२ सालको भूकम्पका बेला उद्धारमा खटिएका नारायण महर्जन, व्यङ्ग्य चित्रकार मोहनश्याम महर्जन र नयाँ पत्रिका दैनिकका संवाददाता शिवहरि घिमिरेलाई सम्मान गरे ।
प्रतिक्रिया