मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

अमेरिकाबासी प्रवासी नेपालीहरुले

अमेरिकाबासी प्रवासी नेपालीहरुले

नेपाल सम्झदै बडादसैँ मनाए


अमेरिका- नेपाल र नेपालीको पहिचान बोकेको महान चाड हो-बडादसैँ। जसको मुख्य आधार हिन्दू धर्मग्रन्थ हो। र, यसको मूल मर्म असत्यमाथि सत्यको विजय रहेको छ। वैधिक सनातन धर्मग्रन्थ अनुसार, दुर्गा भवानीले महिषासुर नामक असुर र भगवान् रामले रावणलाई वध गरेर असत्य माथि सत्यको विजय भएको धार्मिक मान्यतामा यो चाड हर्षोल्लासका साथ मनाउने गरिन्छ। यस अर्थमा धार्मिक दृष्टिकोणले बडादसैँको मूल मर्म शक्ति र सत्यको पूजा, अर्चना, साधना र आराधन हो।

सामाजिक, पारिवारिक, साँस्कृतिक, परम्परा, चालचलन र रहनसहनका दृष्टिकोणले बडादसैँलाई पारिवारिक मिलन, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, एकता, पहिचान र मनोरञ्जनको एक महान महोत्सवको रुपमा चित्रण र व्याख्या पनि गर्ने गरिन्छ। तर, मुलत: बडादसैँको मूल मर्म धार्मिक क्रियाकलाप, आस्था र विश्वासमा नै केन्द्रिकृत रहेको छ। हिन्दु धार्मिक पात्रो अनुसार सोह्र श्राद्ध (भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी) सम्मका १६ तिथि समाप्त भएर नौरथा प्रारम्भ भएसंगै बडादसैँ शुभारम्भ हु्न्छ।

जमरा राख्ने दिन घटस्थापनादेखि टिका लगाउने दिन दशमीसम्मको दश दिनलाई बिषेश मानिन्छ। यद्यपि, पूर्णिमाको दिनसम्म बडादसैँको टिका लगाएर हर्षोल्लास मनाउने चलन छ। हिन्दु धर्मग्रन्थ अनुसार आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात घटस्थापनादेखि नवमीसम्मको हरेक दिन नव दुर्गाको भिन्न भिन्न स्वरुपको पूजा, अर्चना, साधना र आराधना गरी दशमीको दिन मान्यजनबाट टिका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गर्ने परम्परा चलिआएको छ।

धार्मिक मूल्य, मान्यता, परम्परा, रितिरिवाज, चालचलनका दृष्टिकोणले निकै महत्वपूर्ण र अर्थपूर्ण रहेको यस चाड बहुआयामिक छ।त्यसैले, नेपालमा रहेका नेपालीहरुले मात्र हैन, विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुले पनि नेपाल र नेपाल आफन्तहरु सम्झदै बडादसैँ सक्दो हर्षोल्लासका साथ मनाए। नेपाल र नेपालीको पहिचान बोकेको बडादसैँ अवस्था अनुसार व्यवस्था मिलाएर सक्दो हर्षोल्लासका साथ मनाउन अमेरिकामा रहेका प्रवासी नेपालीहरु पनि चुकेनन्। उनिहरुले जागीर, काम, व्यवसाय, अध्ययन, घरयासी व्यवहार, सामाजिक अभियानलगायत व्यस्त दैनिकीलाई थाती राखी चाँजो पाँजो मिलाएर महत्वका साथ हरसम्भव दसैँ हर्षोल्लासका साथ मनाउने प्रयास गरे।

अमेरिकाको बोस्टनबासी मिलनकुमार कार्कोको परिवार बडादसैंको टिका लगाउदै ।

नेपालको धनुषा, लालगढका मिलनकुमार कार्की १६ वर्ष अघि अमेरिका भित्रिएका थिए। अमेरिकाको म्यासाच्युसेट्स राज्यको नरउडमा सपरिवार बसोबास गर्दै आएका कार्कीले बडादसैँ हर्षोल्लासमय भएको बताए। परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका कार्कीले दसैँको पहिलो टिका सासुबाट ग्रहण गर्दै आशीर्वाद थापे। यसैक्रममा उनले अरुलाई पनि टिका लगाउदै आशीर्वाद दिएको बताए। ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि)का निवर्तमान अध्यक्ष तथा पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्डको वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका कार्कीले बडादसैँका बारेमा प्रतिक्रिया दिदै भने, ’सुरुका वर्षहरुका दसैंहरुको तुलनामा यो वर्षको बडादसैँ हर्षोल्लासमय नै भयो। सासुआमाको हातबाट झण्डै ३० जनाले टिका र आशीर्वाद थाप्यौं। आफन्त, साथीभाइ, हितैषीहरु भेटेर रमाइलो गर्यौ।’

नेपाल र आफ्नो बचपनका पलहरु स्मरण गर्दै कार्कीले थपे, ‘बच्चा उमेरमा दसैं निकै रमाइलो हुन्छ। हामी बच्चामा निकै रमाउथ्यौ। अहिलेका बच्चाहरु पनि निकै रमाए। नेपालको जस्तो रौनक त यहाँ कहाँ हुन्छ र ।तरपनि, अवस्था अनुसार मनाएर रमायौं।’ हिन्दू धर्म, नेपाली संस्कृति, रितिथिति, परम्परा, चालचलनका दृष्टिकोणले बडादसैँ निकै महत्वपूर्ण रहेको जिकिर गर्दै उनले विविध कारणले चाडको मर्म भने मर्दै गएकोमा चिन्ता व्यक्त गरे। प्याब्फोनका उपाध्यक्ष कार्कीले घटस्थापनाको दिनदेखि दशमीको दिनसम्म मन्दिरमा विविध धार्मिक क्रियाकलापहरु गरिएको, देवीका मूर्तीहरुमा प्राणप्रतिष्ठा गरिएको र धार्मिक विधिपूर्वक जमरा राखी वितरण गरिएको जानकारी दिए।

अमेरिकाको वासिङ्टन राज्यको लेसीबासी कपिलमणि ज्ञवाली निवासमा बडादसैंको टिका लगाइदिदै।

नेपालमा कलङ्की स्थायी ठेगाना भइ हाल अमेरिकाको वासिङ्टन राज्यको लेसीमा रहेकी आफ्नी छोरी विजया ज्ञवाली, ज्वाइँ रुद्र ढकाल, नाति आइअन ढकाल र नातिनी आइभी ढकालका साथ बस्दै आएका कपिलमणि ज्ञवालीले पनि यस वर्षको बडादसैँ रमाइलोसंग नै बितेको प्रतिक्रिया दिए।

लेसी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायमा आफू र आफ्नी श्रीमती अलि पाको भएकाले टिकाको दिन झण्डै १२/१५ परिवार नै ज्ञवाली बासस्थानमा दसैँ मान्न भेला भएको र सबैलाई आफू र श्रीमतीले टिका लगाउदै आशीर्वाद दिएको उनले बताए। आफ्नो र छिमेकी नेपाली परिवारहरुसहितको बृहत परिवारका बिच बडादसैँ मनाउदै टिका लगाउन पाएकोमा ज्ञवालीले निकै हर्ष व्यक्त गरे र भने, ‘हाम्रो दसैं सारै रमाइलो भयो। नेपालमा जस्तै भयो। छरछिमेकी नेपाली समुदायका परिवारहरुका साथमा दसैँ मनाउन पाउदा निकै खुशी छौं।’ दसैं अघि नेपाल गएका ज्वाँइ रुद्र ढकाललाई साइतको टिका लगाइदिन नपाएकोमा भने ज्ञवालीले खिन्नता व्यक्त गरे।

बडादसैँ धार्मिक रुपले मात्र नभएर सामाजिक, पारिवारिक र सांस्कृतिक दृष्टिकोणले पनि निकै महत्वपूर्ण र उपयोगी रहेको जिकिर गर्दै नेपाली भाषा साहित्य क्षेत्रमा निकै सक्रिय ज्ञवालीले दसैँलाई समग्र जगत भलोमै योगदान पुर्ने गरी यसको मर्म अनुसार व्यापक रुपमा मनाउनु पर्नेमा जोड दिए।

अमेरिकाको न्यू योर्कबासी बिशाल पौडेल टिकापछि निवासको प्राङ्गणमा भाइ बुहारीसंग तस्बिर लिदै।

नेपालको मकवानपुर जिल्ला हेटौंडा जन्मथलो भइ झण्डै ९ वर्ष अघि उज्वल भविश्यको खोजीमा अमेरिका भित्रिएका हाल न्युयोर्कबासी विशाल पौडेलले यस पटकको बडादसैँ सम्झन लायक नै भएको बताए। बडादसैँको मुखैमा वासस्थान खरिद गरेर आफ्नै वासस्थानमा भाइ निरोज पौडेल र बुहारी शिवानी खड्कासंगै दसैँ मनाउन पाँउदा उनी खुशीले दङ्ग छन्। दसैँका बेला साथीभाइहरुसंगको रमाइलो क्षणहरुको स्मरण गर्दै उनले भने, ‘तुलनात्मक रुपमा विगतमा परदेशमा मनाइएका दसैँहरु मध्य यस वर्ष उपलब्धिमूलक, यादगार र रमाइलो नै भयो।’ पौडेलले थपे, ‘दसैँ भन्ने बित्तिकै नेपाल, परिवार, आफन्त, साथीभाइहरुको यादले भने सतायो नै। तरपनि अवस्था अनुसार मन बुझाएर त चल्नै पर्यो नि।’

अमेरिकाको टेक्सास राज्यको डेन्टन निवासी बिष्णु सापकोटाका बडादसैंको टिका कार्यक्रमका झलकहरु।

नेपालको मकवानुर जिल्ला, हेटौंडा-६ पुतलिबजार जन्मथलो भइ हाल टेक्सास राज्यको डेन्टन बसोबास गर्ने विष्णु सापकोटाले अवस्था र परिस्थितिसंग तालमेल मिलाएर बडादसैँ मनाइएको प्रतिक्रिया दिए। १०वर्ष अघि सपरिवार अमेरिका आएका सापकोटा छ महिना अघिसम्म टेक्सासको सानमार्कस् बस्दै आएका थिए। उनी काम र व्यापार व्यवसायको शिलशिलामा टेक्सासको डेन्टन बसाइँ सरेका हुन्। नयाँ वासस्थानमा बडादसैँ मनाउदाको अनुभव सुनाउदै उनले भने, ‘एकैपटक बसाइँसराइ र व्यापार व्यवसायमा हात हालिरहेको अवस्थामा दसैँको व्यवस्थान गर्न गाह्रो सारो पर्यो नै। तरपनि, वर्षदिनको चाड हो। ४ वर्षपछि दसैँको टिकोटालो गर्न पाइयो। समग्रमा दसैँ राम्रै रह्यो।’

उनले डेन्टन क्षेत्र वरपर नेपाली समुदायको उल्लेखनीय बसोबास रहेको र युलेसमा पशुपतिनाथ तथा बुद्ध विहार पनि भएकाले दसैँको रौनकको झल्को राम्रै मिलेको बताए। यस पटकको दसैँ नेपालमै गएर मनाउने योजना बनाइएको भएतापनि सम्भव नहुँदा मन खिन्न भएको दु:खेसो पोख्दै उनले भने, ‘दसैँमा नेपाल जाने योजना थियो। तर, पूरा भएन। छोरा बिशाल मात्र नेपाल गए। हामीले भने यतै मनायौं। रमाइलो नै भयो। तर, नेपालको जस्तो त कहाँ हुन्थ्यो र।’ सापकोटाको परिवारमा उनीसहित श्रीमती सारदा तिमल्सिना सापकोटा, छोरा बिशाल सापकोटा र छोरी बिबिसा सापकोटा गरी ४ जना रहेका छन्।

अमेरिकाको टेक्सास राज्यको युलेस स्थित पशुपतिनाथ तथा बुद्ध विहारमा भक्तजनहरुलाई उपलब्ध गराउन राखिएको जमरा।

बडादसैँको अवसरमा अमेरिकाको विभिन्न हिन्दू धार्मिक शक्तिपीठहरुमा घटस्थापनादेखि नै देवी देवताहरुको पूजा, अर्चना र आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइचो लागेको थियो। अमेरिकाको बोस्टन, टेक्सासको युलेस, अस्टिन, ह्विस्टन, भर्जिनियालगायत स्थानहरुमा रहेका पशुपतिनाथ मन्दिरलगायत देवी शक्तिपीठहरुमा भक्तजनहरुका लागि विधि पूर्वक जमरा राखिदिने व्यवस्थासमेत गरिएको थियो।

अमेरिकामा रहेका नेपाली समुदायहरु संगठित हुदै गएको, आपसी सद्भाव बढ्दै गएको, सामुदायिक संघ संस्थाहरुको संख्या र क्रियाकलापहरु बढ्दै गएको, हिन्दू मठ मन्दिरहरु स्थापना गर्ने अभियान बढ्दै गएको र नेपालीपन र पहिचान बोकेका धार्मिक तथा सामाजिक क्रियाकलापहरुले गति लिदै गएकाले बडादसैँको महत्व र रौनकता पनि बढ्दै गएको छ।

बडादसैँमा नाचगान गरेर रमाइलो गर्दै अमेरिकामा रहेका प्रवासी नेपालीहरु।