मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राजनीतिकरूपमा सचेत व्यक्तिले मात्र शिक्षा क्षेत्रको विकास गर्न सक्छ : महासचिव पोखरेल

राजनीतिकरूपमा सचेत व्यक्तिले मात्र शिक्षा क्षेत्रको विकास गर्न सक्छ : महासचिव पोखरेल

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको आर्थिक अवस्थामाथि उकास्नका लागि अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औँ राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरता, सामाजिक अराजकता, सामाजिक तथा मौलिक संस्कृतिमाथि तीव्र आक्रमण, कमजोर आर्थिक अवस्थालगायत कारणले देश कमजोर अवस्थामा रहेकाले त्यसबाट मुक्त गराउनु अहिलेको मुख्य कार्यभार भएको धारणा राखे ।

महासचिव पोखरेलले सार्वजनिक शिक्षामा देखिएको चुनौती समाधानको आवश्यकता औँल्याउँदै त्यसको समाधान शिक्षक सङ्गठनले मात्र गर्न सक्ने जिकिर गरे । राजनीतिकरूपमा सचेत व्यक्तिले मात्र शिक्षाको विकास गर्न सक्ने उनको भनाइ थियो । “हिजो नेपालको राजनीतिक जागरणमा जसरी नेपालका शिक्षकले भूमिका खेलेका थिए, आज समाज बन्दै गरेको नकारात्मक भाष्य चिर्ने काम पनि शिक्षकबाट नै सम्भव छ”, महासचिव पोखरेलले भने ।

उनले समाजको सचेत वर्ग सार्वजनिक शिक्षाबाट बाहिरिएका कारण नेपालको सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कँदै गएको बताए । “घरमा राम्रो पढ्ने वातावरण र अवस्था नभएका धेरै विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । उनीहरूको पढाइको स्तर सुधार गर्न निक्कै कठिन भए पनि सुधार नगरी नहुने अवस्था छ । यसमा सबैले सकारात्मक पहलकदमी लिनुपर्ने आवश्यकता छ । शिक्षक सङ्गठनहरूले यसतर्फ विशेष ध्यान दिनुपर्छ”, उनले भने ।

महासचिव पोखरेलले देशमा देखिएका समस्या समाधान र राजनीतिक स्थायित्वका लागि एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको दोहोर्‍याए । राजनीतिक परिवर्तनको समयमा धेरै राजनीतिक दल भए पनि फरक नपर्ने भन्दै उनले देश बनाउन भने बलिया राजनीतिक दल आवश्यक रहेकामा जोड दिए । देश विकासका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने महासचिव पोखरेलको भनाइ छ ।

“नेपालमा बलियो राजनीतिक शक्ति नबन्दासम्म विकास हुन सक्दैन । देश र समुदायको हितका लागि बलिया सङ्गठन आवश्यक पर्ने हुँदा यही सोचका साथ नयाँ ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता छ । यही कुरालाई ध्यानमा राखेर हाल देशका बलिया राजनीतिक दल एक ठाउँमा मिलेर सरकार बनाएका छौँ”, उनले अगाडि भने, “देश विशिष्ट अवस्थामा रहेको हुँदा लोकतन्त्र र स्थायित्वका आधार निर्माणका गर्न एमाले–कांग्रेस एकठाउँमा उभिएका छौँ, त्यो आधार निर्माण हुनेबित्तिकै दुई ठूला राजनीतिक दल स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा उत्रिन्छौँ ।”