मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रम : सौराहालाई पर्यटकीय क्षेत्र घोषणा गर्न पहल गरिने

रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रम : सौराहालाई पर्यटकीय क्षेत्र घोषणा गर्न पहल गरिने

हरियाली पार्क, लौरीघौल ताल र पञ्चनदी संरक्षण क्षेत्रलाई नवीन पर्यटकीय गन्तव्य बनाइने

केशव भट्टराई

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । रत्ननगर नगरपालिकाले ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने सोचका साथ पर्यटकीय क्षेत्रको थप विकास, विस्तार र प्रवर्द्धन गर्ने रणनीति अवलम्बन गरेको छ । नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गदै स्वच्छ, सफा, हरियाली तथा घुम्न लायक पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथै नवीन पर्यटकीय सेवा र कार्यहरुको पहिचान कार्यान्वयन गर्ने बताएका छन् ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको सौराहालाई हालसम्म पनि पर्यटकीय क्षेत्र घोषणा नगरिएकोले यथाशीघ्र पर्यटकीय क्षेत्र घोषणाका लागि पहल गर्ने, पर्यटन प्रवर्द्धनका लागि सौराहामा पर्यटन सूचनाकेन्द्र स्थापना गर्ने र आन्तरिक तथा बाह्य पर्यटकहरुको सहजीकरणका लागि नगर पर्यटक प्रहरीको व्यवस्था गरी आवश्यक सहयोग गरिने नगरप्रमुखले नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको स्वीकृतिमा टिकौली चौरमा कृष्णसार व्यवस्थापनस्थलको निर्माण कार्य सम्पन्न भइसकेकाले विभागकै सहमतिमा बर्दियाबाट कृष्णसार ल्याउने, सोही क्षेत्रमा निर्माणाधीन हरियाली पार्क, लौरीघौल ताल र पञ्चनदी संरक्षण क्षेत्रलाई नवीन पर्यटकीय क्षेत्रको रुपमा विकास गरी सौराहामा पर्यटकको बसाइ अवधि लम्ब्याउन प्रयास गरिने नगरप्रमुख सापकोटाले बताए ।

नगरका प्राकृतिक जैविक एवं मानव निर्मित सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्दै सौराहा क्षेत्रलाई नेपालकै आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलका रुपमा विकास गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सौराहा क्षेत्रका होटल, रेस्टुरेन्ट, होमस्टेलगायत पर्यटन व्यवसायीलाई नगरको करको दायरामा आउन प्रोत्साहन गरी सो आम्दानी पर्यटकीय पूर्वाधार विकास र प्रवद्र्धनात्मक कार्यक्रममा लगाइने पनि उनले बताए । सौराहा आउने धार्मिक पर्यटकलाई लक्षित गरी रत्ननगर–८ स्थित चित्रसेन बाबा मन्दिर छेउको बूढीराप्ती नदीको तिरमा साउन १ गतेदेखि प्रत्येक सोमबार साँझ गंगा आरती गर्ने संस्कृतिको विकास गरिने उल्लेख गरिएको छ ।

कृषि तथा पशु विकास कार्यक्रम

कृषि विकासका लागि जमिनको खण्डिकरण र बाँझोपना नियन्त्रण गर्न जग्गा भाडामा लिई सामूहिक खेती गर्ने कार्यविधिअनुरुप विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । कृषि उत्पादन अभिवृद्धिका लागि सिंचाइ प्रणालीका विकास, कृषिको यान्त्रीकरण, कृषि हाटबजारको सञ्चालन तथा उत्पादन र बजारीकरणमा आधारित कार्यक्रमको सञ्चालन गरिने विवरणमा उल्लेख छ ।

कृषि बिमा कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्दै बालीबस्तुको बिमा शुल्कमा अनुदान, कृषकलाई प्रारांगिक खेतीतर्फ आकषित गर्न आइपिएम कृषक पाठशाला र एक वडा : एक प्रारांगिक खेती कार्यक्रम लागू गर्ने, वास्तविक किसानको पहिचान र वर्गीकरणका लागि किसान सूचीकरण अभियान सञ्चालन गरिने नगर प्रमुखले प्रसतुत गरेको नीतिमा समावेश गरिएको छ ।

नीति तथा कार्यक्रममा अगाडि भनिएको छ, ‘स्थानीय उत्पादन प्रवद्र्धनका लागि सम्भावित क्षेत्रहरुमा स्थानीय कृषि सहकारी संस्थाहरुलाई कोशेली घर, बिक्रीकेन्द्र स्थापना गर्न प्रोत्साहित गरिने छ । टाँडीबजारमा रहेको तरकारी मण्डी, कोशेली घर र सहकारी बजार व्यवस्थापनका लागि बिस्तृत परियोजना प्रतिवेदन तयार गरी आयोजना कार्यान्वयन गरिने छ ।’

यस्तै, पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने, बीउ उत्पादनमा आत्मनिर्भर गर्न बिजवृद्धि कार्यक्रम तथा बीउ प्रशोधनकेन्द्र स्थापना तथा सञ्चालन, निजी/सहकारीको लागत साझेदारीमा कस्टम हायरिङ सिस्टम, गोठ–गोठमा भेटेरिनरी र खेत–खेतमा कृषि प्राविधिक सेवालाई निरन्तरताका साथै र कृषकसँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरिने नगरको नीति छ ।

नगरको गौरवको रुपमा रहेको पञ्चकन्या जल उपभोक्ता समिति, पिठुवा जल उपभोक्ता समिति र बेल्सी–हाजिपुर जल उपभोक्ता समितिको सिंचाइ कमाण्ड क्षेत्र विस्तारको लागि नहर, कलो निर्माण तथा मर्मत सम्भारका लागि आवश्यक बजेटको व्यवस्था मिलाइने र विदेशबाट फर्केका एवं बेरोजगार युवालाई कृषि पेसामा आकषित गर्न युवालक्षित कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, उद्योग तथा वाणिज्यतर्फ स्थानीय रोजगारी तथा आयमा वृद्धि गर्ने कार्यक्रम अगाडि सारिएको छ । उद्योग वाणिज्य संघ, उद्योग संघ, क्षेत्रीय होटल व्यवसायी संघ र क्षेत्रीय रेस्टुरेन्ट व्यवसायी संघसँग सहकार्य गरी उद्योगी व्यवसायीको क्षमता विकास तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उद्योगधन्दालाई प्रोत्साहन गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने, दर्ता नगरी सञ्चालनमा आएका व्यवसायीलाई करको दायरामा ल्याइने नगरको नीति छ ।

यस्तै, सहकारीकर्मीहरुको क्षमता अभिवृद्धिका लागि लेखा तालिम, सहकारीहरको सूक्ष्म अनुगमन र नागरिकको बचत सुरक्षा गर्न सहकारीको उद्देश्यअनुरुप सञ्चालनका लागि निर्देशन दिने कार्यक्रम छ ।

सामाजिक विकास कार्यक्रम

विद्यालयको भौतिक संरचना निर्माण गर्दा बालमैत्री, अपाङ्गतामैत्री तथा छात्रामैत्री संरचनालाई प्राथमिकता दिइने, शिक्षकको क्षमता अभिवृद्धि गर्ने, प्रविधिमैत्री तथा सूचनामैत्री कार्यक्रम सञ्चालन गर्ने, शिक्षक सिकाइलाई प्रभावकारी बनाउन अनुगमन प्रणालीको विकास गर्ने, विद्यालय नेतृत्वलाई विद्यालयप्रति जिम्मेवार बनाइ, मूल्याङ्कनका आधारमा दण्ड, पुरस्कार तथा प्रोत्साहन, विद्युतीय हाजिरी, एकद्वार प्रणालीबाट अनुगमनको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आधारभूत तहमा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता, विपन्न, दलित तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई उच्चशिक्षातथा प्राविधिक शिक्षामा छात्रवृत्ति, सामुदायिक क्याम्पसहरुको क्षमता अभिवृद्धि तथा शिक्षालयहरुमा मनोसामाजिक परामर्श तथा तथा सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम लागू गर्ने नीति नगरको छ ।

यस्तै, युवा तथा खेलकुदतर्फ खेलाडीहरुको प्रोत्साहनका लागि वडावडामा खेलकुद विकास समिति गठन गरी खेलकुदका गतिविधिहरुमा खेलाडीलाई सहभागिता, प्रोत्साहन, सम्मान तथा पुरस्कार, राष्ट्रपति रनिङ शिल्ड, मेयरकपलगायत विविध खेल गतिविधिमा सहभागी गराई खेलकुदको प्रवद्र्धन र विकास गर्ने कार्यक्रम नगरले लिएको छ ।

नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गरी स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, ल्याब, स्वास्थ्य बिमा, महिला स्वयंसेविकालाई प्रोत्साहन रकमसहित बिदाइ, क्षयरोगमुक्त अभियान सञ्चालनका लागि विपन्न बिरामीलाई पोषण प्याकेज, गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे, इसिजी तथा ल्याब सेवा, सुत्केरी आमा तथा शिशुका लागि घरघरमा स्वास्थ्य जाँच सेवालाई यसवर्ष पनि निरन्तरता दिइएको छ ।

यस्तै, औषधि उपचारमा छूट सुविधा, रक्त सञ्चार युनिटबाट निःशुल्क रगत, विपन्न उपचार कोष, पोषणमैत्री कार्यक्रम, विपन्न समुदायका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सुविधा, निःशुल्क शव बाहनको व्यवस्था मिलाइने नगरप्रमुख सापकोटाले बताए ।

यस्तै, नसर्ने रोग र मानसिक समस्याको रोकथामका लागि सचेतना, एक वडा एक व्यायामशाला, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । क्यान्सरका बिरामीलाई संघ र प्रदेशको अनुदानपश्चात् नगरबाट पनि थप उपचारका लागि २५ हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै, मिर्गौला प्रत्यारोपण, डायलासिस, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई मासिक ५ हजार र एचआइभी सङ्क्रमित बिरामीलाई वार्षिक ५ हजार यातायात खर्चको व्यवस्था मिलाइने नगरको नीति छ ।

खानेपानीतर्फ एक घर : एक धारा, २६ हजार नगरवासीलाई गुणस्तरीय खानेपानी सुविधा, फोहरमैला व्यवस्थापनमा अझै व्यवस्थित र प्रभावकारी बनाइने, सार्वजनिक शौचालयहरुको व्यवस्थापन, कला, संस्कृति, मठमन्दिर, गुम्बा, ब्रह्मथानलगायत पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वका सम्पदाहरुको संरक्षण गर्ने नीति नगरेको छ ।

यसैगरी, लैंगिक तथा सामाजिक समावेशीकरणमा नगरले बालमैत्री दिगोपना कार्यक्रम, विपन्न तथा द्वन्द्वप्रभावित बालबालिकालाई शैक्षिक सामग्री, ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र, महिला नेतृत्व, क्षमता अभिवृद्धि, सीप विकास तथा सशक्तीकरण कार्यक्रमलाई जोड दिँदै स्थनपान कक्षलाई थप व्यवस्थित गरिने भएको छ ।

अटिजम भएका बालबालिकालाइृ विशेष कक्षा, लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन, सामाजिक कूरीति, अन्धविश्वास, मानवबेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना कार्यक्रम, जोखिममा परेका बालबालिकाको उद्धार, पुनःस्थापना तथा पारिवारिक पुनःएकीकरण कार्यक्रम, सडकमा बेसहारा भएका व्यक्तिको उचित संरक्षण गर्ने नीति नगरले लिएको छ ।

यस्तै, गैरसरकारी संस्थाको दर्ता, नवीकरण तथा गतिविधिहरुको अभिलेख व्यवस्थापन, स्वदेशमै रोजगार गर्न प्रोत्साहन, सुरक्षित आप्रवासन कार्यक्रम, लागूऔषध नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने नीति रहेको नगरपालिकाले जनाएको छ ।

यस्तै, पूर्वाधार विकास, सडक, पुल, सिंचाइ, भवन तथा सहरी विकास, ऊर्जा, लघु तथा साना जलविद्युत्, वन, वातावरण तथा विपद् व्यवस्थापन, वन तथा भूसंरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण र विपद् व्यवस्थापनका लागि पनि कार्यक्रमले विशेष जोड दिएको छ । संस्थागत विकास, सेवा प्रवाह र सुशासनको प्रत्याभूति दिलाइ बेरुजु फछ्र्योटका लागि कानुनी र विधिसम्मत व्यवस्थाको कडाइका साथ पालना गर्ने नीति तथा कार्यक्रममा प्रतिबद्धता जनाइएको छ ।