मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली बिडम्बनापूर्ण : प्रदीप ज्ञवाली

दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली बिडम्बनापूर्ण : प्रदीप ज्ञवाली

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी । नेकपा एमालेका उपहासचिव प्रदीप ज्ञवालीले मुलुकमा दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली रहनु बिडम्बनापूर्ण रहेको बताएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–६ स्थित जामुनाखर्क माध्यमिक विद्यालयमा आज आयोजित हिराबहादुर बानियाँ स्मृति अक्षयकोष स्थापना तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै उनले निजी विद्यालयको योगदानको अवमूल्याङ्कन गर्न नमिल्ने भए पनि अहिलेको शिक्षा प्रणालीले दुईथरि नागरिक उत्पादन गरेको बताए ।

“एकथरि बालबालिका भविष्यका डाक्टर, इञ्जिनियर, वकिल बन्ने छन्, अर्काथरि विद्यार्थी खल्तीमा प्रमाणपत्र बोकेर मुलुकमा रोजगार नपाउने र खाडीमुलुक जानुपर्ने बिडम्बना छ, यो खालको अवस्थाबाट शिक्षा सुधार हुन सकेको छैन”, उनले भने ।

नेपालको नयाँ संविधानमा शिक्षालाई बालबालिकाको मौलिक अधिकारको रुपमा स्थापित गरे पनि त्यसको पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । संविधानमा आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य तथा मावि तहको शिक्षालाई निःशुल्क प्रदान गर्ने घोषणा भए पनि विविध कारणले अझै पनि कतिपय बालबालिका शिक्षाको अवसरबाट वञ्चित रहेको उनले बताए ।

“संवैधानिक रुपमा रहेको व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने हो, तर कतिपय बालबालिका अझै विद्यालयको दायरा बाहिर छन्, गरिबी, पारिवारिक संरक्षणको अभावलगायत कारण बिचैमा विद्यालय छाड्ने चुनौती पनि छन्, यसतर्फ राज्य गम्भीर हुनुपर्छ”, उनले भने ।

पछिल्लो समय बालबालिका भर्ना दर ९९ प्रतिशत पुग्नु सकारात्मक रहेको बताउँदै उहाँले घर परिवार, समाज र सरकारले योग्य, दक्ष तथा स्वस्थ नागरिक उत्पादन गर्नका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न आवश्यक रहेकामा जोड दिए । अध्ययनका लागि विदेशी मुलुकमा जाने लहरले विश्वविद्यालय, कलेज र विद्यालय रित्तिने जोखिम बढेको उल्लेख गर्दै नेता ज्ञवालीले विद्यार्थीले शिक्षा लिँदा देशमै योगदान गर्छु भन्ने अठोट लिनुपर्ने बताए ।

गतवर्ष मात्रै रु एक लाख २५ हजार बढी विद्यार्थीले विदेश अध्ययनका लागि विदेशी शैक्षिक संस्थाबाट अनुमतिपत्र लिएको र विदेश जाने विद्यार्थीबाट रु ६७ अर्ब विदेशी मुद्रा बाहिरिएको उल्लेख गर्दै नेता ज्ञवालीले विद्यार्थी र युवालाई स्वदेशमै राख्न सरकार जिम्मेवार बन्नुपर्ने धारणा राखे।

शिक्षाको गुणस्तर भौतिक पूर्वाधार र सुविधाले मात्रै सम्भव नहुने बताउँदै उनले शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र सरकार सबैको साझा प्रयत्नले मात्रै शिक्षामा सुधार सम्भव रहेको बताए। कार्यक्रममा दिवङ्गत हिराबहादुर बानियाँको स्मृतिमा उनको घरपरिवारले रु पाँच लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् भने एक सय १४ विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामग्री तथा खेलकुदका सामग्री वितरण गरिएको थियो ।