जाजरकोट । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् ।
उनका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षति पुर्याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए ।
जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा मेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उनको भनाइ छ ।
रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उनले बताए । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो ।
उद्धार टोलीसहित प्रधानमन्त्री भूकम्पस्थलमा
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७, १२:०८, १२:२९, १२:३५ गरी ४ पटकको क्रमश: ६.४, ४.८, ४.२, ४.३ म्याग्निच्युडको भुकम्पका कारण रूकुम पश्चिम र जाजरकोटका दर्जनौँको मृत्यु र घाइतेको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू लागेका छन् ।
सुर्खेतलगायत छिमेकी जिल्लाहरूबाट खोज उद्वारका लागि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ। केही सडकहरू बन्द भएका छन्। खोज, उद्वार तथा उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्डसहितको स्वास्थ्यकर्मीको टिम स्थलगत जाँदैछ। शनिबार बिहानैदेखि घाइतेहरूको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा तीन हेलिकप्टर परिचालन हुनेछन्।











प्रतिक्रिया