मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
राजनीति-समाज   

रहेनन् संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

रहेनन् संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

राष्ट्रपति, प्रधानमन्त्री, सभापति देउवालगायतका नेताद्वारा शोक व्यक्त

हिमालय खबर

शेयर गर्नुहोस:

243
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट मंगलबार बिहान निधन भएको छ ।

सामान्य रूघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई हृदयघात भएपछि उपचारका लागि मंगलबार राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा त्यहीँ निधन भएको उनका स्वकीयसचिव कृष्णप्रसाद काफ्लेले बताए ।

मंगलबार बिहान १ः४० बजे त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा हृदयाघातबाट निधन भएको अस्पतालले जनाएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बालुवाटारस्थित निवासमा रहेका नेम्वाङ बाथरुममा बेहोस अवस्थामा लडिरहेको पाइएपछि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । चिकित्सकले अस्पताल ल्याइपु¥याउँदाको बेला नै नेम्वाङको मुटुको चाल तथा नाडी नचलेको तथा आँखाको कालो नानीले ढाकेको अवस्था पाइएकोले उनको निधन भइसकेको बताएका थिए ।

कार्यवाहक महासचिव ज्ञवालीले निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा पुगेको क्षति अपूरणीय रहेको र यो रिक्तता कहिल्यै नपुरिने बताए । उनका अनुसार उनको पार्थीव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले बिहान ९ः०० बजेपछि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा राखिने भएको छ ।

उनको बारेमा जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए ।

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा छवि बनाएका थिए ।

पार्थिव शरीर पार्टी कार्यालयमा

नेता नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय च्यासलमा लगिएको छ । पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रिय कार्यालयमा गई पूर्वसभामुख नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

यसैगरी श्रद्धाञ्जलि व्यक्त गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले च्यासल पुगी नेम्वाङलाई श्रद्धाञ्जलि दिएका थिए ।

राजनीतिक र संसदीय यात्रा

स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ मा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । विसं २०३३ मा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी को–अर्डिनेसन केन्द्र (माले)मा सङ्गठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए । नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४मा व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० मा संविधानसभाका अध्यक्ष/सभामुख थिए ।

विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटक–पटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्व नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए ।

तीन दिनसम्म शोक मनाउने

नेकपा (एमाले)ले उपाध्यक्ष नेम्वाङको निधनप्रति तीन दिन शोक मनाउने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गदैै नेता नेम्वाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झन्डा आधा झुकाउने निर्णय गरिएको महासचिव ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय तथा इलाम निर्वाचन क्षेत्र नं. २ मा शोक पुस्तिका राखिने छ । पार्टी र पार्टी सम्बन्ध जनवर्गीय सङ्गठनको औपचारिक कार्यक्रम तीनदिनसम्म स्थगित गरिएको नेता ज्ञवालीले जानकारी दिए ।

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

मर्माहत भएको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा मंगलबार बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले स्व नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेम्वाङको निधनबाट राष्ट्रलाई अपूरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गरेकी छन् ।

संसदीय दलका उपनेता नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, “म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सोमबार राति निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

सहकर्मी र सहयात्रीको निधनबाट स्तब्ध छु : नेता खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताएका छन् । आज वक्तव्य जारी गर्दै उनले नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेता खनालले एमाले उपाध्यक्ष नेम्वाङ ७ कक्षादेखिको आफ्नो सहपाठी र राजनीतिक सहयात्री भएको स्मरण गर्दै संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहत भएको बताएका छन् ।

उनले नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताए ।

बिहीबार सार्वजनिक बिदा दिने निर्णय

सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका दिन बिहीबार देशभर सार्वजनिक बिदा दिने र उनको पार्थिव शरीर राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए । संविधानसभा अध्यक्ष नेम्वाङको मंगलबार बिहान निधन भएको हो । रासस