मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
स्वास्थ्य / विचित्र संसार   

देशभरका आँखा अस्पतालमा आउने ५० प्रतिशत बिरामीमा ‘एडिनो भाइरस’को समस्या

देशभरका आँखा अस्पतालमा आउने ५० प्रतिशत बिरामीमा ‘एडिनो भाइरस’को समस्या

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । नेपाल नेत्रज्योति संघले देशैभरका आँखा अस्पताल आउने औसत बिरामीमध्ये ५० प्रतिशतमा आँखा पाक्ने समस्या (कन्जङ्टिवाइटिस) रहेको जनाएको छ । नेपाल नेत्रज्योति संघअन्तर्गतका आँखा अस्पतालहरुमा आँखा जाच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामी कन्जङ्टिवाइटिसको उपचारका लागि आइरहेको संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए ।

डा मिश्र भन्छन्, ‘सुरूवातमा भारतको सीमावर्ती क्षेत्रहरुमा मात्र कन्जङ्टिवाइटिसको समस्या देखिएकोमा अहिले देशैभरि फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्पतालहरुको सोमबारसम्मको डेटाअनुसार दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जङ्टिवाइटिसको समस्या देखिएको छ ।’

नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार देशैभरि कन्जङ्टिवाइटिसको प्रकोप बढिरहेकाले यसैमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघअन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन जारी गरिसकिएको छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात् आँखा रातो हुने, आँखाको डिल सुनिएर हेर्न समस्या हुने, आँखाबाट पानी बगिरहने, आँखा चिलाउने, पोल्ने र बिझाउने हुने, आँखामा पहेँलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुने आदिजस्ता लक्षणहरु देखिन्छन् ।

हरेक वर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएता पनि योपटक भने यो समस्या प्रकोपकै रूपमा फैलिरहेको चिकित्सकहरु बताउँछन् । सुरूवातमा भारतको सीमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरि फैलिएको छ । समस्या देखिएपछि कतिपय स्थानीय तहहरुले विद्यालय बन्दको निर्णयसमेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिई सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा.डा ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलतासमेत आउन सक्छ । ‘यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिई सावधानी अपनाउनु पर्दछ चिकित्सकको सुझावबिना जथाभावी आषधिको प्रयोग गर्नु हुँदैन यसले थप जटिलता निम्त्याउन पनि सक्छ’ प्रा.डा लामिछानेले भने ।

समाजमा कन्जङ्टिवाइटिसको समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको बताउँछन् डा.लामिछाने । यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको बस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्ने बताउँछन् उनी ।

यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसो पानी वा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्न र बढी समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गर्न उनले सुझाव दिएका छन् ।

नेपाल नेत्रज्योति संघको तथ्याङ्कअनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगन्जमा २० प्रतिशत, विनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, विराटनगर आँखा अस्पताल, विराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जङ्टिवाइटिसको समस्या देखिएको छ ।