ड्यालस (टेक्सस) । हप्तामा एक पटक घर अघिल्तिर सडकमा गुड्ने सामुदायिक फोहोर विसर्जन (कम्युनिटी वेस्ट डिस्पोजल सिडब्लुडी) का भयंकर ट्रकले उठाउने फोहोरहरु कहाँ पुगेर विसर्जन होलान् ? यसको प्रकृया के कस्तो होला ? कत्तिको ठूलो क्षेत्रफल प्रयोग भएको होला ? यी र आदीआदी जिज्ञासाहरु मनमा जागिराख्थ्यो ।
‘ल भाईहरु मैले एउटा राम्रो प्रोग्राम मिलाएको छु । तपाईहरुले अगष्ट १ तारिक बिहानलाई आ आफ्नो कामबाट छुट्टी मिलाइराख्नु है’ युलेस सिटी काउन्सिल सदस्य टीका पौडेलको फोन र मेसेज एकै पटक आयो । पहिलो पटक नगल्ने र रिसाइकल (पुनः प्रयोग गर्न मिल्ने) को ठाउँमा जाने गरि मिलाइएको छ । अर्को पटक चाहि कुहिने फोहोर विसर्जन गर्ने ठाउँमा जाउँला पौडेलले कार्यक्रम बारे हल्का संकेत दिनुभयो ।
नेपालमा फोहोरको राजनीति निकै चर्को देखिन्छ । राजनीतिकै कारण राजधानी शहर काठमाडौंमा हप्तौसम्म फोहोर नउठेर दुर्गन्धित भएको, फोहोर बोकेका गाडीहरु तोडफोड भएका घटना सामान्य जस्तै छन् । फोहोर विसर्जन हुँदै आएको ओखरवौवा ल्याण्डफिल्ड साइट मात्र नभएर वरिपरिका गाउँहरुमा समेत दुर्गन्ध, रोगव्याधी फैलिएका घटना पनि भैरहेका छन् । पछिल्ला समयमा त काठमाडौंमात्र नभएर अन्य नगरक्षेत्रहरुमा समेत फोहोरको मुद्धा निकै चर्को छन् ।
यस्तो अवस्थामा संसारकै विकसित देश अमेरिकाको प्रशोधनयोग्य फोहोरको विसर्जन प्रणाली कस्तो रहेछ ? बुझ्ने जान्ने धोको पुरा हुने अवस्था भएकोले अगष्ट १ तारिक बिहान १० बजे दिइएको ठेगानामा हामी पुग्यौँ ।
कार पार्किंग गर्दै रहँदा ह्वास्स दुर्गन्ध नाकमै आयो । त्यही गन्धले प्रशोधनशाला यतै कतै हुनुपर्छ भन्ने लख काट्यौ हामीले । नभन्दै नजिकै टीका पौडेल, युलेस सिटीका मेनेजर र अन्य दुई काउन्सिल सदस्यलाई पार्किगलटमै भेट्यौँ ।
‘मेरो बा ले यो व्यबसाय सन् १९८४ मा थालनी गरेका हुन् । अहिले धेरै जिम्मेवारी चाहि मैले लिएर चलाईरहेको छुु’ कम्पनीका उपाध्यक्ष जेसन रोमरले कम्पनीको विगत र वर्तमान बारे जानकारी गराउँदै भने । हाम्रो अनुमान थियो अमेरिकामा यस्तो कम्पनी त सरकारले नै चलाएको होला । तर होइन रहेछ । एउटा फोहोर विसर्जन कम्पनीको सेल्स पर्सनका रुपमा ड्यालस आएका ग्रेग रोमरले सन् चार वर्षपछि आफैंले सिडब्लुडी कम्पनी खोलेर अहिले ड्यालस फोर्टवर्थको ठूलो कम्पनीका रुपमा चिनाएका छन् । दुईवटा ट्रक र दुई कर्मचारी अनि एकजना पनि ग्राहक नभैकन उनले थालेको यो कम्पनीले अहिले डिएफडब्लु मेट्रोप्लेक्सको ३४ सिटीहरुमा सेवा दिइरहेको छ ।
पुनः प्रयोगका लागि प्रशोधन गर्न मिल्ने कार्डबोर्ड, कागज, टिनका क्यान, प्लास्टिक बोतल, न्यूजपेपर लगायतका सामानहरु घरघरमा पुगेर यो कम्पनीले ठूला ट्रकहरुमा उठाउँछ । त्यसका लागि सिटीहरुसँग सम्झौता भएको हुन्छ । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सका ३४ वटा सिटीहरुसँग यो कम्पनीले फोहोर उठाउन सम्झौता गरेको छ ।
‘हामीले उठाउने त पुनः प्रयोगयोग्य कागज, मेटल, सिसा, प्लास्टिकजन्य वस्तुहरुमा मात्र हुन् । त्यसको लागि अलग्गै झोला र ड्रमको पनि व्यवस्था गरिएको छ । तर मानिसहरुले मिसाएर राखिदिने कारणले गर्दा हाम्रो ट्रकले उठाएर ल्याउँदा त्यसमा कुहिने फोहोरदेखि कपडा, सुटकेश, हानिकारक चिजहरु समेत मिसिएको हुन्छ’ कम्पनीका मेनेजर अब्राहम भाल्भर्डले भने । त्यसलाई ड्यालस डाउनटाउनबाट केही माइल उत्तरमा रहेको प्रशोधनशालामा ल्याएर ट्रकले खन्याउँछ ।
खन्याइएको फोहोरलाई लोडरले कम्याक्टरमा हाल्छ । कम्प्याक्टरबाट कन्भेर बेल्ट हुँदै मान्छेले सर्टिंग गर्ने ठाउँमा पुग्छ । कस्तो खालको फोहोर हो भनेर अलग्गै ठूला क्यानहरुमा मानिसहरुले छुट्याउँदै राख्छन् । सर्टिंगको काम असाध्यै छिटो गतिमा हुन्छ । मेसिन जसरी मानिसहरुका हात चलिरहेका हुन्छन् ।
कन्भेएरबेल्टमा फोहोर घुम्दै गर्दा कार्डबोर्ड, प्लास्टिक, पत्रिका, मेटलहरु आफ से आफ छुट्टिदै प्रशोधनका लागि जाने ठाउँ हुन्छन् । तर धेरै सामान हुने भएकाले मेसिनले समेत छुट्याएर नभ्याउने भएकोले मानिसहरुले म्यानुअल्ली रुपमा फोहोरका प्रकार अनुसार छुट्याएर क्यानमा राखिरहेका हुन्छन् ।
यो कम्पनीले बार्षिक ५० हजार टन फोहोर संकलन गर्न सक्ने क्षमता राख्छ । तर अहिले १० हजार टन मात्र संकलन गर्दै आएको छ । अधिकांश सिटीहरुमा हप्तामा दुई दिन ट्रास (कुहिने फोहोर) संकलन सेवा हुन्छ । पुनः प्रशोधनयोग्य फोहोर चाहि हप्तामा एक पटक संकलन हुँदै आएको छ ।
कम्पनीले प्रशोधन, व्यबस्थापनका लागि नयाँ र अत्याधुनिक प्रविधिको प्रयोग गर्दै आएको छ । नजिकै पुग्दा गन्धको महसुस भएपनि वरिपरि बस्ने नहुँदै गरि दुर्गन्ध नफैलिनुमा प्रविधिको उच्चतम प्रयोग हो ।
कम्पनीमा अहिले तीनसय ५० को हाराहारीमा कर्मचारी, कामदारहरु कार्यरत छन् । बढ्दो लागतलाई कम गर्ने र वातावरण संरक्षणका लागि कम्पनीले डिजलको सट्टा सिएनजी ग्याँसको प्रयोग गर्न सुरु गरेको छ । कम्पनीसँग रहेका एकसय ६५ वटा फोहोर संकलन गर्ने ट्रकहरु मध्य अधिकांश सिएनजी ग्याँसबाट चल्ने खालका छन् ।
कागज, कार्डबोर्ड, सिसा, फलाम, बोतल, क्यान अलग बनाइसकेपछि त्यसलाई पेलेर प्यालेट आकारमा ढाल्छ । जसलाई पुनः प्रयोगका लागि संबन्धित ठाउँमा पुनः प्रशोधनका लागि बेच्दै आएको छ ।
कम्पनीसँग ज्यादै ठूलो क्षेत्रफलको एरिया छैन । ८ एकड जग्गामा प्लान्ट, ट्रक पार्किंग, मरम्मत केन्द्र लगायत सबै सञ्चालनमा छ । अधिकांश काम मेसिनले गर्ने भएकोले लामो समयसम्म प्लान्टमा स्टक नबस्ने हुँदा दुर्गन्धित हुने अवस्था छैन । घरघरबाट संकलन गर्ने क्रममा कुहिने फोहोर समेत मिसिने कारणले गर्दा लामो समय स्टक राख्दा त्यही कुहिएर गन्हाउन सुरु हुन्छ । तर कम्पनीले तत्कालै छुट्टाएर प्रशोधन गर्ने र संबन्धित ठाउँमा तह लगाउने विधिले गर्दा वातावरण दुर्गन्धित, प्रदुषित हुन पाउँदैन ।
वातावरणलाई समेत ख्याल गर्दै सिडब्लुडी कम्पनीले अपनाएको विधि साँच्चै उल्लेखनीय देखियो भ्रमणपछि सिटी काउन्सिल सदस्य टीका पौडेल भन्दै हुनुहुन्थ्यो । यस्तो खालको प्रविधि नेपालमा समेत राम्रो संभावनाको व्यबसाय हुनसक्छ । तर मुख्य कुरा कुहिने र नकुहिने फोहोर छुट्याएर राख्नका लागि जनचेतना हुन जरुरी छ । सानो क्षेत्रफलमा समेत प्रशोधनशाला बनाएर फोहोरलाई मोहोर बनाउने प्रविधि नेपाललाई निकै उपलव्धिमुलक हुनसक्छ । तर लामो समयसम्म फोहोर नउठाउने, प्रशोधनशालामा लगेर थन्क्याउने कार्य गर्दा लागत बढ्ने, दुर्गन्ध थपिने हुँदा छिटो गतिमा गर्नुपर्ने भने हुन्छ ।
नकुहिने फोहोर संकलन गरेर, प्रशोधन गरेर यो कम्पनीले गत सन् २०२२ मा १० करोड ४० लाख डलरको कारोवार गरेको थियो । कर्मचारी, कामदारलाई सुविधा र नाफाको हिस्सा समेत वितरण गर्दै आएको छ । जसले गर्दा बर्षौदेखि कर्मचारीहरु कम्पनीमा लगाव साथ कार्यरत हुँदै आएका छन् ।
प्रतिक्रिया