मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मानव तस्करीलगायत श्रमिकका सबै समस्या समाधान गर्न पहल गर्छु : श्रम तथा रोजगारमन्त्री अर्याल

मानव तस्करीलगायत श्रमिकका सबै समस्या समाधान गर्न पहल गर्छु : श्रम तथा रोजगारमन्त्री अर्याल

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याललाई वैदेशिक रोजगारीको बहानामा पछिल्लो समय युरोपेली देशहरुमा बढ्दै गएको मानव तस्करी अन्त्य गर्न तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन् ।

संघका प्रतिनिधिहरुले मन्त्री अर्याललाई टर्की, पूर्वी यूरोपका बुलगेरिया, क्रोएसिया, हंगेरी, रोमानिया,स्लोभाकिया लगायतका मुलुकमा बढ्दो मानव तस्करीबारे जानकारी गराउँदै त्यसलाई रोक्न तत्काल पहल नगरे भयावह समस्या निम्तनेतर्फ ध्यानाकर्षण गराएका हुन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा संघकी कार्यकारी अध्यक्ष रबिना थापासहित संघका दुई अध्यक्षद्वय डा बद्री केसी र कुल आचार्यले विभिन्न प्रलोभन देखाएका नेपालका श्रमिकलाई बिना कुनै सीप र अभिमुखीकरण यूरोप पुर्याउने आश्वासनमा मानव तस्करी बढीरहेकोले नेपाल सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

अध्यक्षत्रयले टर्कीमा पछिल्लो समय नेपालीले नेपालीलाई नै फिरौतीका लागि अपहरण गर्ने, ज्यान मार्ने धम्की दिने र डराउने लगायतका आपराधिक गतिविधिसमेत गरिरहेको भन्दै त्यसतर्फ नेपाल सरकारले ध्यान दिई तत्काल प्रक्रियागत रुपमा समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

अवैधानिक रुपमा युरोप छिर्न खोज्दा कयौँ नेपालीको ज्यान जाने गरेको जानकारी गराउँदै अध्यक्षत्रयले संयुक्त रुपमा समस्याग्रस्त देशमा सरकारको उपस्थिति र त्यहाँको सरकारसँग संवाद अघि बढाउन आग्रह गरे । टर्की लगायतका कतिपय देशमा राजदूतास र कन्सुलर सेवासमेत नहुँदा त्यहाँका नेपालीहरुले ठूलो समस्या भोग्नुपरेकोले त्यसबारे पनि अध्यक्षत्रयले मन्त्री अर्याललाई जानकारी गराए ।

गैरआवासीय नेपाली संघले लामो समयदेखि पहल गरिरहेका सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएकोप्रति खुशी व्यक्त गर्दै उक्त कोषमा विदेशमा रहेका सबै श्रमिकलाई आबद्ध गराउन सरकारले थप योजना बनाउनुपर्ने र कोषमा सरकारको तर्फबाट पनि आर्थिक योगदान हुनुपर्नेमा संघले जोड दिएको छ ।

यस्तै, रेमिट्यान्टस्लाई वैधानिक मार्गबाट ल्याउन प्रोत्साहन गर्नुपर्ने, विदेशमा विभिन्न कारण ज्यान गुमाएका नेपालीको शव व्यवस्थापनमा ध्यान दिनुपर्ने, विदेशबाट फर्किएकालाई स्वरोजगार कार्यक्रम र पुनः एकीकरण गर्नेपर्नेलगायतका विषयमा उनीहरुले संयुक्तरुपमा मन्त्री अर्यालमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघका उपाध्यक्ष राजेन्द्रकुमार शर्माले मध्यपूर्वमा रोजगारीमा जाने नेपाली श्रमिकहरु सधैँ सरकारको उपेक्षामा पर्ने गरेको भन्दै उनीहरुलाई सीपमूलक तालिमसहित गन्तव्य मुलुकको कानुन, भाषा र त्यहाँका पालना गर्नुपर्ने न्यूनतम नीति नियमका सम्बन्धमा सचेत बनाउन मात्रै विदेश पठाउनुपर्ने भन्दै मन्त्री अर्यालको ध्यानाकर्षण गराए ।

यस्तै, विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक रुपमा बैंकिङ च्यानलमार्फत ल्याउन श्रम मन्त्रालयले अन्तरमन्त्रालयगत सहकार्य र समन्वय गर्नुपर्ने, गन्तव्य मुलुकमा रहेका एनआरएनएका प्रतिनिधिहरुसँग सहकार्य गरी सचेतनामुलुक कार्यक्रम गर्नुपर्नेमा उपाध्यक्ष शर्माले जोड दिए ।

जवाफमा मन्त्री अर्यालले मानव तस्करीको जालो पन्छाउन नेपाल सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि अध्ययन आवश्यक भएकोले पहिले अध्ययन गर्ने र अन्तरमन्त्रालयगत रुपमा सहकार्य र समन्वय गरेर अघि बढ्ने मन्त्री अर्यालको भनाइ थियो । उनले भने, “तपाईंहरुले भनेको सबै विषयमा अध्ययन र अन्तरमन्त्रालयगत सहकार्य र समन्वयबाट छिट्टै मानव तस्करी लगायत श्रमिकका सबै समस्या समाधान गर्न पहल गर्छु ।”

अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौँ नेपाली श्रमिकहरुको समस्याबारे आफू जानकार रहेको र लामो समय विदेशमा रहँदा उनीहरुका समस्यालाई प्रत्यक्ष रुपमा देखेको, भोगेको भएकोले पनि उनीहरुको हक हितका लागि आफू प्रतिबद्ध रहेको उनले बताए ।

उनले भने, “म पनि श्रमिक नै हुँ, श्रमिककै आवाज बोल्न र उहाँहरुकै काम गर्न यहाँ आएको हुँ, मैले आफ्नो र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै काम गर्न म प्रतिबद्ध छु ।”