ड्यालस (अमेरिका) । संयुक्त राज्य अमेरिकाको संसदको तल्लो सदन हाउसको ५५ अाैँ सभामुखमा केभिन मकार्थी चुनिएका छन् । ५७ बर्षिय मकार्थी क्यालिफोर्नियाको ट्वेन्टी थर्ड डिस्ट्रिक्टबाट हाउसमा निर्वाचित भएका हुन् ।
रिपब्लिकन पार्टीको आन्तरिक द्वन्द्वका कारण सभामुखका लागि १४ पटकसम्म भएको चुनावमा उनी चुनिन सकेनन् । तीन दिनसम्म लगातार भएको चुनावमा कसैले पनि हाउसको बहुमत सिद्ध गर्न सकेनन् । अन्ततः शुक्रबार मध्यरातमा भएको चुनावमा असन्तुष्ट रिपब्लिकनहरुसँग सम्झौता गरेपछि उनी सभामुखमा निर्वाचित भएका छन् ।
बेकर्सफिल्ड क्यालिफोर्नियाका मकार्थी सन् २०१३ देखि लगातार आफ्नो क्षेत्रबाट सांसद छन् । फायरफाइटरका रुपमा लामो समय काम गरेका मकार्थीको राजनीतिमा प्रवेश भने सन् २००६ मा क्यालिफोर्निया राज्यको सांसदका रुपमा सुरु भएको हो ।
सभामुखका रुपमा आउँदो दुई वर्ष मकार्थीका लागि निकै चुनौतिपूर्ण हुने देखिएको छ । बाहिरी संसारमा अमेरिकाले लामो समय लगाएर आर्जन गरेको ‘कानुन र न्यायको देश’को पहिचानलाई मकार्थी नेतृत्वको हाउसले कसरी अंगीकार गर्छ भन्ने विषयमा निकै गहिरोसँग हेरिएको छ । विशेषगरि सन् २०२१ जनवरी ६ मा अमेरिकी संसदमा डोनाल्ड ट्रम्पको उक्साहटमा भएको आक्रमणपछि ट्रम्प दण्डको भागिदार हुनुपर्छ भन्ने पक्षमा बलियो जनमत छ । रिपब्लिकन पार्टीभित्रै एउटा व्यक्तिको लागि सिस्टम र पार्टी बलिको बोको हुनु हुँदैन भन्ने पक्षमा आवाज छ ।
तर रिपब्लिकन पार्टी भित्रका ट्रम्पका अन्धभक्तहरु भने त्यो घटनालाई झ्यासमिस पार्ने दाउमा छन् । सभामुखका लागि १४ पटकसम्म चुनाव हुनुको कारण यो पनि दियो । ट्रम्पलाई दण्ड दिने पक्षमा सभामुख कसरी प्रस्तुत हुन्छन् ? भन्ने विषयमा निकै चासो छ ।
अमेरिकामा सभामुख पद तेस्रो ठूलो पद हो । राष्ट्रपति र उपराष्ट्रपति पछि वरियताक्रममा सभामुख तेस्रो पद हो । कथंकदाचित राष्ट्रपति र उपराष्ट्रपति दुबै नहुँदा सभामुखले राष्ट्रपतिको रुपमा काम गर्ने प्रावधान संविधानत व्यवस्था गरिएको छ ।












प्रतिक्रिया