ड्यालस (अमेरिका) – अमेरिकाको नेपाली दूतावासको झण्डै दुई लाख डलर बराबरको मनी अर्डर र क्यासिएर चेक चोरी भएको छ ।
दूतावासले टेक्ससका तीन शहरहरुमा सञ्चालन गरेको घुम्ती शिविरमा सेवाग्राहीले बुझाएको राजश्व वापतको उक्त रकम चोरी भएको छ । टेक्ससको ड्यालस, अस्टिन र ह्युस्टनमा यसै हप्ता घुम्ती शिविर सञ्चालन भएका थिए ।
ती शिविरमा राहदानी नविकरण, गैर आवासीय नेपाली (एनआरएन) कार्ड लगायतका सेवा प्रदान गरिएको थियो । राहदानी नविकरण र एनआरएन कार्डका लागि तीन वटा शहरबाट नौ सय भन्दा बढीको आवेदन परेको छ ।

उक्त सेवा प्रदान गरे वापत सेवाग्राही नेपालीहरुले बुझाएको दुईलाख डलर भन्दा बढीको रकम विहीबार ह्युस्टनमा चोरी भएको हो । डिसी फर्किनु अघि खाना खान होटलमा जाने क्रममा दूतावासका कर्मचारीहरुले मनी अर्डर, क्यासिएर चेक रहेको झोला गाडीमै राखेका थिए । पार्किङलटमा रहेको गाडीको सिसा फुटाएर उक्त व्याग चोरी भएको जानकारी एनआरएन टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापाले दिएका छन् ।
‘यसको सबै जानकारी ह्युस्टन पुलिसमा दिइसकिएको छ । पुलिस डिपार्टमेन्टले पनि अनुसन्धान सुरु गरिसकेको छ’ उनले बताए । कति रकम बराबरको मनी अर्डर चोरी भयो भन्ने बारेमा एकीन भैसकेको भने छैन । सेवाग्रहीको संख्याका आधारमा सजिलै पत्ता लगाउन सकिन्छ ।
दूतावासले यस घटनाको सम्बन्धमा विज्ञप्ती जारी गर्दै सेवाग्राहीहरुलाई पहिले जारी गरेको मनी अर्डर र क्यासिएर चेकको अर्धकट्टी लिएर त्यसलाई रद्ध गर्न अनुरोध गरेको छ । तर यो कार्य निकै कठिन र लामो समय लाग्ने देखिएको छ ।
यो रकम नेपाल सरकारको कोषमा जाने राजश्व हो । मनी अर्डर हराएपछि अब कसरी अघि बढाउने भन्ने विषयमा समेत दूतावास तनावमा छ ।












प्रतिक्रिया