ड्यालस (अमेरिका) – ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिर सञ्चालन गर्दै आएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) ले चालु बर्ष २०२२ मा ३१ लाख १७ हजार डलरको अनुमानित आयव्यय विवरण पारित गरेको छ ।
आइतबार मन्दिरमा सम्पन्न साधारण सभामा कोषाध्यक्ष शैलेन्द्र मानन्धरले पेश गरेको यो वर्षको आम्दानी खर्चको उक्त विवरणलाई साधारण सभाले पारित गरेको छ । युलेसमा निर्माणाधिन मन्दिरको लागि यो वर्ष १५ लाख ६८ हजार खर्च भएको छ । मन्दिर निर्माणको पहिलो चरण अन्तरगत सिभिल र भवनको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको समेत त्यस अवसरमा जानकारी दिइएको थियो ।
‘आउँदो जनवरी दोस्रो साताभित्र अर्भिङको मन्दिरलाई युलेसमा सार्ने योजनामा छौँ’ मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्यालले भने । कोभिड लगायतका कारणले निर्माण सामाग्री समयमा उपलव्ध हुन भएको कठिनाई, ठेकेदारले गरेको ढिलासुस्ती, योजनामा भएको केही संशोधनले गर्दा समयमा मन्दिर निर्माण पुरा गर्न कठिनाई भएको त्यस अवसरमा जानकारी दिईयो ।
‘पहिलो चरणको काम पुरा भएर मन्दिर सर्न अब सरासर काम अघि बढ्ने हो भने एक हप्ता पनि लाग्दैन । तर सबै कुराहरु हाम्रो नियन्त्रणमा पनि हुने रहेनछन् । त्यसले गर्दा नचाहँदा नचाहँदै पनि ढिला भयो’ बोर्ड अफ ट्रष्टीका मनोज सिग्देलले खुलाए । अहिले भवनको ९७ प्रतिशत काम सम्पन्न भैसकेको छ ।
सुरुमा अनुमान गरेभन्दा ९ लाख २६ हजार डलर बढी खर्च लाग्ने देखिएको त्यस अवसरमा जानकारी दिइयो । पहिले बनाएको परियोजनामा थप र सुधार गर्दा ६ लाख ६० हजार डलर लागत बढेको छ भने मुद्रास्फिती, सामानको मूल्यमा भएको वृद्धिले गर्दा २ लाख ६६ हजार बजेट थपिएको छ ।
दोस्रो चरणमा सम्पन्न हुने भनिएका कतिपय कामहरु पनि पहिलो चरणमै भएकोले लागत बढेको जानकारी दिइयो । पहिलो चरणमै ढल निकास, एकसय १२ वटा पार्किङस्पेस लगायतका कार्यहरु, जुन दोस्रो चरणमा गर्ने योजनामा परेका थिए । तिनीहरु समेत पुरा हुने चरणमा छन् ।
पहिलो चरणमा मन्दिर लगायत हलहरु, कक्षाकोठाहरु, ठूलो क्याफ्टेरिया, बिभिन्न कार्यालयका लागि कोठाहरु, स्टोररुम निर्माण सम्पन्न हुनेछन् । दोस्रो चरणमा बौद्ध स्तुपा लगायतका पार्क रहेका छन् । पहिलो चरण निर्माण पुरा भएर मन्दिर सरेपछि दोस्रो चरणमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा केन्द्रका महासचिव छबीमणि चापागाईले प्रगति विवरण प्रस्तुत गर्दै आगामी वर्षहरुमा गरिने कार्यक्रमको खाका प्रस्तुत गरेका थिए । तिथी चाडपर्बका सम्बन्धमा देखिएको मनोमालिन्यतालाई हटाउन तीन महिनाभित्र विज्ञहरु, सरोकारवालाहरुको छलफल आयोजना गरेर त्यसैको निर्णयका आधारमा अघि बढिने समेत जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष सुरेशचन्द्र पोखरेल, संरक्षक बासुदेव भण्डारी, मकर बज्राचार्य लगायतले मन्दिरको अवस्थामा र आगामी दिनका योजनाका विषयमा धारणा राखेका थिए ।
जनवरीदेखि नयाँ कार्यसमितिः

गत साता सम्पन्न मन्दिरको नयाँ कार्यसमिति र बोर्ड अफ ट्रष्टीको पदभार आउँदो जनवरी १ देखि सुरु हुनेछ ।
मन्दिर कार्यसमितिले पहिलोपटक महिला नेतृत्वको सर्वसम्मत चयन गरेको छ । लामो समयदेखि ड्यालस फोर्टवर्थमा बस्दै सामाजीक सेवामा कृयाशील सीता सापकोटा अध्यक्षमा सर्वसम्मत चयन भएकी छिन् ।
त्यस्तै बोर्ड अफ ट्रष्टीमा निकै सम्मानित व्यक्ति रमेश पोखरेल अध्यक्षमा सर्वसम्मत भएका छन् । उपाध्यक्षमा सामाजीक क्षेत्रमा निकै उच्च छबी बनाएका डा. प्रेम अधिकारी चयन भएका छन् । अर्का उपाध्यक्ष भुवन आचार्य पनि लामो समयदेखि सामाजीक क्षेत्रमा कृयाशील र नेपाली समाज टेक्ससको अध्यक्ष भैसकेका व्यक्ति हुन् ।
नयाँ कार्यसमितिलाई मन्दिर निर्माणको दोस्रो र तेस्रो चरण पुरा गर्ने दायित्व छ । त्यसका लागि थप सदस्यता विस्तार, मन्दिरका गतिविधि विस्तार गर्दै आय आर्जनका स्रोत थप गर्नुपर्ने अवस्था रहेको छ ।












प्रतिक्रिया