काठमाडौँ । नेपालमा शुक्रबार कुल ७४१४ जनाको नमुना परीक्षण गरिएकोमा १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शुक्रबार थप ११ सहित १६७४ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा थप १२७१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ । जुन कुल संक्रमितको ९४.४० प्रतिशत हो ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हालसम्म १८ लाख २० हजार ६१८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५१९ जना र आइसोलेसनमा १२ हजार १४८ जना रहेका छन् ।
प्रतिक्रिया