जेनी घमाल मोडलिङ क्षेत्रमा उदाउँदै गरेको नाम हो । चितवनको रत्ननगर नगरपालिका २ टाँडीबजारमा बसोबास गर्ने उनी हेल्थ असिस्टेन्टका रुपमा भरतपुर अस्पतालमा कार्यरत छिन् । स्वास्थ्य क्षेत्रमा सन्तुष्ट रहेर पनि उनले मोडलिङमा आफ्नो क्यारियर राम्रो देख्छिन् । सानै उमेरदेखि मोडल बन्ने ‘प्यासन’ बोकेकी उनले यो क्षेत्रमा आउन भने थुप्रै पापड बेल्नुप¥यो । मोडलप्रति नेपाली समाज त्यति सकारात्मक नरहेको परिपेक्ष्यमा उनको परिवार पनि निरपेक्ष हुनु अस्वभाविक थिएन । स्वास्थ्य क्षेत्रसँग आवद्ध उनको परिवारको इच्छाले उनी एसएलसीपश्चात् एचए पढिन् । शिक्षित परिवारकी उनले मोडलिङबारे ढिलै गरी परिवारलाई बुझाउन सकिन् । र, एक वर्षअघिदेखि निरन्तर यस क्षेत्रमा लागिपरेकी छन् । मोडल हुनलाई राम्री भएरमात्रै नहुने मान्यता राख्ने र छोटा पहिरन लगाउँदैमा मोडल भइ नहाल्ने उनको ठहर छ । बाप्पा मल्टिमिडिया प्रालिकी अफिसियल मोडल तथा प्रोगाम अफिसरका रुपमा कार्यरत उनी इलाइट नेक्स्ट अप मोडलमार्फत् मोडलिङको तालिमसमेत सञ्चालन गर्दै आएकी छन् । प्रस्तुत छ, हिमालय खबरका नेपाल संयोजक केशव भट्टराईले जेनीसँग गरेको कुराकानी ।
१) मोडलिङ क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
मेरो सानैदेखिको प्यासन हो मोडलिङ । मोडलिङमार्फत् आफूभित्रको कला क्षमता उजागर गर्न पाइने र आफूलाई आफ्नै प्रतिभाका कारण चिनाउन पाइने भएकाले यो क्षेत्रमा आकर्षित भएको हुँ । यद्यपि घरपरिवारले यसमा लामो समय साथ दिनुभएन । उहाँहरुलाई मैले बुझाउन सकिन ।
२) समाजको दृष्टिकोण सकारात्मक नभएकै कारण परिवारले सपोर्ट नगर्नु भएको हो कि ?
मेरो परिवार पनि यही समाजकै हुनुहुन्छ । मोडलिङ क्षेत्रप्रति सकारात्मक बुझाइ नहुँदा लामो समय आफूभित्रको प्यासन माररै बस्नुप¥यो । अझैसम्म मोडलिङ क्षेत्रमा आउने व्यक्तिप्रति समाजको दृष्टिकोण बदलिसकेको छेन ।
३) स्वास्थ्यकर्मी बनेर अस्पताल जानुपर्ने व्यक्ति मोडलिङमा कसरी समय दिन भ्याउनुहुन्छ ?
हेर्नुस् यो समय व्यवस्थापन भन्नेकुरा आफ्नो इच्छाशक्तिमा भर पर्ने विषय हो । भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाय । हस्पिटलमा मेरो ६÷६ घण्टाको रनिङ ड्युटी पर्छ । बाँकी समय आफैँले मिलाउने हो । यसमा मलाई मेरा टिमले सहयोग गर्नुभएको छ । आफ्नो ड्युटीअनुसार बाप्पा मल्टिमिडियामा र इलाइट मोडलमा समय मिलाउँछु । पहिलो कुरा त आफू नै व्यवस्थित हुनुप¥यो । समय आफैँ व्यवस्थापन गर्न सकिन्छ ।
४) मोडलिङ क्षेत्रमा आएपश्चात् के कस्ता अफर आइरहेका छन् ?
म पेसागत मोडलका रुपमा अगाडि बढ्न खोजिरहेकी छु । राम्रा अवसरहरु पनि आइरहेका छन् । केही म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी छु । मुभी, म्युजिक भिडियो, सर्ट फिल्म, टेलिसिरियलमा अफर आइरहेको छ । अफर आउनासाथ त्यसको पछाडि लाग्ने कुरा भएन । सस्तो लोकप्रियताका लागि जस्तोपायो त्यस्तैमा मोडलिङ गरिहाल्ने सोचाइ मेरो छैन । मेरो आफ्नो क्षमताअनुसार आफूलाई सुहाउँदो र समाजमा राम्रो सन्देश दिन सकिने मुभी तथा भिडियोमा मोडलिङ गर्ने रुचि भएकाले पहिलो आफूलाई निखारेर पर्फेक्ट मोडलिङ गर्ने चाहना मेरो छ ।
५) नेपालमा मोडलिङको सम्भावना कस्तो छ ?
मोडलिङको सम्भावना राम्रो छ । तर, मोडलिङप्रति बुझाइ सकारात्मक छैन । चितवन अझै पनि पेसागत मोडलिङमा पडाछि नै रहेको मेरो बुझाइ छ । किनभने, देशको महत्वपूर्ण प्रदेशमा रहेको चितवन सबै विशेषताले पूर्ण जिल्ला हो । तथापि व्यावसायिक मोडलिङका लागि आकर्षित भएजस्तो लाग्दैन । काठमाडौँ, पोखरालगायतमा मोडलिङप्रतिको आकर्षण बढी छ । यो क्षेत्रमा केही गर्न सकिन्छ भन्ने विश्वास र परिवारको बुझाइले गर्दा आकर्षण बढेको हो । मैले अध्ययन गर्दै जाँदा मोडलिङ हाम्रो बुझाइभन्दा बिल्कुलै फरक रहेछ भन्ने लाग्यो । यस क्षेत्रलाई कतिपयले अत्यन्त फितलो र सतही ढंगले बुझिदिन्छन् । त्यसरी बुझ्नुहुँदैन । मोडलिङ पेसालाई कस्तो बनाउने भन्ने स्वयं मोडलमा निर्भर हुने विषय हो । आजको रंगमञ्चमा मोडलिङको सम्भावना अझै बढेर गएको मलाई लाग्छ ।
६) कसरी भइँदो रहेछ त व्यावसायिक मोडल ?
एउटा व्यावसायिक मोडलका लागि थुप्रै गुण हुनुपर्छ । सर्वप्रथम त सकारात्मक सोच हुनुपर्छ । मैले गर्न लागेको पेसा सम्मानजनक छ भन्ने अनुभूति हुनुपर्छ । ज्ञान हुनुपर्छ अर्थात् अधिक विषयमा जानकार हुनुपर्छ एउटा व्यावसायिक मोडल । त्यसका लागि वेल एजुकेटेड हुनैपर्छ । हामीकहाँ कम पढेका वा नपढेकाले पनि मोडलिङ गर्न सक्छन् भनिन्छ । विविध विषयमा ज्ञान नभइकन, अध्ययन नगरीकन राम्रो अभिनय गर्न सकिन्न । नाचेरमात्रै मोडल भइँदैन भन्ने कुरा मनन गर्नुपर्छ ।
अर्को कुरा, एटिच्यूड राम्रो हुनुपर्छ । यसले मोडलबारे सकारात्मक या नकारात्मक कस्तो धारणा विकास गर्ने भन्ने कुरा निर्धारण गर्छ । मोडलिङ एउटा कला हो । कलाका लागि राम्रो प्रस्तुति दिन सक्नुपर्छ । सरल, मिजासिलो, हँसिलो, प्रभाव पार्न सक्ने एटिच्यूड हुनुपर्छ । आफैँले आफ्नो प्रशंसा गर्ने खालको होइन । अरुले प्रसंसा गर्नलायक बन्नुपर्छ ।
व्यक्तित्व अर्थात् पर्सनालिटी मोडलिङमा नभइ नहुने गुण हो । यसमा इनर व्यूटी, ब्रेन र ब्युटी लुकेको हुन्छ । प्रतिभा नभएको व्यक्ति मोडल बन्न सक्दैन । यसमा आफ्नो बुद्धिको पनि प्रयोग गर्नुपर्छ । काम गर्दा ढंग पुगेन भने काम बिग्रिन्छ । त्यसैले बुद्धिको समुचित प्रयोग गरेर आफ्नो प्रतिभा उजागर गर्नुपर्छ । पर्सनालिटीले मान्छेलाई एक्ट्रा देखाउँछ । अरुभन्दा एक्ट्रा देखिनु वा देखाइनु नै मोडल बन्नु हो । जस्तो कि, एकसय जनामध्ये कोही फरक देखिनुपर्छ । सय जनामा प्वाइन्टआउट भइयो भने, छुट्टै देखियो भने बल्ल मोडल हुन सकिन्छ । सयमा उस्तै देखियो र छुट्टिन सकिएन भने व्यूटी भइएला तथा मोडल भइँदैन । त्यसैले ज्ञान, प्रस्तुति र व्यक्तित्व भएमा मात्रै व्यावसायिक मोडल हुन सकिन्छ ।
७) तपाईं आफैँ मोडल र प्रशिक्षक पनि हुनुहुन्छ, प्रशिक्षार्थीका अभिभावकलाई कसरी आकर्षित गर्न सक्नुभयो ?
मैले प्रतिक्षार्थीका अभिभावकलाई आकर्षित गर्न सक्दिनँ । मैले मेरै परिवारलाइृ समेत बुझाउन निकै पर्यत्न गर्नुप¥यो । यस क्षेत्रमा करकाप गरेर काम छैन । मैले हेल्थ फिल्डमा बिरामीका अभिभावकलाई राम्रो काउन्सिल गर्न गक्छु । बुझाउन सक्छु । यसो गर्नैपर्छ भनेर बाध्य पार्न सक्छु । तर, यो मोडलिङ क्षेत्रमा व्यक्ति आफैँ मेन्टल्ली स्ट्रङ हुनुपर्छ । अभिभावकलाई गाइड गर्दा कतिपयले राम्रो रुपमा लिनुहुन्छ । नकारात्मक धारणा बनाएकालाई सकारात्मक बनाउन निकै कठिन कुरा हो । मेरो व्यवसायमात्रै ठूलो कुरा होइन । व्यावसायिकताका लागि जसरी पनि बाध्य पार्ने भन्ने कुरा भएन ।
८) मोडलिङ पेसा व्यवस्थित र मर्यादित छैन । यसमा के सुधारको अपेक्षा राख्नुहुन्छ ?
मेरो बुझाइ पनि यही नै हो । सर्वप्रथम त यो पेसा सम्मान गर्न लायक हुनुपर्छ । केही मोडलका कारण समग्र मोडलिङ क्षेत्रमाथि नै नकारात्मक धारणा उत्पन्न भइरहेको छ । जस्तोपायो उस्तै भिडियो, सर्टफिल्म खेल्ने र अवसरका लागि जस्तोसुकै सम्झौता गर्ने प्रवृत्तिले यो क्षेत्र व्यवस्थित र मर्यादित बन्न नसकेको हो । त्यसैकारण मोडल संख्यामा होइन, गुणात्मकतामा ध्यान दिनुपर्छ । ट्यालेन्टलाई प्राथमिकता दिने र एक्सपोज गर्नेलाई निरुत्साहित गर्नुपर्छ । मोडलिङमा पनि असल र खराब पक्ष हुन्छन् । समस्या हरेक क्षेत्रमा छ । सबै कुराले भरिपूर्ण र परिपूर्ण क्षेत्र त हुँदैन । खराब कुरालाई हटाउँदै राम्रा कुरालाई प्राथमिकता दिएर मोडलिङ क्षेत्रमा सुधार ल्याउन सकिन्छ ।
प्रतिक्रिया