गोर्खा ताक्लुङको सर्वशान्ति माविमा पढ्दापढ्दै प्रेममा परेकी शोभा श्रेष्ठ एसएससी पास गरेलगत्तै शिक्षक रघुनाथ खनालसँग ०५३ सालमा बिहे गरिन् ।
रघुनाथसँग वैवाहिक जीवन सुरुवातसँगै दुई सन्तान जन्मिए । ०५४ सालमा रसोक र ०५७ सालमा रेसिका जन्मिएको खुशी साँट्दासाँट्दै यी दम्पतीको जीवन यात्राले सोचेजस्तो गति लिन सकेन । जीवनका सपना सजाउन नपाउँदै रघुनाथको ०६० माघ ८ गते निधन भयो ।
खाउँखाउँ र लाउँलाउँ उमेरकी शोभाको जीवनमा ठूलो बज्रपात आइप¥यो । तर, जीवन संघर्ष हो भन्ने बुझेकी शोभाले शोकलाई शक्तिमा बदल्न आफ्ना लालाबाला बोकेर ०६१ वैशाख ८ गते गोर्खाबाट चितवनको जयमंगलामा बसाइँ सरिन् ।
रत्ननगर–१३ स्थित जगमंगलामा उनको केही जग्गाजमिन भए पनि आयआर्जनको विकल्प नहुँदा सन्तानको पालनपोषण र पठनपाठनका लागि उनलाई पर्नुसम्मको आपत् प¥यो । एकातिर श्रीमान् गुमाउँदाको पीडा र अर्कोतिर बच्चाहरुलाई हुर्काउने सकसले शोभाका आँखा ओभानो भएनन् ।
उनी संघर्षको कथा सुनाउँदै भन्छिन्, “बाबु सात वर्षको र नानी चार वर्षको हुँदा जागिरका लागि धेरै दौडधूप र भनसुन गरेँ । धेरै पर्यत्नपछि चेपाङ बालबालिका अध्ययन गर्ने नवोदय स्कुलमा जागिर पाएँ । त्यहाँ सात वर्षसम्म बिहान स्कुल र दिउँसो होस्टलमा पढाएँ ।”
उनी नवोदय स्कूलका संस्थापक समाजसेवी माइकल फादरले लगाएको गुन कहिल्यै भुल्दिनन् । भन्छिन्, “उहाँले मेरो दुःख बुझेर स्कुल छाडेपछि पनि एक वर्षसम्म पारिश्रमिकको व्यवस्था गरिदिनुभयो । घर बनाउँदा ५० हजार रुपैयाँ र छोराछोरी भर्ना गर्दा ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेर उपकार गर्नुभयो ।”
श्रीमान् साथमा नरहे पनि उनको इच्छा पूरा गर्न सकेकोमा उनी सन्तुष्ट छिन् । उनी भन्छिन्, “उहाँको बोर्डिङ स्कुलबाटै छोराछोरीलाई एसएलसी उत्तीर्ण गराउने चाहना थियो । त्यो इच्छा मैले पूरा गरेँ ।”
उनका छोरा रसिकले शिक्षा विकास आवासीय मावि, रत्ननगरबाट ८४ प्रतिशत अंक ल्याएर स्कुल फस्ट भए । छोरी रेसिकाले पनि डिस्टिन्सन ल्याएर उत्तीर्ण भइन् । प्लस टुमा पनि दुवैले राम्रो नम्बर ल्याएर उत्तीर्ण गरे । रसोक अहिले पक्लिहवा क्याम्पस, भैरहवामा भेटेरिनरी साइन्स चौथो सेमेस्टरमा पढ्दैछन् । छोरी रेसिका बालकुमारी उच्च माविमा बीआईसीटीई फस्ट सेमेस्टरमा अध्ययन गरिरहेकी छन् ।
छोराछोरीको शैक्षिक सफलताबाट दुःखको अनुभूति नभएको शोभा बताउँछिन् । उनी भन्छिन्, “जतिसुकै दुःख कष्ट सहनुपरे पनि जीवनमा हरेस भने खाइनँ । बाबुनानीलाई बाबाको माया दिएर राखेकी छु । बुबा भएको भए यस्तो हुन्थ्यो भन्ने अनुभूति हुन दिएको छैन ।”
ई–रिक्सा चलाउनुअघिको संघर्ष सुनाउँदै उनी भन्छिन्, “तीन वर्ष गोबर ग्यास कम्पनीमा काम गरेँ । त्यसपछि निरन्तर एक वर्षसम्म कामकै खोजीमा भौँतारिएँ । जागिरको लागि हारगुहार गरेर थाकेपछि ई–रिक्सा चलाउँछु भन्ने आँट गरेँे । त्यसपछि सामूहिक बचतबाट तीन लाख रुपैयाँ ऋण लिएर ई–रिक्सा चलाउन लागेकी हुँ ।”
साइकलसमेत चलाउन नजान्ने उनले आँट गरेरै ०७३ साउनदेखि ई–रिक्सा चलाउन लागेकी हुन् । “के गर्नु खर्च बढ्दै गयो, आयआर्जन नभएपछि केही त गर्नैप¥यो”, उनी थप्छिन्, “समयमै आँट गरिछु भन्ने लाग्छ । अहिले त जागिर पाएको भए पनि घरखर्च र बाबुनानी पढाउन कठिन हुने रहेनछ भन्ने लाग्छ ।”
ई–रिक्साबाट राम्रो आम्दानी हुने उनी बताउँछिन् । भन्छिन् “लगभग किस्ता तिरिसकेँ । मासिक ४५ हजार रुपैयाँ आम्दानी गर्छु । महिलाले चलाएको ई–रिक्सा भनेर दिदीबहिनीहरु खुशी भएर मेरोमै चढ्न खोज्छन् । कामको सम्मान गर्छन् ।” गत दशैँमा मिहिनती उद्यमी महिला भनेर संस्थाबाट सम्मान पाएपछि हौसला थपिएको उनी बताउँछिन् ।
आफैँले नगरी केही हुँदो रहेनछ भन्ने उनले आफ्नै जीवनमा भोगेकी छन् । अनावश्यक भनसुन र दौडधूप गर्नुभन्दा आँट गरेर आफैँले संघर्ष गर्दा जीवन बिताउन सहज हुने उनको अनुभव छ । “मैले ६÷७ महिना एक्लै ई–रिक्सा चलाएकी हुँ । मेरै उत्प्रेरणाबाट अहिले यहाँका चार महिलाले ई–रिक्सा र अटो चलाउन थालेका छन् ।”
जीवन सोचेजस्तो सरल नभए पनि मनमा सजाएका सपनाहरु अवश्य एक दिन पूरा हुने उनको विश्वास छ । भन्छिन्, “कामको सम्मान गर्नुपर्छ, मिहिनत गर्नुपर्छ, मेरा सपनाहरु अवश्य एक दिन पूरा हुनेछ ।”
प्रतिक्रिया