मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

तीस वर्षदेखि सरस्वतीको सडकमै संघर्ष

तीस वर्षदेखि सरस्वतीको सडकमै संघर्ष


चितवन । पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोककी ५० वर्षीया सरस्वती पराजुलीले सडकमा संघर्ष गर्दै आएको ३० वर्ष भयो । तर, उनको कथा–व्यथा तीन दशकको संघर्षभन्दा धेरै गुणा बढी छ । 
 
ठेलामा बदाम बेच्नु उनको दैनिकी हो । एक्लो जिन्दगी, बूढ्यौली शरीर र त्यसमा पनि नियमित प्रेसरको औषधि खानुपर्ने उनी जीवनदेखि भने हरेस खाएकी छैनन् । भन्छिन्, “०४४ सालदेखि बदाम बेच्दै आएकी हुँ, ०७४ सालसम्म पनि बेचिरहेकै छु । बिहे गरेर आएको एक वर्षदेखि नै सडकमै बसेर बदाम बेच्न थालेको हुँ, अझै छाडेकी छैन ।”  
 
उनी भन्छिन्, “अरु केही काम गर्न सक्दिन, खानै प¥यो । यो सिजनमा मात्रै ५८ बोरा बदाम बेचेँ । सबैले माया मानेर खाइदिन्छन् । अरु कतैबाट आय–आम्दानी छैन । चार महिना बदाम बेच्छु, आठ महिना बसेर खान्छु, सापोनापो बराबर ।” 
 
यी वृद्धाको जीवनमा दुःखबाहेक केही हात लागेको छैन । ०४३ सालमा बन्दिपुरबाट बिहे गरेर आएकी उनी श्रीमान् गंगाप्रसादसँग शहीद स्मृति बहुमुखी क्याम्पस अगाडि घुम्तीमा गुजारा गरेर बस्दै आएकी थिइन् । क्याम्पसगेटमै घुम्ती थापेर पराजुली दम्पतीले २१ वर्षसम्म जीवन संघर्ष गरे । 
 
घुम्तीमा सामान्य चमेना, चिया र बदाम बिक्री गरेर उनीहरु खुशीका साथ बाँचिरहेका थिए । तर, नियतिले यी दम्पतीलाई सँगै रहन दिएन । ०६९ जेठ २३ गते बिहान सिमसिम पानी परिरहेको समयमा ६० वर्षीय गंगाप्रसादको शौच गर्न बाटो काट्नेक्रममा गाडीको ठक्करबाट मृत्यु भयो । सडकछेउको घुम्तीमा एक्लै बस्न सरस्वतीलाई निकै सकस भयो । त्यसपछि सुरु भयो ठेलामा बदाम बेच्ने दैनिकी । 
 
उनी भन्छिन्, “आफैँले संघर्ष गरेर बूढालाई दुःख नकटाइकन पालेको थिएँ । भाडा तिरेर पनि बुढाबूढी दुःखसुखले बसेका थियौँ । नियतिले हामीलाई सँगै रहन दिएन । के गर्नु कर्ममा यस्तै लेख्या रै’छ ।” 
 
उनका छोराछोरी कोही छैनन् । ११ सन्तान पाए पनि कोही पनि जीवित रहेनन् । पहाड घर सिन्धुपाञ्चोक भन्नेमात्र सुनेकी छन् । दाजुभाइ खलक भए पनि श्रीमान्को आफ्नै दाजुभाइ भने छैनन् । 
 
उनी भन्छिन्, “रत्ननगरको शिवालय मन्दिरमा माइलाको नाती र ठाइँलाको छोरा आएर बुढाको किरिया बसे । सिन्धुपाल्चोकमा के छ कति छ भन्ने केही थाहा छैन ।” 
 
उनी विगत सम्झँदै भन्छिन्, “चितवनमा जग्गा–जमिन प्रसस्त छ भनेर बुबाले बिहे गरिदिनु भयो । बुढा अर्कैको घरमा काम गरेर बस्ने रहेछन्् । दुःख गरेरै जुटपानीमा एक कट्ठा जग्गा जोडेकी थिएँ, बुढा बितेपछि काजकिरिया गर्दा त्यो पनि बेचेँ । अहिले यही ठेला घिसार्दै बदाम बेचिरहेकी छु ।”
 
अहिले उनलाई भाइबुहारीले हेरचाह गर्दै आएका छन् । उनी रत्ननगर–३, गणेशटोलमा रहेका कान्छा भाइ रामकृष्ण पण्डितको आड–भरोशामा रहँदै आएकी छन् । उनी भन्छिन्, “११ सन्तान जन्माए पनि कर्मले साथ दिएन । अब आफ्नो भन्ने नै भाइबुहारी हुन् । उनीहरुले माया गरेका छन् । पकाएर खान दिएका छन् । सकुञ्जेल त म पनि बदाम बेचेर अलिअलि कमाउँछु ।” 
 
सबैको मायाममताकै कारण बाँच्ने आशा बढेको उनी बताउँछिन् । भन्छिन्, “क्याम्पसका सर, विद्यार्थी सबैले चिन्छन्, बोलाउँछन् । बदाम किनिदिन्छन् । गाडी चढ्दा पनि ठाउँ छाडिदिन्छन् । शान्तिचोक वरपर सबै सहयोगी छन् । सबैले माया गर्छन् । यही उत्साहले नै आजसम्म संघर्ष गर्दैछु ।”