मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

मेरो प्रतिस्पर्धी मैले देखेको छैन : जीतनारायण श्रेष्ठ

मेरो प्रतिस्पर्धी मैले देखेको छैन : जीतनारायण श्रेष्ठ


विसं ०३६ असार ९ गते चितवनको साबिक शक्तिखोर गाविस–६ (हाल कालिका नगरपालिका–९) मा जन्मिएका जीतनारायण श्रेष्ठ नेपाली काँग्रेस चितवनका सभापति हुन् । नेपालकै कान्छो जिल्ला सभापतिका रुपमा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका उनी मंसिर २१ गते हुने निर्वाचनमा चितवनको क्षेत्र नं २ अन्तर्गत प्रदेश ‘क’बाट  निर्वाचनमा होमिएका छन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर(एमए) गरेका श्रेष्ठले कक्षा ९ सम्म चतुर्मुखी मावि शक्तिखोर, एसएलसी नेपाल उच्च मावि रत्ननगर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट आईएस्सी, त्रिचन्द्र कलेज काठमाडौँबाट स्नातक र वीरेन्द्र बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तह पूरा गरेका छन् । 
 
युवा, प्रखर वक्ताका रुपमा चर्चित उनी सानो उमेरदेखि नै राजनीतिमा ठूलो फड्को मार्न सफल नेता हुन् । २०४८ सालबाट राजनीति यात्रा सुरू गरेका उनले नेविसंघ विद्यालय समितिको सचिव हुँदै दुई कार्यकाल नेविसंघ जिल्ला सचिव, दुई कार्यकाल नेविसंघ जिल्ला सभापति हुँदै ०६६ सालदेखि नेपाली काँग्रेसको राजनीति यात्रा सुरू गरेका हुन् । काँग्रेस चितवनको कार्यसमिति सदस्य, ०६९ सालमा चितवनको सचिव हुँदै ०७२ सालमा चितवनको पार्टी सभापति भए । आदर्श र मूल्य–मान्यतालाई प्राथमिकतामा राख्दै राजनीतिक उचाई हासिल गर्दै आएका उनी आफ्नो राजनीतिक यात्राको श्रेय स्व हजुरबुबा हर्कबहादुर श्रेष्ठलाई दिन चाहन्छन् । 
 
आफू निर्वाचित भए यस क्षेत्रको आर्थिक समृद्धिसँगै पहाडी क्षेत्रमा विकासको मुल फुटाउने उद्घोष उनले गरेका छन् । बाल्यकालदेखि नै सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका उनी २१ वर्षको उमेरमै नेपाल रेडक्रस सोसाइटी उपशाखा शक्तिखोरको संस्थापक सभापति, जिल्ला शाखाको कार्यसमितिमा रही अनुभव हासिल गरिसकेका छन् । शक्तिखोरको नामाकरणसमेत आफ्नो हजुरबुबाले गरेको बताउने श्रेष्ठ आफ्नो विजयले पहाडी क्षेत्रको मुहार फेरिने बताउँछन् । आफूलाई पार्टीले मुख्यमन्त्री मन्त्रीको जिम्मेवारी दिए त्यो पूरा गर्न सक्ने दाबी पनि उनको छ । 
 
हाल आफ्नो निर्वाचन क्षेत्रमा चुनावी घरदैलो, मतदाता भेटघाट र कोणसभामा अत्यन्त व्यस्त रहेका उम्मेदवार श्रेष्ठसँग हिमालय खबरका नेपाल संयोजक केशव भट्टराईले आसन्न निर्वाचनको सेरोफेरोमा गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ । 
 
१) असाध्यै दौडधूपमा रहनुभएको छ, तपाईंको उम्मेदवारी के का लागि ?
 
–म चितवनको पहाडी क्षेत्रकै एक वासिन्दा हुँ । यहाँका यावत समस्याबारे म जानकार छु । मलाई पहाडमा कसरी विकास गरेर जिल्लाको सदरमुकामसम्म जोड्नुपर्छ भन्ने राम्रोसँग जानकारी छ । मैले यस क्षेत्रको विकाससँगै जिल्लाको सदरमुकामसँग जोड्न सहज बनाउनु मेरो मुख्य जिम्मेवारी हुनेछ । पहाडी क्षेत्रलाई विकाससँगै समृद्ध बनाउनु छ र यस क्षेत्रका वासिन्दाहरुको आर्थिक, सामाजिक तथा शैक्षिक जीवनस्तर उच्च बनाउनु छ । यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै यहाँको जनताको स्तरोन्नति गर्नुछ । जसले गर्दा उनीहरुको जीवनशैलीमा परिवर्तन आउने विश्वास लिएको छु । 
 
यस क्षेत्रमा अहिले पनि एकछाक टार्न गाह्रो हुने घरपरिवार थुप्रै छन् । पहाडी क्षेत्रमा त्यो वर्गलाई माथि उठाउनु छ । अनि भरतपुरको नारायणगढबजार पनि मेरै क्षेत्रमा पर्दछ । यसलाई व्यवस्थित र सुन्दर सहर बनाउनु मेरो मुख्य प्राथमिकता हुनेछ । पार्टीको नेतृत्वमा रहँदा मलाई जानकारी भएसम्म हरेक समस्यासँग जुध्दै आफ्नो क्षेत्रलाई आर्थिक रुपबाट समृृद्ध बनाउँदै सुव्यवस्थित विकास निर्माण गर्नका लागि मेरो उम्मेदवारी हो । 
 
२) मतदातासमक्ष के कस्ता प्रतिबद्धता व्यक्त गर्नुभएको छ ? 
 
–साबिकको जुटपानी, शक्तिखोर, पदमपुर, जुन अहिले कालिका नगरपालिकाअन्तर्गत पर्दछ । त्यसैगरी ईच्छाकामना गाउँपालिका सिद्धि, काउले, चण्डीभञ्याङ, दाहाखानी र दारेचोक पर्दछ । यसका साथै भरतपुर वडा नं १, ३ र २९ पनि यसै क्षेत्रमा पर्दछ । विशेषतः त्यहाँ मेरो परिवार, मेरो बुबा राजनीतिक यात्रामा लाग्दा हिजोको शक्तिखोरलाई आजको शक्तिखोर बनाउन मेरो बुबाको योगदान महत्वपूर्ण छ । त्यतिमात्र होइन, पहाडी संरचना र नगरपालिकाको सन्दर्भमा म कुनै अपरिचित अनुहार पनि होइन । त्यहाँको हरेक सदस्यहरुको अफ्ठ्याराहरु, स्थानीय दाजुभाइ, दिदीबहिनीहरुको पीडासँग म जानकार छु ।
 
त्यहाँको चेपाङका समस्या, गुरूङका समस्या, त्यहाँका एक वर्ष नै खान नपुग्ने परिवारको समस्या पनि मलाई थाहा छ । त्यतिमात्र नभएर चितवनको समृद्ध मानिने नारायणगढबजार पनि मेरै प्रदेशअन्तर्गत पर्दछ । त्यस्तै चितवनकै अतिविकट मानिने सिद्धि, दारेचोक, चण्डीभञ्याङ, दाहाखानी, काउलेको पीडा पनि मलाई थाहा छ । बजारलाई व्यवस्थित गर्नुपर्ने, सहरको स्तरोन्नति गर्नुपर्ने, यहाँका समस्याहरुको समाधान गर्नुपर्ने कुरा पनि मलाई थाहा छ । ती सबै समस्यासँग जानकार हुनुको नाताले यहाँको विकास कसरी गर्नुपर्छ भन्ने कुरा मैले राम्रोसँग बुझेको छु । 
 
मैले आफ्नो राजनीतिक जीवनमा आफ्नो हैसियतले भ्याएसम्म विगतदेखि नै काम गर्दै आएको छु । मैले चितवनको समृद्धि र उन्नतिको अभियानमा मेरो यो २२ वर्षे राजनीतिक यात्रामा धेरै प्रयास र दुःख गरेको छु । त्यो कुरा यो सबै मेरो प्रदेशअन्तर्गत सम्पूर्ण दाजुभाइ, दिदीबहिनीले बुझ्नुपर्छ । त्यसैले त्यहाँका समस्याहरु नजिकबाट पहिचान गरेको नाताले त्यहाँका समस्याहरुलाई म भोलिका दिनहरुमा समधान गर्ने अठोट बोकेको छु । 
 
जिल्लाको समग्र विकासको खाका तयार पर्ने अवस्थाबाट अहिले मलाई पार्टीले एउटा प्रदेशसभाका लागि जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारी पूरा गर्दै पहाडी क्षेत्रमा विकासको मुल फुटाउनु र नारायणगढबजारलाई व्यवस्थित बनाउनु मेरो जिम्मेवारी हो । पहिला पार्टी सभापति हुँदा जति गरेँ त्यो अझै जिम्मेवारी बढ्दै गएको महसुस गरेको छु । जिल्लालाई वित्तीय राजधानीको रुपमा विकास गर्न कुनै कसर काँग्रेसका उम्मेदवारहरुले बाँकी राख्ने छैनन् । काँग्रेसले जारी गरेको संविधान कार्यान्वयन गर्दै समुन्नत जिल्लाको रुपमा विकास गर्ने योजना मेरो छ । 
 
३) यस्तै प्रतिबद्धता त अन्य उम्मेदवारले पनि उठाउँदै आएका छन् नि ?
 
–अठोटभन्दा पनि जिम्मेवारी पाउँदा पूरा ग¥यो कि गरेन, त्यो कुरा महत्वपूर्ण हो । म काँग्रेस चितवनको पार्टी सभापतिको हैसियतले आफ्नो क्षमता र योग्यताले भ्याएसम्म यहाँको उन्नति र समृद्धिका लागि पहल गदै आएको छु । जस्तै, महाभूकम्पको भोलिपल्ट म काउले पुगेर त्यहाँका चेपाङ, गुरूङ, आदिवासी, जनजाति र पीडितका लागि राहत राहत लिएर पुगेको थिएँ । त्यहाँका हरेक अफ्ठ्यारोसँग म जोडिँदै आएको छु । 
 
४) तपाईंले आफ्नो उम्मेदवारीलाई कत्तिको चुनौती ठान्नुभएको छ ? 
 
–चुनाव भनेकै प्रतिस्पर्धाको खेल हो । मतदाता कसैका पेवा होइनन् र कुनै पनि क्षेत्र यसको उसको भनेर परिभाषित गर्नु उचित पनि हुँदैन । यो क्षेत्रको आधाजसो क्षेत्रमा नेपाली काँग्रेसले जितेको छ । स्थानीय तह निर्वाचनमा इच्छाकामना गाउँपालिका काँग्रेसले नै जितेको हो । हामी कालिका नगरपालिकामा थोरैमात्र मतअन्तरले पराजित भएका हौँ । भरतपुरको २९ नं वडामा झिनो मतले पछाडी रह्यौँ । १ र ३ जितेकै अवस्था छ ।
 
त्यसैले मैले आफ्नो उम्मेदवारीलाई खासै चुनौतीका रुपमा लिएको छैन । हामी सांगठनिक रुपमा कमजोर छैनौँ । साथीहरुको भावना र एकता छ । त्यतिमात्रै होइन, अहिलेको निर्वाचनमा काँग्रेसभित्र बलियो एकता देखिएको छ । त्यो नै हाम्रो जित्ने पहिलो आधार हो । फेरि जनताले स्थानीय चुनावमा भोट हालेका व्यक्तिलाई नै अहिले पनि भोट हाल्छन् भन्ने ग्यारेन्टी छैन । जनताको मन कसले जित्न सक्छ भन्ने कुरा मतदाताले राम्रोसँग बुझेकाले मेरो उम्मेदवारीप्रति कुनै प्रतिस्पर्धा र चुनौती देखेको छैन । 
 
५) सबैभन्दा कान्छो उम्मेदवार हुनुहुन्छ, त्यसैले बढी उत्साही हुनुभएको हो कि ?
 
–पहिलो कुरा त म उमेरले कान्छो हुँला ! तर जुन अवसर पाएँ यो स्वाभाविक रुपमा नेपाली काँग्रेस चितवनको मात्र होइन, यो देशभरिकै नेपाली काँग्रेसको कान्छो पार्टी सभापति हुनुको नाताले पनि उत्साह हुनु अन्यथा होइन । म एउटा जिम्मेवार पार्टीको मुलुकको सबैभन्दा पुरानो, लोकतान्त्रिक र ठूलो पार्टीको जिल्ला सभापति हुनुको नाताले जुन मेरो प्रदेशसभाका लागि उम्मेदवारी छ, युवा हुनुको नाताले युवाहरुले मसँग अपेक्षा गर्ने, एउटा निकटता राख्ने कुरा स्वभाविक छ । म ठूलो महत्वकांक्षा राखेर मन्त्री हुन्छु, प्रधानमन्त्री हुन्छु भनेर राजनीतिमा लागेको होइन । 
 
म एउटा लोकतान्त्रिक संस्कार भएको परिवारमा हुर्किएको नाताले काँग्रेस भएँ । जुन दिनमा काँग्रेस बुझेँ, सही पार्टीमा लागेको रहेछु, राम्रो पार्टीमा लागेको रहेछु भन्ने आत्मबोध भयो । यो मुलुकमा प्रजातन्त्र रहनुपर्छ र लोकतन्त्र स्थापित र सुदृढ हुनुपर्छ । हरेक जनताले आफूले चाहेको शासन व्यवस्था, पेशा, आफूले चाहेको धर्मसंस्कृतिमा रम्न पाउनुपर्छ भन्ने सोच राखेर हिँडेको युवा नागरिक हुनुका कारण स्वभाविक रुपमा हरेक नागरिकले पाउने अवसरमा कुनै अवसर आउँदा त्यो अवसरबाट म पछाडी हट्नुपर्छ भन्ने कुरा होइन । जुन एउटा नागरिकले नैसर्गिक अधिकार प्राप्त गर्छ त्यही अधिकारअन्तर्गत आज मलाई पार्टीले विश्वास गरेको हो । यो क्षेत्रका जनताले आशा र विश्वास गरेकाले उत्साही भएको छु । 
 
६) ढुक्कले चुनाव जित्छु भन्नेमा आशावादी हुनुहुन्छ ?  
 
–जीतनारायण श्रेष्ठ काँग्रेसको उम्मेदवार हुँदै गर्दा यो प्रदेश, र प्रतिनिधिसभामा समग्र जिल्लामा काँग्रेसले निर्वाचन जित्नसक्ने बलियो आधार बन्नसक्छ भनेर मलाई विश्वास गरिएको होला । त्यही आधारमा म काँग्रेसको उम्मेदवार भएको छु । काँग्रेसको उम्मेदवार हुँदै गर्दा निर्वाचन जित्छु भन्ने आत्मविश्वास मभित्र रहेको छ । त्यो मेरो आत्मविश्वास भनेको यही क्षेत्रका तमाम दिदीबहिनी, दाजुभाइको आत्मीयता, साथ र सहयोगकै कारण हो । निर्वाचन जित्छु भन्ने कुरालाई मैले महत्वाकांक्षी ठान्दिन । मलाई पार्टीले जे अवसर दिन्छ, त्यसमा हिँड्ने मान्छे हो म ।
 
पार्टीको नीति–नियमभित्र रहेर पार्टीको दायराभित्र रहेर विधि र विधानलाई शिरोपर गरेर काम गर्ने पार्टीको एउटा क्रियाशील कर्मठ कार्यकर्ता भएको नाताले पार्टीले दिएको अवसरबाट पछि हट्ने कुरा छैन । म अहिले काँग्रेस चितवनको सभापति हुँ । भोलि मलाई प्रदेशबाट निर्वाचित हुँदै गर्दा दिने मुख्यमन्त्री, मन्त्री वा कुनै पनि अवसरबाट म पछि हट्ने कुरा आउँदैन । त्यो मेरो महत्वकांक्षा होइन । यो मेरो सँगसँगै यो प्रदेशको समग्र चितवनवासीको अवसर पनि हुनसक्छ । त्यसलाई महत्वकांक्षाका रुपमा लिइदिनु भएन भन्ने मेरो आग्रह हो ।
 
८) मतदातासँग तपाईंको अपेक्षा के छ ? 
 
–मतदाताले मसँग धेरै आशा र अपेक्षा राख्नुभएको छ । यहाँको विकास र समृद्धिका लागि उहाँहरुको अपेक्षा पूरा गर्ने प्रतिबद्धता मैले व्यक्त गरेको छु । तपाईंहरु मलाई मत दिनूस् म पाँच वर्ष तपाईंहरुकै अपेक्षाअनुरुप काम गर्छु, काम गर्न नसके दण्ड दिनूस् भनेको छु । उहाँहरुले मप्रसित दिनुभएको न्यानो स्नेह, माया–ममता र विश्वास नै मेरा लागि सबैथोक हो । अहिले मुलुक संघीन घडीमा उभिएको छ । यो मुलुकले संविधानसभाबाट प्राप्त गरेको संविधानमाथि नै धावा बोलिएको छ ।
 
जबर्जस्ती वामपन्थी एकताको नाममा कम्युनिष्ट साम्यवादको अभ्यास गरिएको छ । यस घडीमा व्यक्तिले भन्दा पनि देशले हार्ने कि जित्ने भन्ने महत्वपूर्ण सवाल उत्पन्न भएको छ । त्यसैले आफ्नो अभिमतद्वारा लोकतन्त्रको पक्षपाती नेपाली काँग्रेस र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराइदिनु हुनेछ भन्ने मेरो अपेक्षा रहेको छ । 
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।