मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुमघामको प्रमुख गन्तव्य बन्दै शाश्वतधाम

घुमघामको प्रमुख गन्तव्य बन्दै शाश्वतधाम


नवलपरासी– नवलपरासीको रजहरस्थित शाश्वतधाम सञ्चालनमा आएको छोटो समयमै लाखौं नेपाली घुम्न पुगेका छन् । 
 
 फागुनमा औपचारिक उद्घाटनपछि सर्वसाधारणका लागि खुला भएको धाममा अहिलेसम्म ७ लाख २५ हजारजना घुम्न आएको जानकारी धाम सम्वद्ध अधिकारीहरुले दिएका छन् । 
 
घुम्न आउनेमा प्रायः नेपाली नै छन् । व्यावसायिक संस्था चौधरी ग्रुपको सामाजिक एवम् मानवीय कल्याणकारी निकाय चौधरी फाउण्डेशनले देवचुली नगरपालिका वडा नं २ मा रहेको दुम्कौलीमा शाश्वतधाम निर्माण गरेको हो । 
 
सीजी इन्डष्ट्रियल पार्क परिसरभित्र करिब सात बिघा जमिनमा शाश्वतधाम निर्माण भएको छ । मन्दिर त नौलो र आकर्षक छ नै पृष्ठभूमिमा रहेका नवलपरासी जिल्लाका अग्ला पहाडहरु देवचुली र वरचुलीले झनै सुन्दरता थपेका छन् । 
 
 
पूर्वपश्चिम राजमार्गसँग जोडिएको सो ठाउँ चितवन नारायणगढदेखि लगभग २२ किलोमिटर पश्चिममा छ । गाडीमा हिँडेका बेलामा पनि सजिलै देखिने धामले धेरैलाई लोभ्याएको छ । ‘उद्घाटन भएपछि अहिलेसम्म सवा लाखजनाले धाम घुमेका छन्’ धामका कार्यकारी प्रमुख अधिकृत नारायण श्रेष्ठले भने । नयाँ वर्षको दिन वैशाख १ गते एकै दिन ३० हजारजना आएको उनले बताए ।
 
‘दसैँका बेलामा लगातार जसो दिनमा १०÷१० हजारले धाम अवलोकन गरेका छन्’ कार्यकारी प्रमुख अधिकृत श्रेष्ठले भने । धाम घुम्न कुनै शुल्क लाग्दैन । धामभित्र धार्मिक सङ्ग्रहालय छ । सो सङ्ग्रहालय घुम्न सय रुपैयाँको टिकट लाग्छ । विद्यार्थीले २५ रुपैयाँ तिरे पुग्छ । आठ वर्षभन्दा कम उमेरका बच्चाहरुलाई सङ्ग्रहालय घुम्दा पनि शुल्क नलाग्ने श्रेष्ठले बताए । 
 
‘यो धाम सनातन धर्म र अध्यात्मको संगम हो । सबै उमेर समूहकाले घुम्न रुचि देखाएका छन्’ चौधरी ग्रुपका प्रमुख रहेका उद्योगपति विनोद चौधरीले भने । हिन्दूधर्मका साथै बौद्ध धर्मका विषयहरुलाई पनि धामभित्र राख्न लागेको चौधरीले जानकारी दिए । अवलोकन गर्न आउनेको संख्याले यो ठाउँ नेपालकै प्रमुख धार्मिकस्थल हुने सम्भावना बढेर गएको उनले बताए ।
 
शंकराचार्य जयेन्द्र सरस्वतीले चौधरी ग्रुपका संस्थापक स्वर्गीय लुनकरण चौधरीलाई दिएको सल्लाह अनुरुप लुनकरणका छोरा विनोद चौधरीले सो धाम निर्माण गरेका हुन् । धामको मध्य भागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टेदार एकम्बरेश्वर शिव मन्दिर रहेको छ । 
 
मन्दिरलाई चारैतिरबाट सर्वतीर्थ सरोवर तालले घेरेको छ, जहाँ बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, र पशुपतिनाथजस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइएको छ । धामभित्र गुरूकुल विद्याश्रम, अखण्ड अग्निकुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमानमन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक सङ्ग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिङ र हल छन् ।