घर सानो भएर के भो ! त्यसको कुशल संचालनमा पूरै लगन र इमान्दारीपूर्वक खटेकी विमला श्रेष्ठको मन भने निक्कै ठूलो छ ।
वि. सं. २०६७ साल जेठ ९ गतेदेखि चितवनको रत्ननगर टाँडीमा संचालनमा आएको अनाथ बालिकाहरुको घर सानो घर अहिले जिल्ला कै नमूना बालगृह मानिन्छ । तर राजधानी र त्यसको वरिपरि रहने उपल्लो निकायहरुको ध्यान भने त्यतातिर अझै तानिएको देखिदैन । त्यसो त मोफसलका प्राय यस्ता संस्थाहरुप्रति राजधानीले खासै महत्व दिदैन । यस्ता खाले समाजसेवी संस्थाहरु उपेक्षित नै हुने गरेका छन् ।
सामान्य नेवार परिवारमा जन्मिएकी विमला श्रेष्ठको प्रयाशमा खोलिएको चितवनको सानो घरमा अहिले १५ जना अनाथ बालिकाहरु छन् । आउँदो वर्ष त्यहाँ २० जना बालिका पुग्ने लक्ष राखिएको छ ।
त्यहाँ उनीहरुलाई विध्यालय शिक्षादेखि चित्रकला, तेक्वान्दो खेल, सिलाई बुनाई र अन्य अतिरिक्त क्रियाकलापमा सहभागी गराइन्छ । अभिभावकविहीन गरीब बालबाालिकको आश्रयस्थल बनेको त्यो सानो घरमा चितवन , धादिङ्ग , कास्की , लम्जुङ्ग , मकवानपुर र काठमाण्डु जिल्लाका चारदेखि १३ वर्षसम्मका बालिकाहरुले संरक्षण पाएका छन् ।
सेवा गर्ने प्रेरणा
आफ्नै छोरी अटिज्म (मानसिक अपांगता)- बाट पीडित भएपछि विमला छोरीको उपचारमा धेरै ठाउँ धाइन् । छोरीजस्तै अरु पनि थुप्रै नानीहरु त्यस्तो रोगबाट पीडित भएको देखेपछि उनलाई यस्ता अपांगता र अभिभावकविहीन बालिकाहरुकालागि एउटा बालगॢह संचालन गर्ने गम्भीर सोच आयो ।गरीब असहाय बालिकाहरुलाई समाजको मूलधारमा उभिन सक्ने बनाउनु पर्ने आवश्यकता उनको अन्तर मनले अनुभव गर्यो । केही वर्ष विमलाले सुस्तमनस्थिति र अन्य अपांगता भएका बालबालिकाहरुलाई सेवा पुर्याइन् । र त्यसपछि उनले निश्चय गरिन्- बाल गॢहको स्थापना ।
त्यो सोच र अभियानमा उनका दिदी बैनीहरुले भरथेग गर्दिए ।
विमलाको आभियान सजिलो थिएन तर उनीसंग अठोट थियो । एकजना नेवार समुदायका समाजसेवी विध्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए , उनैसंग सानो घरकोलागि जग्गा मिलाइदिन आग्रह गरिन् विमलाले । राम्रो कामको थालनीलाई उनले सहयोग गरे ।
पाँचजना बालिका लिएर शुरु भएको सानो घर अहिले पाँच कोठाको घरमा सञ्चालित छ । हरेक वर्ष त्यहाँ आश्रय लिने बालिकाहरुको संख्या बढ्दै गएकोले अरु फराकिलो र ठूलो घरको आवश्यकता भएको विमला श्रेष्ठको भनाई छ ।
लायन्स क्लबको सहयोगमा घर पछाडि कुखुरा पालनकोलागि टहरा बनाइएको छ , जहाँ दुईसय कुखुरा राखिएका छन् ।सानो घरका सदस्यहरुको पौरखी हातहरुले बारीमा लह लह हरिया सागसब्जी फलाएको देखिन्छ । सानो घरमा बस्ने नानीहरु खुशी देखिन्छन् । विमलालाई उनीहरु नेवारी भाषामा आमालाई भनिने मांग भनेर सम्बोधन गर्छन् । असहाय नानीहरुले आफूलाई आमा भनेर बोलाउँदा विमलाको मातॢत्व उम्लेर आउँछ, शायद त्यसैले उनलाई थप सक्रिय भएर समाज सेवामा लाग्ने प्रेरणा दिइरहेको छ । विमला श्रेष्ठको लागि अब यिनै बालिकाहरुको हाँसो र खुशी जीवनको मूख्य लक्ष भएको छ ।
चितवन जिल्लाकै प्रथम बालगॢह सानो घरलाई देशकै नमूना बालगॢह मध्येको एक बनाउने विमलाको महत्वकांक्षी सोच छ । उनले स्थानीय नगरपालिकसंग सानो घरकोलागि जगा उपलब्ध गराइदिन अनुरोध गरेकि छन् । त्यो उपलब्ध भएमा सानो घरलाई भौतिक र व्यवस्थापकिय रुपमा पनि विस्तार गर्न सकिने उनको अठोट छ ।
कसरी जुट्छ खर्च
धेरै अप्ठ्यारो त छ तर स्थानीय दाताहरुदेखि जिल्ला बाहिर र विदेशमा बस्ने नेपालीहरुको सहयोग र सद्भावले अहिलेसम्म कतै हात पसार्नु परेको छैन – विमलाको यो भनाई आफैंमा बलियो छ । तर उनी आफैं कहिले नेपाली कागजको ग्रिटिंग कार्ड बनाएर बेच्छिन् कहिले फुड फेस्टिवलमा मोमो र पानीपुरी बनाएर बेच्छिन् । कुनैबेला स्थानीय युवाहरुसंग मिलेर बजारमा चिया पनि बेच्छिन् । उनको यस्तो सक्रियताले खर्चमा केही भरथेग त गर्छ तर पूरै खर्च धान्न सजिलो छैन । महिनामा कम्तिमा पनि सानो घर संचालन गर्न ५० हजार खर्च लाग्ने उनको भनाई छ ।
आफ्नो कामको व्यापक प्रचार प्रसार नभएर पनि अपेक्षित सहयोग जुट्न नसकेको विमलाको भनाईमा विमति राख्न सकिदैन । ३८ वर्षीया विमला आफैं भने सहयोग माग्ने कुरामा लजालु छिन् । स्वदेश र विदेशका सयौं मनकारी नेपालीहरु विमलाको सानो घरलाई सहयोग गर्न अघि आउन सक्छन् । तर त्यसकोलागि विमला र सानो घरले अनाथ बालिकाहरुकोलागि गरिरहेको इमान्दार सेवाको यथार्थ चित्र सबैले देख्नेगरी बाहिर ल्याउन जरुरी छ ।
विमला श्रेष्ठको सामाजिक अभियानलाई बाहिरबाट जति अरुले सहयोग र सद्भाव दिन जरुरी छ त्योभन्दा पहिले उनी आफैंले पनि त्यस्तो वातावरण बटुल्न सामाजिक अभियन्ताको प्रखर भूमिका खेल्न आवश्यक छ । कुरै कुरामा उनले अमेरिकाको नेपाली समुदायमा सानो घरको बारेमा जानकारी गराइदिन अनुरोध गरिन् । मलाई लाग्यो, सानो घरलाई सहयोग र सद्भावकालागि उनी अपील गर्दैछिन् ।
(कुराकानीमा आधारित )
प्रतिक्रिया