मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

जनताको आँशु पुछेर हाँसो ल्याउन उपमेयरमा मेरो उम्मेदवारी : अनिता मैनाली

जनताको आँशु पुछेर हाँसो ल्याउन उपमेयरमा मेरो उम्मेदवारी : अनिता मैनाली


पूर्वी चितवनको भण्डारा निवासी ५२ वर्षीया अनिता मैनाली राजनीतिक वृत्तमा सुपरिचित नाम हो । राप्ती नगरपालिकाबाट स्थानीय तहको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट उपमेयरकी उम्मेदवार मैनाली सो क्षेत्रमा आशालाग्दी र भरोसायोग्य महिला नेतृ हुन् । उनी कांग्रेस राजनीतिमा मात्रै होइन, सामाजिक क्षेत्रमा पनि उत्तिकै कर्मठ र लोकप्रिय छिन् । जसको ज्वलन्त उदाहरण नेपालमै बढी रक्तदान गर्ने दोस्रो महिलाका रुपमा उनले बनाएको स्थानलाई लिन सकिन्छ । मानवीय सेवामा समर्पित मैनालीले हालसम्म ८४ पटक रक्तदान गरिसकेकी छिन् । सामाजिक क्षेत्रमा उनको संलग्नता दर्जनौँ संघसंस्थामा छ । नेपाल रेडक्रस सोसाइटी, क्षयरोग निवारण केन्द्र, हृदयरोग निवारण प्रतिष्ठान, नेत्रज्योति संघ, परिवार नियोजन संघ, वैदिक धर्म परिषद्–नेपाल, जिल्ला सहकारी संघ, जनता सहकारीलगायतका संस्थामा उनको प्रभावकारी भूमिका रहँदै आएको छ । 
 
राजनीतिक यात्रामा पनि उनको त्याग र योगदान उच्च छ । ०३६ सालको जनमतसंग्रहमा नेविसंघबाट प्रभावकारी भूमिका निभाएकी उनले ०४२ सालको सत्याग्रहमा पनि उत्तिकै सक्रियता देखाइन् । ०४६ सालको जनआन्दोलन होस् चाहे ०६२/६३ को दोस्रो जनआन्दोलननै किन नहोस् उनी पटकपटक गिरफ्तार र घाइते हुँदै निरन्तर रुपमा संघर्ष गर्दै आएकी महिला नेतृ हुन् । ०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक भण्डारा गाविसको वडा नं ३ बाट विजय हासिल गरेकी उनले ०५६ को आमनिर्वाचनमा महिला परिचालन समितिको संयोजक रहेर जिम्मेवार भूमिका निर्वाह गर्दै सांसदमा सावित्री बोगटीलाई विजयी गराउन सफल भइन् । प्रस्तुत छ– यिनै जुझारु तथा महिला सशक्तीकरणमा अग्रणी भूमिका खेलेकी समाजसेवी एवम् राजनीतिसेवी मैनालीसँग हिमालय खबरका नेपाल संयोजक केशव भट्टराईले गरेको कुराकानी–
 
१) दुई दशकपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा उपमेयरका उम्मेदवार बन्नु भएको छ, कस्तो अनुभूति भएको छ ? 
 
–धेरै समयसम्म निर्वाचन नहुँदा आमजनतामा जुन किसिमको अन्योल र सकस भएको थियो, निर्वाचनको माहोलले निकै उत्साह थपेको छ । जनताको चाहनाअनुसार पार्टीले मलाई उपमेयरका रुपमा उम्मेदवार बनाउँदा गौरवान्वित महसुस गरेको छु । यो निर्वाचन जनताले खोजेको र जनतालाई नै अधिकारसम्पन्न बनाउने भएकाले मेरो उम्मेदवारीप्रति आम नगरवासी प्रसन्न हुनुहुन्छ । मैले यसअघि समाजलाई गरेको मूल्यांकन, महिला सरोकारका विषयमा गरेका उठान, सामाजिक तथा राजनीतिक क्षेत्रबाट गरेको सहयोगका कारण मलाई उपमेयरमा प्रस्ताव गरिएको हो । म निर्वाचित भएँ भने जनताका अपेक्षा पूरा गर्न सक्छु र नगरवासीको न्याय सम्पादनमा मेरो मह¤वपूर्ण योगदान हुने कुरा विश्वास दिलाउन चाहन्छु । 
 
२) राप्ती नगरपालिकामा के कस्ता समस्या पहिचान गर्नुभएको छ ? 
 
–भर्खरैमात्र नगरपालिका भएको यस नगरमा धेरै समस्या छन् । मुख्य त अझै पनि भूमिहीन सुकुम्बासीको समस्या यथावत छ । सुकुम्बासी समस्याको व्यवस्थापन गर्नुपर्ने छ । उत्तरी क्षेत्रमा खानेपानीको समस्या छ, त्यसको उचित प्रबन्ध गर्नुपर्ने छ । बाटोघाटो र पुलपुलेसा जीर्ण छन्, त्यसको मर्मतसम्भार र नयाँ निर्माण गर्नुपर्ने छ । बेमेल विवाह, अन्तरजातीय विवाहका कारण नागरिकताविहीन बनेका छन्, उनीहरुलाई आमाको नामबाट नागरिकता दिलाउनु छ । घरेलुहिंसामा परेका महिलालाई मुक्त गर्नुपर्नेछ । महिलालाई आत्मनिर्भर बनाई आयआर्जनमा सहयोग गर्नुपर्ने छ । महिलामैत्री, बालमैत्री, प्रौढमैत्री वातावरण निर्माण गर्नुपर्ने छ । वृद्धवृद्धाको एकाङ्कीपन हटाउन वृद्धाश्रम र अनाथालय निर्माण गर्नुपर्ने छ । 
 
छोरीलाई दाइजो होइन, शिक्षा दिनुपर्छ भन्ने चेतना अभिवृद्धि गर्नुपर्ने छ । मातृमृत्युदर कम गर्नुपर्ने छ । विभिन्न हिंसाका कारण ६० प्रतिशत महिला डिप्रेसनको शिकार भएका छन्, त्यसलाई उन्मुक्ति दिनुपर्ने छ । यातायातमा महिलालाई सीट सुरक्षित गराउनु पर्ने छ । म आफैँ पनि एकल महिला भएकाले एकल महिलाको समस्या मैले राम्रोसँग अनुभूत गरेको छु । महिलालाई सम्मानजनक रुपमा बाँच्न सक्ने बनाउनु छ । 
 
३) तपाईंको नेतृत्वले नगर विकासमा के कस्तो परिवर्तन ल्याउला ?
 
–सबै नगरपालिकामा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको अधिकार प्राप्त हुने भएकाले मेरो नेतृत्वले पक्कै पनि परिवर्तनको अनुभूति गराउने छ । न्याय सम्पादन प्रक्रियामा सहज होस् भनेरै उपमेयरमा अनिवार्य महिलाको व्यवस्था गरिएको हो । मेरो नेतृत्वमा डिप्रेसनमुक्त नगर बनाउने प्रयास गर्ने छु । नगरमा सही नेतृत्वको अनुभूति गराउने प्रतिबद्धता म गर्छु । महिलाले भोग्नुपरेका सबै खाले हिंसा अन्त्य गर्नमा, उनीहरुलाई न्याय दिलाउन, महिलाको स्तरवृद्धि गराउन, समतामूलक समाज र न्यायपूर्ण नगर निर्माणमा मेरो जिम्मेवारपूर्ण भूमिका रहने छ ।
 
४) मतदाताको मन जित्ने प्रभावकारी काम के गर्नुभएको छ ? 
 
–मैले यस क्षेत्रमा गरेका कामको फेहरिस्त सबै मतदातालाई जाहेरै छ । अहिलेसम्म धेरै असहाय बिरामीलाई सेवा प्रदान गरेको छु । रगतको अभावमा छटपटिएका बिरामीका लागि मेरो सहयोग रहँदै आएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत म नेपालकै बढी रक्तदान गर्नेमा दोस्रो महिला हुँ । मैले हालसम्म ८४ पटक रक्तदान गरिसकेको छु । प्रत्यक्ष वा परोक्ष रुपमा म महिलामाझ परिचित छु । मेरो क्षमताले भ्याएसम्म समाजको हरेक क्रियाकलापहरुमा संलग्न रहँदै आएको छु । मन्दिर, बाटोघाटो, पुल, स्कूल तथा सामाजिक संघसंस्थाहरुमा मानवीय, श्रमदान तथा आर्थिक सहयोग गर्दै आएको छु । आगामी दिनमा पनि म समाज र नगरका लागि आवश्यकीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मतदाताले पनि मप्रति विवेकपूर्ण रुपमा न्याय गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । 
 
५) निर्वाचनको राजनीतिक जोड घटाउमा कांग्रेसको उपस्थिति कस्तो छ ? 
 
– मतदाता निकै जागरुक भएका छन् । उनीहरुमा उत्साह र उमङ्ग पनि बढेको छ । मतदाताको हौसलाले नै हाम्रो उपस्थिति बढेको देखाउँछ । किनभने, अहिले मतदाता निकै सचेत भइसकेका छन् । कांग्रेस जनताको पार्टी हो भन्ने अनुभूति हरेक नगरवासीलाई भइरहेको छ । म मतदातामाझ पुग्दा उहाँहरुले देखाएको सद्भाव, हार्दिकता, आत्मीयताले कांग्रेसको उपस्थिति बाक्लो रहेको देखाउनुका साथै उपमेयरमा मलाई अत्यधिक मतले जिताउँछन् भन्ने आशा पनि गरेकी छु । 
 
६) चुनाव जित्ने सुनिश्चितता के देख्नुभएको छ ? 
 
– म रुपन्देहीको मणिग्रामबाट यहाँ आएको दिनबाट न्यायोचित रुपमा सेवा र व्यवहार गर्दै आएको छु । एकल महिला भएर संघर्षका धेरै घुम्तीहरु पार गर्दै समाज र राजनीतिमै समर्पण गरेको महिला भएकाले मलाई यहाँका दुःख–पीडा र समस्याबारे राम्रो जानकारी छ । जनताको समस्याप्रति गम्भीर रहँदै आएका कारण पनि व्यक्तिगत र पार्टीगत रुपमा मतदाताबीच म भिजेको छु । यस क्षेत्रमा कम्युनिष्ट पार्टीले जनप्रतिनिधि हुँदै गर्दा सीमित पार्टीका कार्यकर्ताको झुण्डले राज्यकोष र एजजीओकोष दुरुपयोग गरेका कारण त्यसको भण्डाफोर गर्न जनताले कांग्रेस चाहेका छन्, खोजेका छन् । जबजब राज्यमा दुःख हुन्छ, तबतब कांग्रेस चाहिएको छ । जनताको आँशु पुछेर हाँसो ल्याउन कांग्रेसको नेतृत्व आवश्यक छ । र, मैले चुनाव जित्छु भन्ने आत्मविश्वास छ ।