मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

मेरो प्रतिस्पर्धा आफैँसँग : सोमलाल चौधरी

मेरो प्रतिस्पर्धा आफैँसँग : सोमलाल चौधरी


रत्ननगर नगरपालिकाको वडा नं ५, स्थित झुवानीका सोमलाल चौधरी ४८ वर्षका भए । ०५४ सालको स्थानीय निर्वाचनमा साविक बछौली गाविसको वडा नं ९ मा सर्वाधिक मत ल्याएर विजयी बनेका उनलाई पुनः कांग्रेसले सर्वसम्मत रुपमा वडाअध्यक्षको उम्मेदवार बनाएको छ । अधिकांश थारु जातिको बसोबास भएको झुवानीमा चौधरीलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ । उनको विगतका कार्यअनुभव र झुवानीमा पु¥याएको योगदानको मूल्यांकन गर्दै पार्टीले उनलाई नै टिकट दिएको हो । उनले आफ्नो नेतृत्वकालमा बछौली गाविसमा विद्युत् पु¥याउन योगदान पु¥याएका थिए ।
 
यस्तै, रत्ननगर–बछौली जोड्ने बूढीराप्ती नदीमा पुल निर्माणमा पनि उनको सक्रिय भूमिका छ । झुवानीमा सामुदायिक पुस्तकालय निर्माणका लागि होस् चाहे थारु जातिका धर्मसंस्कृति संरक्षणका लागि उनको सक्रियता उत्तिकै छ । ढुङ्ग्रेखोला जल उपभोक्ता संस्था, झुवानी कुलो समितिको अध्यक्ष रहेर उनले स्थानीयस्तरमा बाँध निर्माण, आरसीसी लाइनिङ कुलो निर्माणदेखि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष रहेर समुदायको हित गर्दै आएका छन् । ‘एक घर : एक शौचालय’ अभियान सञ्चालन गरेर त्यसमा सफल भएका उनी जनताकै सेवाका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् । स्थानीयको समस्या बुझेका र लोकप्रिय छवि बोकेका उनी ०३६ देखि ०६२/६३ सम्मको सबै प्रजातान्त्रिक आन्दोलनहरुमा थारु समुदायको नेतृत्व गर्दै सहभागी भएका इमान्दार स्थानीय नेता मानिन्छन् । प्रस्तुत छ, हिमालय खबरका केशव भट्टराईले गरेको संक्षिप्त कुराकानी– 
 
१) स्थानीय निकायको निर्वाचनमा दोहोरिएर उम्मेदवार बन्नु भएको छ, जित्छु भन्ने विश्वास छ ? 
 
–हेर्नुहोस् । ०५४ को निर्वाचनमा सिकेका अनुभव र कार्यक्षमताले पनि मलाई फेरि उम्मेदवार बन्न हौस्याएको हो । मेरो सामाजिक जिम्मेवारी, इमान्दारिता र सहयोगी भावनाका कारणले नै पार्टीका धेरै विद्धान् साथीहरुले ममाथि विश्वास गर्नुभएको छ । यतिका वर्ष कोही कसैलाई अन्याय नगरेको, अनियमितता नगरेको र परिआएको जुनसुकै कामका लागि नाइँनास्ती नगरेको कारण मैले जित्छु भन्ने आत्मविश्वास छ । यस वडा कांग्रेसको बलियो आधारक्षेत्र पनि भएकाले मेरो जित्ने संभावना अत्यधिक छ । 
 
२) अन्य पार्टीका प्रतिस्पर्धी पनि होलान्, के कस्तो रणनीति बनाउनु भएको छ ? 
 
–एक त मैले अन्य पार्टीका मित्रहरुलाई प्रतिस्पर्धीको रुपमा हेरेकै छैन । किनभने मेरो प्रतिस्पर्धा मसँग नै हो । थारु जातिको परम्परा कायम राख्दै ब्रहमथान निर्माण गर्न र थारुजातिकै आस्थाको केन्द्र मलेङबाबालाई तारवार गरी संरक्षण गरेर मैले आफ्नो धर्म, संस्कृति, परम्परा जोगाउने र यसको संरक्षण गर्दै आएका कारण अधिकांश थारु समुदायले मलाई विश्वास गर्ने कुरामा दुईमत छैन । किनभने, मैले कसैको लोभलालचमा परेर आफ्नो धर्म छाडेको छैन । संस्कृति छाडेको छैन । र, थारु जातिको पहिचान पनि छाडेको छैन । आजीवन यही समाजको सेवक बनेर सामाजिक काममा तल्लिन भएको व्यक्तिले के रणनीति बनाउनु ? मलाई रणनीति बनाउन आवश्यक छ जस्तो लाग्दैन । र, प्रतिस्पर्धी पनि कोही छैनन् । 
 
३) मतदाताले तपाईंलाई नै भोट किन दिने ? 
 
–मतदाताले मलाई भोट नदिए कसलाई दिने ? मतदाताको घरदैलोमा पुगेर अह्राएको काम र जहाँ हिँड्नुपरे पनि सधैँ उपस्थित भएको छु । गाउँलेलाई परिणाममुखी काम गरेर देखाएको छु । सुकुमबासी आयोगमार्फत् ‘गाउँ ब्लक’ बनाएर यहाँका जनतालाई पुर्जा वितरण गराउन मेरो भूमिका सबैले स्मरण गरिरहेका छन् । भूमिहीन सुकुमबासीलाई पुर्जा दिलाउन मेरो योगदान छ ।
 
सामाजिक विकासमा पनि उत्तिकै देन भएकाले म मतदाताको मनमनमा बस्न सफल भएको छु । बछौली गाविसमा विद्युत् पु¥याउन, रत्ननगर–बछौली जोड्ने बूढी राप्ती नदीमा पुल निर्माण गर्न, गाउँमा कुलो निर्माणदेखि खानेपानी तथा सरसफाइमा पनि म लागिपरेको छु । ‘एक घर : एक शौचालय’ अभियानमा पाएको सफलताले पनि मलाई मतदाताले अत्यधिक बहुमतले विजयी गराउँछन् भन्ने पूर्ण विश्वास छ । 
 
४) चुनाव जित्नुभयो भने वडालाई कस्तो बनाउनुहुन्छ ? 
 
–पहिलो कुरा त आफ्नो वडाको विकास गर्न चुनाव पर्खनु जित्नै पर्दैन, त्यो यसै पनि गरिँदै आइएको छ । विकास गर्न बजेट र आयस्रोत चाहिने भएकाले नेतृत्व पनि चाहिन्छ । वडावासीको घरदैलोमा पुगेर प्रमुख समस्याको पहिचान गरेर विकासको योजना बनाउँछु । यसमा पार्टीका दिग्गज, विद्धान मित्रहरुसँग छलफल गर्दैछु । मुख्य कुरा त वडाको पूर्वाधार विकास गर्ने कुरा हो । कतिपय स्थानमा सडक निर्माण गर्नुपर्ने छ, पिच गर्न छुटेको÷छुटाइएको छ, स्तरोन्नति गर्नुपर्ने छ, त्यसलाई विशेष महत्व दिन्छु ।
 
गाउँबस्तीमा बिजुलीको पोल पु¥याउने, तटबन्ध निर्माण गर्ने कामलाई पनि प्राथमिकता दिने छु । जनताका आधारभूत आवश्यकताका रुपमा रहेका कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र खानेपानीलाई जोड दिनेछु । झुवानीको दक्षिणतर्फ पर्यटकीय क्षेत्र बनाउने र उत्तरी क्षेत्रलाई कृषि पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना छ । थारु समुदायको बाहुल्यता भएको वडा भएर पनि यहाँ थारु होमस्टे छैन । पर्यटकलाई आकर्षित गर्न थारु होमस्टे खोल्न समुदायलाई प्रोत्साहित गर्ने र विभिन्न जनजातिका सांस्कृतिक पहिचानलाई संरक्षण गरी धर्म–संस्कृतिको जर्गेना गर्ने छु ।