मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   

महानायक हमाल दम्पती हात्तीमा सरर

महानायक हमाल दम्पती हात्तीमा सरर


चितवन । चितवनको सदरमुकबाम भरतपुरनजिकै अब हात्ती सफारी सुरु भएको छ । नेपाली चलचित्रका महानायक राजेश हमाल बरण्डाभारमा हात्ती सफारी गर्ने पहिलो पाहुना बनेका छन् ।
 
चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत रहेको बरण्डाभार जंगलक्षेत्रका चारवटा सामुदायिक वनमा सञ्चालन हुने हात्ती सफारी सेवा औपचारिक उद्घाटन  चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गरे । गीतानगरमा रहेको ‘लेक ट्वान्टी थाउजेन्ड फार्म हाउस एण्ड रिसोर्ट’का बिशेष पाहुना नायक हमाल श्रीमती मधुसहित हात्तीमाथि बसेर बरण्डाभार जंगल घुम्न निस्कदा निकै हर्षित थिए ।
 
‘पर्यटनका लागि चितवन आफैमा अनुपम छ । त्यसमाथि यो पश्चिम चितवन मैले धेरै नै रमणीय, शान्त र सानदार पाएँ’ सफारीको पहिलो पाहुना बनेका नायक हमालले अनुभव सुनाए । बरण्डाभार मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत चारवटा मध्यवर्ती वनक्षेत्र रहेका छन् । रामसार सुचीमा सुचिकृत विश्व प्रसिद्ध बीसहजारी ताल सोही बरण्डाभार जंगलमा पर्छ । चितवन निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, बाघ लगायतका सवै जनावर, जलचर र पंछी वनस्पति बरण्डाभार जंगल क्षेत्रमा रहेका छन् ।
 
‘पर्यटनको प्रचुर सम्भावना थियो । हात्ती सफारीले त्यो सम्भावनालई मूर्त रुपदिन उल्लेख्य भुमिका खेल्ने भएका कारण हामीले यो सेवा सञ्चालन गरेका हौं’ बरण्डाभार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले भने । सो समिति अन्तर्गत वनदेवी बरण्डाभार, नवज्योति, दक्षिणकाली र बाटुली पोखरी गरेर चारवटा मध्यवर्ती सामुदायिक वन रहेका छन् ।
 
हात्ती सफारीबाट हुने आम्दानी मध्यवर्ती उपभोक्ता समिति र चारवटै मध्यवर्ती सामुदायिक वनहरुले बराबर भाग लगाउने अध्यक्ष सापकोटाले बताए ।भरतपुरबाट सात किलोमिटर दक्षिणमा रहेका यी चारवटा मध्यवर्ती सामुदायिक वनभित्र विश्व प्रख्यात बीसहजारी तालसहित रातमाटे ताल, बाटुली पोखरी ताल, किङ फिसर ताल लगायतका दर्जन तालतलैया छन् ।
‘सिमसार क्षेत्र अत्याधिक भएका कारण जंगली जनावरहरु धेरै नै भेटिन्छन् । 
 
गोही र चराहरु पनि प्रशस्तै छन्’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने । सदरमुकामदेखि निकैनजिक भएका कारण हात्ती सफारीपछि भरतपुरमै फर्कन सकिने सुविधा छ । वनक्षेत्र नजिक गीतानगरमा पनि होटलहरु खुल्नेक्रम सुरु भएको छ ।
 
‘लेक ट्वान्टी थाउजेन्ड फार्म हाउस एण्ड रिसोर्ट’ त्यस क्षेत्रको स्तरीय पर्यटकीय होटल हो । होटलभित्र र टेन्टमा समेत गरेर एकरातमा सयजना पाहुना राख्न सक्ने क्षमता आफ्नो रिसोर्टमा रहेको सञ्चालक देवु लोहनीले बताए ।
 
‘अरु होटलहरु पनि खुल्दैछन् । हामी निकट भविष्यमा होमस्टे पनि सञ्चालन गर्दैछौं । यही बस्न चाहनेलाई पनि सुविधा छ । नभए भरतपुरबाट आएर हात्ती सफारी गरेर फर्कन सकिने अवस्था पनि छँदै छ’ बरण्डाभार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले भने । सफारीका लागि चितवन निकुञ्जले नै दुईवटा हात्ती उपलब्ध गराएको छ ।
 
अहिले निजी हात्ती नआएका कारण सफारी गर्नेहरुले सस्तो मुल्यमा सेवा लिन पाउने छन् । हात्ती सफारी गर्दा वन समितिले एउटा हात्तीको पाँचसय रुपैयाँ प्रवेश शुल्क लिनेछ । त्यसमाथि प्रति व्यक्ति थप प्रवेश शुल्क लाग्नेछ । वन समिति र निकुञ्ज कार्यालयले छुट्टाछुट्टै प्रवेश शुल्क लिनेछन् । नेपाली, सार्कक्षेत्र र सार्कक्षेत्र बाहिरका पर्यटकलाई छुट्टाछुट्टै प्रवेश शुल्क छ ।
 
नेपाली पर्यटकसँग वन समितिले प्रति व्यक्ति एक सय र निकुञ्जले पाँच सय शुल्क लिने छ । त्यस्तै सार्क क्षेत्रका पर्यटकसँग वन समितिले १५० र निकुञ्जले एक हजार २५० प्रवेश शुल्क लिनेछ । सार्कबाहिरका विदेशीसँग वन समितिले दुई सय र निकुञ्जले २५ सय रुपैयाँ दस्तुर लिने छ । एउटा हात्तीमा चारजना बस्ने छन् । व्यक्तिबाहेक हात्तीको थप पाँच सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने छ ।