रोजर अधिकारी अमेरिकामा रहेका नेपालीबीच निकै परिचित नाम हो । झण्डै चार दशकदेखि अमेरिकालाई कर्मभूमि बनाएर बसिरहनुभएका अधिकारी नेपाली समाजलाई उठाउने काममा निकै दत्तचित्त हुनुहुन्छ । पाइलट पेशाबाट करियर शुरु गर्नु भएको उहाँ अहिले भने अमेरिकाको कर्पोरेट फाइनान्समा परामर्शदाताका रुपमा कार्यरत हुनुहुन्छ।
अनि राजनीतिक रुपमा अमेरिकामा ‘डेमोक्रेट’ पार्टीको स्थानीय च्याप्टर प्रेसिडेन्टबाट करियर शुरु गर्नु भएको उहाँ काउन्टी, स्टेट हुँदै क्यालिफोर्निया डेमोक्र्याट पार्टीको केन्द्रीय कार्यकारिणी समितिको कार्यकारी सदस्य भएर काम गरिसक्नु भएको छ । सन् २००६ क्यालिफोर्नियाको 'सिटी अफ ट्रेसी' को सिटी काउन्सिलको उम्मेदवार हुनुहुन्थ्यो । त्यतिखेर उक्त पदमा उम्मेदवार दिने पहिलो नेपाली मुलको हुनुहुन्थ्यो उहाँ । अमेरिकाको निकै सुन्दर शहर सानफ्रान्सिस्कोमा बस्नुहुहन्छ अधिकारी ।
अधिकारी यतिखेर एशोशिएसन अफ नेपलीज इन अमेरिका (एएनए) को अध्यक्ष हुनुहुन्छ । यो संस्था अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो मात्र नभएर प्रोफेसनल व्यक्तिहरु आवध्द संस्था पनि हो। यसको सम्मेलन आउँदो महिना अमेरिकी राज्य जर्जियाको एटलान्टामा हुँदैछ । यसैको सेरोफेरोमा हिमालय खबरले अधिकारीसँग लामो कुराकानी गरेको छ । प्रस्तुत छ, अधिकारीसँग र हिमालय खबरका लागि रामचन्द्र भट्टले गर्नुभएको कुराकानीका प्रमुख अंशहरु ।
एसोसियसन अफ नेप्लिज इन अमेरिका (एएनए) कस्तो खालको संस्था हो ?
– एएनए स्थापना भएको सन् १९८३ मा हो । त्यतिखेर ५/७ जना डाक्टर, इन्जिनियर जस्ता प्रोफेसनलहरुको सकृयतामा यसको स्थापना भएको हो । त्यसबेला अहिलेजस्तो धेरै नेपालीहरु थिएनन् । अमेरिकाभरि मुस्किलले ५/६ सय नेपालीहरु थिए । त्यस्तो अवस्थामा नेपाली डाक्टर, प्रोफेसर, इन्जिनियर, पाइलटहरुले नेपाली सामाजीक संस्थाको आवश्यकता महसुस गरेर, आफ्ना बालबालिकाहरुलाई नेपाली संस्कार, भाषा पनि सिकाउनु जरुरी ठानेर यसको स्थापना गरिएको हो । स्थापना गर्नुअघि धेरै चरणमा बैठकहरु पनि भए । म पनि सुरुदेखिनै यो संस्थामा थिएँ । ग्यारेज, घर र पार्टीबाट सुरु गरिएको यो संस्थाको सम्मेलन स्कूल, क्याम्पसहरुमा हुन थाल्यो । विस्तारै स्कूल, कलेज र विश्वविद्यालयका हलहरुले पनि थाम्न नसकेर हामी होटलतिर लाग्यौ । कलेजहरुमा कार्यक्रम हुँदा सुरुमा बालबालिका, महिलाका बारेमा छलफल हुन्थ्यो । होटलहरुमा फोरमहरु बढ्न थाल्यो । बोस्टन सम्मेलनदेखि दायरा फराकिलो हुनथाल्यो । त्यहाँ नेपाल फोरम चलाइयो ।
विस्तारै सम्मेलनको क्रममा नेपालबाट पनि मानिसहरु आउने, यहाँपनि नेपालहरुको संख्या बढ्न थाल्यो । एउटा सम्मेलनमा त ६ हजार नेपालीहरु सहभागी भएका थिए । एएनए ठूलो हुँदै गयो । बीचमा केही समस्या पनि आए। आफुले चाहेको अध्यक्ष निर्वाचित हुन सकेनन् भनेर निवर्तमान अध्यक्षले गैरसदस्यलाई संस्था जिम्मा दिँदा संस्थाले आफ्नो धरातल धेरैनै गुमायो । चारवर्षको अवधिमा संस्थालाई पुरै डुबायो त्यो घटनाले । हामीले अदालतको आदेशमा निर्वाचन गराएर अहिलेको कार्यसमिति आयौं । हामीले यसबीमा विधानमा संशोधनदेखि लिएर बोर्ड अफ ट्रस्टीको अवधारणा ल्यायौं । पहिले सदस्यको आधारमा संस्था चलाउने अवधारणा थियो भने अहिले सामुहिक सहभागिताका आधारमा अघि बढाउने निष्कर्शमा पुगेका छौं । एएनए भनेको नेपालीको ब्राण्डनेम हो । यसलाई उपयोग गर्न सकियो भने सबै नेपालीको हितमा यसलाई लगाउन सकिन्छ ।
अधिवेशनले यहाँ रहने नेपाली र नेपालमा बसेका नेपालीलाई के फरक पार्छ ?
– एएनएले तीनवटा कामहरु गर्छ । एउटा, पूर्णत सांस्कृतिक हो । त्यसले हामी नेपालदेखि यति टाढा आएर पनि आफ्नो सांस्कृतिक पक्षका बारेमा हाम्रा नयाँ पुस्तालाई जानकारी दिन सकेका छौं । साहित्यिक कार्यक्रम पनि गछौं । अर्को भनेको पूर्णत शिक्षा र सूचना संबन्धि कार्यक्रम हो । यो पछिल्लो भनेको हामीले पुरै फोरमको मार्फतबाट गराउँछौं ।
अमेरिकामा कसरी आफ्नो क्षेत्रमा सफल हुने भनेर जानकारी दिनसक्ने हो भने निकै उपयोगी हुनसक्छ । विगतका सम्मेलनहरुमा भन्दा यसपटक हामीले यहाँ बसेका नेपालीहरुलाई उकास्ने कार्यक्रम सहितका जानकारीहरु दिनेछौं । जस्तोकि,अमेरिकामा कसरी आर्थिक रुपमा सफल हुने भनेर एउटा फोरम राख्दैछौं । यसमा लगानीसंबन्धि कुराहरु, जस्तो कि तपाईले बैंकमा पैसा राख्ने कि म्यूचल फण्डमा गर्ने कि? रियलस्टेटमा गर्ने कि भन्ने कुराहरुको हामी जानकारी दिँदैछौं। घर किन्दा डाउन–पेमेन्ट गर्दा कसरी गर्ने यी सबै कुराहरुको जानकारी दिँदैछौं ।
अर्को कुरा, नेपालमा बिभिन्न पेशा र व्यबसायमा कार्यरत नेपालीहरु डिभी लोटरी होस्, विद्यार्थी होस् या अरुनै कुनै माध्यमबाट अमेरिकामा आइसकेपछि कसरी स्थापित हुने भन्ने विषयमा पनि जानकारीमुलक फोरम यसपटक हामी राख्दैछौं । यसका लागि नेपालमा आफ्नो क्षेत्रमा निकैनै सफल र अमेरिका आइसकेपछि निकै मेहनत गरेर स्थापित चारजनालाई आफ्ना अनुभवहरु शेयर गर्न बोलाएका छौं । उहाँहरुमध्य दुईजना जागिरको क्षेत्रमा सफल हुनुभएका हुनुहुन्छ भने दुईजना व्यबसायको क्षेत्रमा सफल हुनुभएका व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुले आफ्नो स्टोरी भन्नुहुनेछ । यो कार्यक्रमको ‘मोडरेट’ गर्न नेपालबाट भुषण दाहाल आउँदै हुनुहुन्छ ।
एउटा कुरा के स्पष्ट हुन जरुरी छ भने एएनए पुरै अमेरिका ‘सेन्ट्रीक’ संस्था हो । यसले अमेरिकामा रहेका नेपालीहरुलाई समेटेर, उहाँहरुलाई कसरी स्थापित गराउने भन्नेमै बढ्ता फोकस गर्छ । हाम्रो विधान अनुसार नेपालमा हामी सामाजीक कामहरु गछौं, सहयोग गर्छौ । तर हामी सिधै गदैनौं । बिभिन्न पार्टनर संस्थाहरु मार्फत नेपालमा सामाजीक कामहरु गछौं ।
यसपटकको सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्छ कि ?
– अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ । म गत वर्षमात्र निर्वाचित भएर कार्यरत छु । पारित भएको नयाँ विधान अनुसार अबदेखि कार्यसमितिको कार्यकाल तीन वर्ष बनाइएको छ । तर यो कार्यसमितिलाई लागु हुँदैन त्यो विधान । हामी पहिलेको विधान अनुसार आएका हुनाले हाम्रो पदावधि सकिँदैछ । यो सम्मेलनलाई राम्रोसँग सम्पन्न गरेपछि म चाँहि अध्यक्षबाट बिदा लिने योजनामा छु । मसँगै कार्यसमितिमा रहनु भएका साथीहरुलाई पछाडि बसेर सहयोग गर्ने योजनामा म छु । हामी ‘कोल्याबरेटिभ पार्टनरशीप’ को अवधारणा अनुसार अब अघि बढिनै रहन्छौं ।
आजको दिनसम्म एएनएमा कति नेपाली आवध्द छन् ?
– हाम्रो पहिलेको विधान अनुसार साधारण सदस्य र आजीवन सदस्य भनेर दुई खालको सदस्यताको प्रावधान थियो । त्यतिखेर चारसय जना आजीवन सदस्यहरु हुनुहुन्थ्यो । केही वर्ष अघि जो नेतृत्वमा हुनुहुन्थ्यो, उहाँहरुले साधारण सदस्य भन्ने प्रावधाननै हटाइदिनुभयो । सदस्यहरुले चल्ने संस्थामा सदस्यतानै रहेन भने कसरी संस्था जीवित हुनसक्छ ? साधारणतया साधारण सभाको समयमा सदस्यता बनाउने, बढ्ने क्रम हुन्थ्यो । अघिल्लो सम्मेलनको समयमा हामीले यो गर्न सकेनौं । अब चाँही हामी दुई खालको सदस्यताको सोचमा छौं । एउटा आजीवन सदस्य र अर्को चाँही एएनएमा आवद्ध संस्थाका सदस्यहरुलाई पनि सदस्यका रुपमा स्विकार गर्ने सोचमा छौं । यसले संस्थालाई दह्रो मात्र बनाउँदैन कि भविष्यमा एएनएको नेतृत्व पनि कुनै संस्थाको कार्यसमितिमा बसेका व्यक्तिहरुमध्यबाटै आउँछन् ।
हाम्रो सोचाई जतिमात्रामा अमेरिकामा रहेका पार्टनर संस्थाहरु सकृय हुन्छन् त्यतिमात्रामा एएनए सबल हुन्छ ।
सम्मेलनमा कति नेपालीको सहभागिता हुने अनुमान छ ?
– मेरो अनुमानमा यसपटक एकहजार पाँचसय नेपालीको सहभागिता हुन्छ कि भन्ने छ । तर अहिलेनै भन्न अलि कठिन छ ।
व्यक्तिगत कुरा तर्फ जाउँ । तपाई अमेरिका आउनु भएको कति भयो ?
– म अमेरिका आएको ३६ वर्ष बित्यो ।
३६ वर्षको अवधिमा यहाँको नेपाली समाजलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
– नेपालीहरुको उपस्थिती त्यतिखेर ‘इस्ट कोष्ट’ मा ज्यादा थियो । किनकी अधिकांशको पहिलो ‘ल्याण्ड’ नै अमेरिकाको पूर्बतर्फ हुन्थ्यो । त्यतिखेर‘एअर इण्डिया’ बाट बढी नेपालीहरु आउँथे । सुरुमा डाक्टर, इन्जिनियर, प्रोफेसरहरु आए । त्यतिखेर भिसा त छाडिदिनुस् नेपालकै परराष्ट्र मन्त्रालयबाट पासपोर्ट बनाउनै गार्हो थियो । एउटा रमाइलो सन्दर्भ छ, त्यतिखेर एकजना नेपालीलाई अमेरिकन एम्बेसीले भिसा दियो तर परराष्ट्र मन्त्रालयले पासपोर्टनै दिएन । अनि एम्बेसीले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर ‘यो मान्छेलाई तुरुन्त पासपोर्ट बनाइदिनु सम्म भन्नुपरेको थियो । पासपार्ट सहज रुपमा नपाउने हुनाले नेपालीहरु आउने क्रम असाध्यै थोरै थियो ।
१९८५/८६ देखि जब पासपार्टमा उदार नीति नेपाल सरकारले लियो त्यसपछि नेपालीको संख्या बढ्दै गयो । पछि अमेरिकी सरकारले लिएको‘डाइभर्सिटी भिसा’ (डिभी) त्यसपछि असाइलमले नेपालीको संख्या ह्वात्तै बढायो । अहिले वर्षेनी, हरेक सेमेष्टरमा हजारौं नेपालीहरु आइरहेका छन् । सुरुसुरुमा नेपालीहरु कसरी स्थापित हुने? कसरी बालबच्चालाई राम्रो शिक्षादीक्षा दिने भन्नेमा नेपाली केन्द्रित थिए । तर अहिले नेपालीको संख्या बढ्दै गएर‘मिनी नेपाल’ को अवस्था देखिएको छ ।
नेपालका राजनीतिक दलका भातृसंस्थादेखि लिएर हरेक जात, सम्प्रदायका अलग्गै संस्थाहरु खुल्ने क्रम बढेको छ । नेपालमा जस्तो रुपमा आर्थिक भिन्नता पाउनुहुन्छ नि अमेरिकाका नेपालीहरुबीच पनि त्यतिनै देख्न सकिन्छ । यसको मतलब नेपालमा जस्तो हिसाबको राजनीतिक, जातीय मतभेद छ यहाँपनि त्यस्तै देखिन थालेको छ । हामी आउँदाको स्थिती र अहिलेको अवस्थामा निकै भिन्नता छ । त्यतिखेर जात पनि सोधिँदैनथ्यो । जिल्ला पनि सोधिन्नथ्यो ।‘नेपाली’ हुँ भनेपछि पुग्थ्यो । अहिले सबैको आ–आफ्नो सोसाइटी छन् । त्यतिखेर वासिङटनस्थित नेपाली दूतावासले कार्यक्रम गर्दा‘सबै नेपालीलाई निमन्त्रणा छ’ भनिन्थ्यो । अहिले त्यो साध्य छैन । एकसय २५ नेपाली त थिए त्यतिखेर डिसी, बाल्टिमोर, न्यूयोर्कमा ।
नेपालीको संख्या बढेको छ । त्यस अनुसार शीपलाई ट्रान्सफर गर्न सकेका छैनन् । नेपालका आफ्नो क्षेत्रमा स्थापित भएका नेपालीहरुलाई यहाँ स्थापित गराउनु नेपाली समुदायको महत्वपूर्ण जिम्मेवारी हो । नेपाली संघसंस्थाको ध्यान आजभोली ‘कल्चरल प्रोग्राम’ मा बढ्ता केन्द्रित छ । कल्चरल प्रोग्राम नराम्रो त होइन । तर यसले मात्र पुगेन । हामीले यो भन्दा बढ्ता गर्न जरुरी छ । हाम्रो दायित्व भनेको नेपालबाट यता बसाइ सरेकालाइ स्थापित गराउनु पनि हो ।
नेपालबाट सम्मेलनमा को को आउँछन् ?
– नेपालबाट युवापङ्क्तीमा राम्रो छाप पार्न सफल हुनुभएका नेताहरू गगन थापा, रबिन्द्र अधिकारी, प्रदीप पौडेल आउँदै हुनुहुन्छ । त्यस्तै सञ्चारकर्मीहरु भुषण दाहाल र जय निशान्त पनि आउने कन्फर्म भइसकेको छ । कान्तिपुर पब्लिकेसन्सका प्रवन्ध निर्देशक कैलाश सिरोहिया पनि आउँदै हुनुहुन्छ ।
गगन थापा, रबिन्द्र अधिकारी र प्रदीप पौडेलबाट चाँहि यहाँको समाजको अपेक्षा चाँहि के हो ?
– उहाँहरु 'नेपाल फोरम' का लागि सहभागी हुनुहुनेछ । उहाँहरु युवापुस्ताका आशलाग्दा नेताहरु हुनुहुन्छ । उहाँहरुबाट हामीले राख्ने अपेक्षा भनेको नेपाललाई अघि बढाउन आउँदो २० वर्षको योजना उहाँहरुसँग के छ ? के के रणनीति छ उहाँहरुसँग भन्ने बारेमा उहाँहरुले आफ्नो प्रस्तुति दिनुहुनेछ । किनकी उहाँहरुप्रति नेपाल र नेपाल बाहिर रहेका युवापङ्क्ती निकै आशावादी छ । त्यही भएर हामीले उहाँहरुलाई बोलाएका हौं ।
अन्तिममा सम्मेलनलाई दिनुपर्ने केही सन्देश कि ?
– उत्तरी अमेरिकामा बस्ने सबै नेपालीहरुमा मेरो आग्रह, अनुरोध छ–तपाईहरु आइदिनुस् । सहभागी हुनुस् । विगतको जस्तो हुँदैन यसपटक । कसरी नेपालीहरुलाई यहाँ उकास्ने भनेर योजना बनाउँदैछौं । अर्को कुरा, एएनए भनेको हामी सबैको संस्था हो । आज म छु, भोली अर्को साथीले नेतृत्व आउनुहुन्छ । तर संस्था रहिरह्यो भने नेपालीलाई जमघट गराउने, सुखदुख साट्ने,अनुभव शेयर गर्ने संस्था रहिरहन्छ । संस्था रहिरह्यो भने यहाँ बस्ने नेपाली र नेपालमा बस्नेलाई पनि हामीले केही गर्नसक्छौं ।
प्रतिक्रिया