हिमालयखवर संवाददाता –
अमेरिकाको राष्ट्रपति पदका लागि पार्टी भित्र आन्तरिक प्रतिस्पर्धाको महत्वपुर्ण दिन मंगलवार भन्दा एक दिन अघि नै हिलारी क्लिण्टनले प्रमुख राजनीतिक पार्टीवाट महिला राष्ट्रपति उम्मेदवार वन्ने इतिहास वनाएकी छिन् । उनले सोमवार उम्मेदवार वन्न आवश्यक पर्ने डेमोक्र्याट पार्टी महाधिवेशन प्रतिनिधि डेलिगेटको समर्थन जुटाउन सफल भएकी हुन् ।
अमेरिकाको राष्ट्रपति निर्वाचनको २ सय ४० बर्ष लामो इतिहासमा मुख्य पार्टीवाट राष्ट्रपति उम्मेदवारमा महिला छनौट भएको यो पहिलो पटक हो ।
पार्टीको जुलाई अन्तिममा हुने महाधिवेशनले उनको उम्मेदवारीलाई औचारिकता दिने छ । जुलाई २५ देखि २८ सम्म पेन्सलभानियाको फिलेडेल्फियामा हुने पार्टी अधिवेशनले हिलारी र उनले छान्ने उपराष्ट्रपति उम्मेदवारलाई औचापरिक रुपमा घोषणा गर्ने छ । गत साता पोर्चुरिकोमा मजबुत जित पार्टीे र सुपरडेलिगेट थपिएकाले हिलारी सोमवार आवश्यक पार्टी अधिवेशन प्रतिनिधि डेलिगेट जुटाउन सफल भएकी हुन् । डेमोक्र्याटिक पार्टीवाट राष्ट्रपति उम्मेदवार हुन चाहिने भन्दा वढी २३८४ डेलिगेटको समर्थन जुटाउन हिलारी सफल भएकी छ्न् । डेमोक्र्याट पार्टीवाट राष्ट्रपति उम्मेदवार हुन २३८३ डेलिगेट आवश्यक हुन्छ ।
उनलाई १८१२ डेलिगेट र ५७२ सुपरडेलिगेटको समर्थन प्राप्त भएको छ । मंगलवार ठुलो संख्यामा डेलिगेट रहेको क्यालिफोर्निया लगायत ६ राज्यमा निर्वाचन हुन भने बाँकी छ । क्यालिफोर्निया सवैभन्दा वढी डेलिगेट भएको राज्य हो । यो राज्यमा मंगलवारको पार्टी आन्तरिक निर्वाचनमा जित निकाल्नु हिलारीका लागि जुरुरी छ । राष्ट्रपति निर्वाचनमा डेमोक्र्याट पार्टीका गढ मानिने क्यालिफोर्नियामा जीतले उनलाई राष्ट्रपति महिला निर्वाचित भई अर्को इतिहास वनाउने वाटो सजिलो वनाउने हुने छ । सवैभन्दा पुरानो प्रजातान्त्रिक मुलुक अमेरिकामा अहिलेसम्म महिला राष्ट्रपति भएका छैनन् ।
पुरानो सत्तारुढ पार्टी (जीओपी) भनिने अर्को मुख्य पार्टी रिपव्लिकन पार्टीवाट धनाढ्य व्यवसायीले केही दिन अघिनै आवश्यक डेलिगेटको समर्थन जुटाउंदै राष्ट्रपति उम्मेदवार हुने लगभग पक्का भएको थियो ।
हिलारीले डेमोक्र्याट पार्टीवाट राष्ट्रपति उम्मेदवार बन्ने सम्मको यात्रा सहज भने रहेन । राष्ट्रपति निवास ह्वाइट हाउस हिलारीका लागि नयाँ होइन । सन् १९९० को दशकमा आफ्ना पति तत्कालिन राष्ट्रपति विल क्लिन्टनसंग उनले त्यहाँ आठ वर्ष विताइकी थिइन् । क्लिन्टनको पछिल्लो कार्यकाल त्यहाँ कार्यरत महिला कर्मचारीसंगको यौन क्रिडाले विवादस्पद रह्यो । त्यसवेला हिलारीले क्लिन्टनलाई साथ दिइ परिवारलाई एक वनाईराख्ने चुनौतीपुर्ण वाटो लिइन् । यसमा हिलारीको आलोचना र समर्थन गर्ने थुप्रै छन् । प्रथम महिला हुँदा नै हिलारीले आफ्नी एकमात्र सन्तान छोरीसंग नेपाल घुमेकी थिईन । त्यस वेला उनले काठमाडौ उपत्यका लगायत चिवतनमा जंगल सफारी गरेकी थिईन् ।
यस पछि न्यूयोर्क राज्यको सिनेटरका रुपमा राजनीतिमा प्रवेश गरिन्। तर, डेमोक्र्याट पार्टीवाट आधिकारीक राष्ट्रपति उम्मेदार हुन उनलाई आठ वर्ष कुर्नु पर्यो । आठ बर्ष अघि राष्ट्रपति निर्वाचनमा बाराक ओबामाले हिलारीलाई पछि पारेका थिए। तर, राष्ट्रपति भएपछि ओबामाले हिलारीलाई विदेश मन्त्रीको महत्वपुर्ण जिम्मेवारी दिएका थिए। हिलारी विदेशमन्त्री हुँदा इजिप्ट लगायत अरव देशमा प्रजातन्त्रका लागि आन्दोलनहरु भएका थिए ।
के हिलारीले राष्ट्रपति भएर अर्कोनयाँ इतिहास बनाउलिन् । यसका लागि उनले मुख्य प्रतिस्पर्धी पुरानो सत्तारुढ पार्टी भनिने रिपव्लिकन पार्टी उम्मेदवारलाई हराउनु पर्ने छ । रिपव्लिकन पार्टीवाट विवादस्पद धनाढ्य व्यवसायी डोनाल्ड ट्रम्प उम्मेदवार हुने लगभग तय भएको छ । अप्रवासी प्रति उदार, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रका राज्यको भुमिका महत्वपुर्ण हुने पर्ने पक्षमा रहेकी हिलारीलाई बहुमत अफ्रिकन अमेरिकन लगायत अल्पसंख्यकको समर्थन छ । तर, अमेरिकी मतदाता परिवर्तन खोजी रहेका छन् । हिलारीलाई ओबामाकै नीतिको लगभग निरन्तरताका रुपमा हेरिएको छ । यो उनका लागि नयाँ इतिहास वनाउने बाटोका तगारो हुन् ।
प्रतिक्रिया