हिमालय खबर संबाददाता, न्यूयोर्क ।
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को लागि आवेदन दिँदा अब फोटो खिचेर फर्ममा टाँस्नु नपर्ने भएको छ । त्यसका साथै फर्म प्रिन्ट गरेर भरेर आवेदन पनि दिनु नपर्ने भएको छ ।
नेपाली राहदानीलाई छिटो छरितो रुपमा उपलव्ध गराउन न्यूयोर्कस्थित महाबाणिज्यदूत कार्यालयले ‘प्रत्यक्ष दर्ता प्रणाली’ थालेको छ । यो प्रणाली अन्तरगत राहदानी आवेदकको फोटो, हस्ताक्षर र फिङगर प्रिन्ट लिइन्छ । बाणिज्यदूत कृष्णकुमार सुवेदी (कृशु क्षेत्री) का अनुसार आवेदकको सबै विवरण कम्प्युटरबाटै भरेर काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा पठाएको चार दिनमा राहदानी तयार हुनेछ ।
तर यसका लागि आवेदक आफैं महाबाणिज्यदूतावास कार्यालयमा पुग्नुपर्नेछ । यो सिस्टमबाट आवेदकले बाहिर फोटो खिच्ने र आवेदन फारममा विवरण भरिरहनु पर्दैन । प्रत्यक्ष दर्ता प्रणालीमा दर्ता भैसकेपछि आवेदन स्विकृत वा अस्विकृत जे हुन्छ त्यसको विवरण तुरुन्तै प्राप्त हुनेछ ।
यो प्रकृया आवेदकका लागि कम खर्चिलोमात्र नभै छिटो पनि हुने सुवेदीले हिमालय खबरसंगको कुराकानीमा बताए । न्यूयोर्कस्थित महाबाणिज्यदूतावासले उक्त राज्यका अतिरिक्त न्यूजर्सी र कनेक्टिकटमा रहेका नेपालीलाई यो सेवा उपलव्ध गराउने भएको छ ।
फर्म भरेर, फोटो टाँसेर पनि आवेदन दिन सकिन्छ । तर यसको तुलनामा प्रत्यक्ष दर्ता प्रणालीबाट छिटो राहदानी तयार हुन्छ ।
तर न्यूयोर्कबाट नजिक पर्ने उत्तरपूर्बी अमेरिकी राज्यहरुबाट समेत नेपाली नागरिकहरुले राहदानीका लागि महाबाणिज्यदूतावासमा आवेदन दिदै आएका छन् । न्यूयोर्क घुम्न गएको समयमा नेपालीहरु कार्यालयमा पसेर आवेदन दिने प्रवृत्ति रहेको छ । कार्यालयले जुनसुकै राज्यबाट आएका नेपाली नागरिकको आवेदनलाई लिन्छ ।
यो प्रणालीबाट राहदानी आवेदन दिन नागरिकता वा पुरानो राहदानी र त्यसको एकप्रति फोटोकपी सँगै ल्याउनुपर्ने महाबाणिज्यदूतावासले जनाएको छ । राहदानी आवेदन गर्दा एकसय ५० डलर शुल्क लाग्नेछ । पुरानो राहदानी हराएको वा च्यातिएका आवेदकले भने तीनसय डलर तिर्नुपर्नेछ ।
महाबाणिज्यदूतावासमा अहिले राहदानीका लागि दैनिक २५ देखि ३० वटा आवेदन आउने गरेको क्षेत्रीले जानकारी दिए । प्रत्यक्ष दर्ता प्रणालीबाट दिइएका आवेदकको राहदानी काठमाडौंमा चार दिनमै तयार हुन्छ । परराष्ट्र मन्त्रालयले अहिले हरेक दुई सातामा तयार भएका राहदानीहरु अमेरिका पठाउँदै आएको छ ।
प्रत्यक्ष दर्ता प्रणालीबाट आवेदन दिएका आवेदकको एमआरपी तीनसातामा अमेरिका आइपुग्नेछ । वासिङटन डिसीस्थित नेपाली दूतावासले पनि प्रत्यक्ष दर्ता प्रणाली सुरु गरेको छ ।

तीनसय राहदानी अलपत्रः
यसैबीच संबन्धित व्यक्तिले राहदानी लिन नआउँदा महाबाणिज्यदूतावासमा पुराना राहदानीको थुप्रो लागेको छ ।
‘मेसिन रिडेबल पासपोर्ट तयार भएर यहाँ आइसकेको छ, तर संबन्धित व्यक्तिहरु लिन नआउँदा समस्या बढेको छ,’ बाणिज्यदूत क्षेत्रीले भने । त्यसरी अलपत्र राहदानी झण्डै तीनसय छन् ।
आवेदकहरु अमेरिकाको कुन ठाउँमा बस्छन् भन्ने जानकारी नभएको हुँदा संबन्धित ठाउँमा पठाउन कठिनाई परिरहेको छ । यस्ता राहदानी वाहकको नाम र नेपालको ठेगाना वेवसाइटमा राखेर लिन आउनका लागि सूचना गर्ने तयारी कार्यालयले गरेको छ ।
तयार भएका राहदानी लिन संबन्धित व्यक्ति नआउँदा ठाउँको अभाव कार्यालयमा परेको र हराउने डर समेत हुन थालेको छ । ‘संबन्धित मान्छेहरु समयमा आइदिए कार्यालयलाई सजिलो हुनेथियो,’ हिमालय खबरसंगको कुराकानीमा उनले भने ।
त्यस्तै कार्यालयमा यतिखेर झण्डै दुई दर्जन नेपाली नागरिकताको प्रमाणपत्र पनि छ । नागरिकता लिन समेत संबन्धित व्यक्ति आएका छैनन् ।
प्रतिक्रिया