मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्यूयोर्कलाई छेक्यो नेपथ्यको ‘हुस्सु र कुहिरोले….

न्यूयोर्कलाई छेक्यो नेपथ्यको ‘हुस्सु र कुहिरोले….


 न्यूयोर्क, ३० अगस्ट २०१५ I न्यूयोर्कलाई छेक्यो नेपथ्यको ‘हुस्सु र कुहिरोले..’सेप्टेम्बर महिना । न त यो हुस्सु र कुहिरो लाग्ने बेला हो या त न्यूयोर्क शहरमा कुनै देउराली डाडाँ नै छन् । तरैपनि नेपथ्य ब्याण्डको संगीतसंगै लिड भोकलिष्ट अमृत गुरुङले सुरुवाती तेश्रो 
 
गीतको रुपमा ‘छेक्यो छेक्यो देउराली डाडाँ…..’ जसै के भनेका थिए हजारौको संख्यामा जम्मा भएका नेपालीभाषी न्यूयोर्करले आफु जन्मे हुर्केको नेपालकै देउराली डाडाँ अनि हुस्सु र कुहिरो सम्झेर नोष्टाल्जिक हुदै कर्कश ध्वनीमा संगसंगै थपिहाले ‘हुस्सु र कुहिरोले…’ ।
 
स्थिर हडसन र इष्ट रिभरको विचभागमा लमतन्न म्याहाटनको केही पश्चिमतिर रहेको ह्यामरस्टेइ्न बलरुम हलमा गायक अमृतले अर्को गीत ‘जोमसोमै बजारमा बाह्र बजे हावा सररर…..’ गाउँदा न्यूयोर्कमा बेलुकीको करिव नौ बजेको हुदो हो तर दर्शकले त्यो पनि प्रवाह गरेनन र दिउसोको बाह्रैबजेको फिलिङ्समा गीत गुनगुनाए । 
 
त्यस्तै नेपथ्यकै अर्को चर्चित गीत ‘आकाशबाट के उडी आयो भेडाको उनजस्तो, मायाको फोटो मै खिचि ल्याउछु पुर्णेको जुनजस्तो….’ गीत गाउदा त बाहिर झन जनैपुर्णेकै जुन चम्किरहेको थियो अनि त दर्शकलाई के चाहियो, दोब्बर चम्किए। 
 
गीतको बिचबिचमा अमृतले ‘दुःख बाँडे घटछरे, सुख बाँडे बढछरे होऽऽईऽऽ….’ भनेर उहिले कटुवालले गाँउलेलाई सूचना भन्ने पाराले लेघ्रो तानेर भनिरहदा दर्शकले पनि संगसंगै ल होऽऽईऽऽ भनेर साथ दिएका थिए । साथसाथै उनले भूकम्प पश्चात देशका विभिन्न भौतिक संरचना र बिद्यालयहरु भत्किएकाले त्यसको पुनःनिर्माणमा सघाउन आव्हानमात्रै गरेनन । राजनितिमा रोपिएको जातियताको विउले देशभित्र तथा बाहिर नेपालीविच विभाजन ल्याएको भन्दै एकतामा जोड दिनुपर्ने सुझाव पनि दिन भ्याए । 
 
‘तालको पानि माछीले खानी, पिरेमसित जानेकी नजाने…’ भन्ने गीत गुञ्जदा जनैपुर्णिमाका दिनमा विहान काँधमा जनै र हातमा डोरो बाँधेर कन्र्सट हेर्न पुगेका कतिपय दर्शकले पनि आफ्नो मन भने बाँध्न सकेनन र उफ्रिउफ्रि कम्मर मच्चाए । समरको क्लाइमेक्सपछि ओरालो लाग्दै गरेको तापक्रममा पसिना छुटाए । 
 
त्यस्तै ‘रातो र चन्द्र सूर्य जंगी निशाना हाम्रो, जिउदो रगतसरी यो बल्दो यो शान हाम्रो…’ गीत गुञ्जदा चन्द्रसूर्य अंकित त्रिकोणत्मक रातो नेपाली झण्डा अनि ढाका टोपीमा आएका दर्शकले झन जोडले उफ्रिए भने ‘यो जिन्दगानी…’, ‘गाँउगाँउबाट उठ, बस्तीबस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ…’ लगायतका गीतमा भने दर्शक केही भावुक देखिए । 
 
करिव पैतिससय दर्शक क्षमताको हलमा भएको नेपालीमात्राको पहिलो कन्सर्टमा गायक गुरुङले दर्जन बढी लोकप्रिय गीत पस्किएका थिए । उनलाई ड्रममा धुर्व लामा, किबोर्डमा सुरज थापा, बेस गिटारमा सुविन शाक्य, गिटारमा निरज गुरुङ र मादलमा शान्ती रायमाझीले साथ दिएका थिए । गीतको विचविचमा गायक अमृतले छोटो विश्राम लिदा स्क्रिनमा देखिएको ‘नेपथ्य’लाई उच्चारण गर्दै ‘नेपथ्य… नेपथ्य’ को कर्कश ध्वनीको हुटिङले ब्याण्ड मेम्बरहरुलाई उर्जा थपिदिएका थिए । रातको आठ बजेर पन्ध्र मिनेटमा गाउन सुरुगरेका अमृतले दश बजेर पन्ध्र मिनटमा ‘सा कर्णाली’ गाएर बिट मार्दासम्म पनि दर्शक टसकामस देखिएनन र सेक्युरिटीले दर्शकलाई हल खाली गरिदिन अनुरोध गर्न बाध्य भए । 
 
अधिकांश दर्शक नेपाली वा नेपालीभाषी भएपनि फाट्टफुट्ट विदेशीहरु पनि सहभागी थिए । न्यूयोर्ककी सिएरा र एरिएनाले पनि खुवै मज्जा लागेको बताए । तिमिले बुझ्यौ त ? सिएराले भनिन ‘म्युजिक ह्याज नो ल्यांग्वेज’ । उसो भए कुन गीत राम्रो लाग्यो त ? ‘वेल आइ कान्ट रिमेम्वर अल’ वट उनै सिएराले अमेरिकी लवजमा गाउदै भनिन ‘या जिन्दाऽगानी’ । हलबाहिर कोही नेपाली भन्दै थिए ‘आज जनै पुर्णे, मनै पुर्णे’।