मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चेपाङ समुदायमा प्रजनन स्वास्थ्यबारे चेतना बढदै

चेपाङ समुदायमा प्रजनन स्वास्थ्यबारे चेतना बढदै


सिद्धि, चितवन । चितवनको पहाडी गाविसमा बसोबास गर्ने चेपाङ समुदायमा पछिल्लो समय चेतनास्तर बढदै गएको छ । चेपाङ महिलाहरुमा सुत्केरी व्यथा लाग्दा जङ्गलतिर दौडने चलन बिस्तारै कम हुँदै गएको छ । बन्ध्याकरण गर्नेको संख्या पनि बढ्दै छ । परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न धेरैलाई जानकारी छ र प्रयोग पनि गर्छन् । चेपाङका कमै बालबालिका स्कुल जाँदैनन् । 

सुत्केरी गराउन चेपाङ महिलाहरु स्वास्थ्य संस्थामा जान थालेपछि जंगलतिर दगुर्ने चलन लगलभ हटेको छ । दुई वर्ष यता ५० प्रतिशत चेपाङ महिलाहरु सुत्केरी गराउन स्वास्थ्यचौकी जाने गरेका छन् । 
बाँकी महिलाहरुलाई पनि सुत्केरी गराउन स्वास्थ्य संस्थामा ल्याउने प्रयास भइरहेको सिद्धि स्वास्थ्यचौकीका इन्चार्ज इन्द्रलाल न्यौपानेले बताए । आर्थिक वर्ष २०७०/७१ मा सिद्धिका ३७ जना चेपाङ महिलाहरुले स्वास्थ्यचौकीमा सुत्केरी गराएको तथ्याङ्क छ । 

त्यसैगरी आर्थिक वर्ष २०७१/७२ मा ४० जना चेपाङ महिलाले सिद्धि स्वास्थ्यचौकीमा सुत्केरी गराएका छन् । ‘दुई वर्षअघिसम्म कोही पनि आउँथेनन्’, स्वास्थ्यचौकी इन्चार्ज न्यौपानेले भने, ‘अहिले ५० प्रतिशत महिलाहरु सुत्केरी गराउन आउने गरेका छन् ।’ अशिक्षा र भौगोलिक विकटतालाई हेर्दा यसलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने उनले बताए ।

सरकारले चेपाङ गाउँगाउँमा स्वास्थ्य सचेतना कार्यक्रम सुरू गरेपछि प्रजनन स्वास्थ्यप्रति चेपाङ महिलाहरु सचेत बनेका छन् । त्यसका लागि पहिला तथा पुरुषहरुलाई प्रजनन स्वास्थ्यका बारेमा जानकारी गराउन र गाउँगाउँमा चेतना फैलाउन जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले स्थानीय स्वास्थ्य संस्थामार्फत् महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरेको छ । 

महिला स्वास्थ्य स्वयम्सेविकाको निरन्तरको प्रयासपछि चेपाङ महिलाहरु प्रजनन स्वास्थ्यप्रति सचेत बनेका हुन् । लाजले सुत्केरी गराउन स्वास्थ्य संस्था नजाने, गर्भवती चेकजाँच नगर्ने र परिवार नियोजनको अस्थायी साधन प्रयोग नगर्ने चेपाङ महिलाहरु अहिले भने खुलेर यी सबै कामहरु गर्न थालेका छन् । 

परिवार नियोजनको अस्थायी साधनको प्रयोगबारे अनभिज्ञ रहने गरेका चेपाङ समुदायले पछिल्लो समय परिवार नियोजनको अस्थायी साधनसमेत प्रयोग गर्न थालिसकेका छन् । चेपाङ महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउन थालेपछि सो सिद्धि स्वास्थ्यचौकीले सुत्केरी गराउने सुविधायुक्त बर्थिङ सेन्टरसमेत सञ्चालनमा ल्याएको छ । 

सिद्धि स्वास्थ्य चौकीमा मात्र मासिक ५ जना महिलाहरु सुत्केरी गराउन तथा २० जना महिलाहरु गर्भवती जाँच गराउन आउने गरेको स्वास्थ्यचौकी इन्चार्ज न्यौपानेले बताए । उनले लाजले बध्याकरण गर्न नमान्ने चेपाङ पुरुषहरु पनि अहिले बन्ध्याकरण गर्न आउने गरेको बताए । गर्भवती चेकजाँच गराउन आउने महिलाहरुबाट सन्तानको संख्या पत्ता लगाएर पुरुषहरुलाई बन्ध्याकरण गर्न आग्रह गरिएको न्यौपानेले बताए । 

‘चेपाङ किशोरीहरुले सानै उमेरमा विवाह गर्ने र प्रजनन स्वास्थ्यका बारेमा मतलब नगर्ने गरेकाले समस्या आउने गरेको थियो’, सिद्धि स्वस्थ्य चौकीकी अनमी तारा थापाले भनिन्, ‘गाउँगाउँमा चेतनाको विकास भएपछि सुत्केरी गराउन, औषधि खान र टीटी सुई लगाउन चेपाङ महिलाहरु स्वास्थ्य संस्थामा आउने गरेका छन् । 

‘चेपाङ समुदायमा सुत्केरी व्यथा लागे जडिबुटी खुवाउने, झारफुक गर्ने चलन थियो’, उनले भनिन्, ‘अहिले त्यो विस्तारै हट्दै गएको छ ।’ चितवनका पहाडी गाविसहरुमा बसोबास गर्ने चेपाङ महिलाहरु ७ घण्टासम्म हिँडेर स्वास्थ्यचौकी जानुपर्ने बाध्यकारी अवस्था रहेकाले पनि स्वास्थ्यचौकीसम्म उनीहरुको पहुँच कम रहेको छ ।

भौगोलिक विकटताका कारण २५ प्रतिशत चेपाङ महिलाहरुको स्वास्थ्य संस्थामा पहुँच छैन । ‘चेपाङ जातिमा स्कुल पढाउनुपर्छ भन्ने कुरा जागेका छ, त्यसैले पढ्ने चेपाङ बालबालिकाको संख्या बढ्दै गएको छ’ एक शिक्षकले भने ।